भिक्टोरियाको एक एज्ड केयरमा कुर्सीबाट लडेर वृद्धाको मृत्यु, २ लाख ३० हजार डलर जरिवाना…

भिक्टोरियाको एक  एज्ड  केयरमा कुर्सीबाट लडेर वृद्धाको मृत्यु, २ लाख ३० हजार डलर जरिवाना…
नेपालआईज
२ पुष २०८२ २१:२०

 

मेलबर्न । भिक्टोरियाको एक एज्ड केयर केन्द्रमा खराब अवस्थामा रहेको रिक्लाइनिङ कुर्सीका कारण ९३ वर्षीया वृद्धाको मृत्यु भएपछि सम्बन्धित स्वास्थ्य सेवा प्रदायकलाई २ लाख ३० हजार डलर जरिवाना तिराइएको छ। मेलबर्न काउन्टी अदालतले बेनाला हेल्थलाई पेशागत स्वास्थ्य तथा सुरक्षा कानुन उल्लंघन गरेको ठहर गर्दै सजाय सुनाएको हो।

सन् २०२१ अक्टोबरमा उत्तरी भिक्टोरियास्थित मोरी इभान्स एज्ड केयर केन्द्रमा कोभिड प्रतिबन्धबीच बाहिरी पारिवारिक भेटका क्रममा वृद्धा कुर्सीमा बसेकी थिइन्। कुर्सी सार्ने क्रममा त्यसको पाङ्ग्रा राम्रोसँग नचल्दा पछाडिको भाग छुट्टिएर उनी भुइँमा लडेको अदालतमा सुनुवाइ भयो। चिकित्सकीय परीक्षणमा उनको करङ र मेरुदण्डमा गम्भीर चोट देखिएको थियो। केही दिनपछि छातीमा संक्रमण भई अवस्था बिग्रँदै गएपछि करिब एक सातामा उनको मृत्यु भयो।

वर्कसेफको अनुसन्धानले कुर्सी तथा अन्य उपकरणको नियमित सुरक्षा जाँच, मर्मत र ट्यागिङको पर्याप्त व्यवस्था नभएको निष्कर्ष निकालेको छ। लडेको केही सातापछि मृतक परिवारले एज्ड केयरविरुद्ध मुद्दा हालेका थिए।

अष्ट्रेलियाको एज्ड केयर क्षेत्रमा धेरै नेपाली कामदार कार्यरत रहेकाले यस घटनाले सबैलाई सचेत गराएको छ। विज्ञहरूका अनुसार कामका क्रममा कम्पनीको नीति र प्रक्रिया कडाइका साथ पालना नगरेमा कुनै पनि घटनामा कर्मचारी पनि कारबाहीको दायरामा पर्न सक्छन्। शिफ्टपछि रेसिडेन्ट चेक गर्ने, सेन्सर म्याट्रेस तथा अलार्म सहीसँग काम गरिरहेको छ कि छैन जाँच गर्ने जिम्मेवारी पीसीए र केयर स्टाफकै हो।

यद्यपि, यस घटनामा कुर्सीको पाङ्ग्रा नै छुट्टिएर दुर्घटना भएको प्रतिवेदन बाहिर आएकाले व्यक्तिगत स्टाफलाई दोष लगाइएको छैन। तर, कुनै पनि फर्निचर वा उपकरणमा खराबी देखिएमा तुरुन्तै मेन्टेनेन्सलाई जानकारी गराउनु अनिवार्य रहेको वर्कसेफले पुनः स्मरण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर