पर्थका एक रेस्टुरेन्ट मालिकलाई ४० हजार डलर जरिवाना

पर्थका एक रेस्टुरेन्ट मालिकलाई ४० हजार डलर जरिवाना
नेपालआईज
१९ फागुन २०८२ २१:३८

 

पर्थ – सन् २०२४ मा आफ्ना ग्राहकलाई झुक्किएर क्र्यानबेरी जुसको सट्टा लामखुट्टे भगाउने लिक्विड (सिट्रोनेला) खुवाएको अभियोगमा एक इटालियन रेस्टुरेन्ट मालिकलाई अदालतले दोषी ठहर गर्दै ४० हजार डलर जरिवाना गरेको छ।

यो घटना पर्थस्थित हाल बन्द भइसकेको Miki’s Italian Restaurant मा भएको हो। रेस्टुरेन्टमा खान गएकी एक महिला र उनकी ११ तथा १२ वर्षका दुई छोरीलाई बारटेन्डरले झुक्किएर ‘सिट्रोनेला’ मिसिएको तरल पदार्थ पिउन दिएका थिए।

पिउनेबित्तिकै मुख पोल्न थालेपछि अभिभावकले सोधपुछ गर्दा उक्त बोतलमा लामखुट्टे भगाउने तेल लेखिएको भेटिएको थियो। दुवै बालिकालाई तत्काल उपचारका लागि Perth Children’s Hospital लगिएको थियो।

३५ वर्षीय मालिक मिशेल एन्जियुलीले अदालतमा आफू निर्दोष रहेको दाबी गरे पनि Perth Magistrates Court ले उनको तर्क अस्वीकार गर्दै दोषी ठहर गर्‍यो। अदालतले रेस्टुरेन्टमा खाद्य सुरक्षा अधिकारी नियुक्त नगरिएको, बार क्षेत्र अव्यवस्थित रहेको र मालिकले जिम्मेवारीबाट पन्छिन खोजेको निष्कर्ष निकालेको थियो।

अदालतले एन्जियुली र उनको कम्पनीलाई समान रूपमा २०–२० हजार डलर गरी कुल ४० हजार डलर जरिवाना तथा झण्डै २० हजार डलर कानुनी खर्च तिर्न आदेश दिएको छ।

अदालतले टिप्पणी गर्दै सिट्रोनेलाको नमिठो स्वादका कारण बालिकाहरूले तुरुन्तै थुकेकाले ठूलो दुर्घटना टरेको उल्लेख गरेको छ। घटना सार्वजनिक भएपछि नकारात्मक प्रचारका कारण रेस्टुरेन्ट बन्द भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर