शिक्षा र समाज

अरू सफल हुँदा हामी खुसी हुन किन सक्दैनौँ?

अरू सफल हुँदा हामी खुसी हुन किन सक्दैनौँ?
डा. नबराज मुडवरी
२१ साउन २०८३ ७:०५

केही समयअघि सामाजिक सञ्जालमा एउटा रोचक घटना देखेँ। हाम्रो गाउँकै एक जना भाइले सानो दाना पसलबाट व्यवसाय सुरु गरेका थिए। वर्षौंको मेहनत, संघर्ष र निरन्तरतापछि उनले आफ्नो व्यवसाय विस्तार गर्दै आफ्नै दाना उद्योग सञ्चालन गर्न थाले केही युवालाई रोजगारी पनि दिए। हालै उनले आफ्नो सफल यात्राको छोटो कथा सामाजिक सञ्जालमा साझा गरेका थिए।

 धेरैले उनलाई बधाई दिए गर्व महसुस गरे। तर केही प्रतिक्रिया भने फरक थिए:

भाग्यले साथ दियो, नत्र सक्थ्यो र? 

यस्तो व्यापार त अहिले धेरैले गरिरहेका छन्। नयाँ कुरा के छ र? 

कतै दुई नम्बरबाट त होइन? 

यी प्रतिक्रिया लेख्ने सबैको नियत खराब थियो भन्ने लाग्दैन। तर तिनले मलाई एउटा गहिरो प्रश्नतर्फ डोर्‍यायो।

यो त एउटा उदाहरण मात्र हो। हाम्रो समाजमा प्रायः जुनसुकै क्षेत्रका सफल व्यक्तिहरू देख्नेबित्तिकै उनीहरूको प्रशंसा र सम्मानभन्दा ईर्ष्या, आक्षेप र निन्दाले बढी ठाउँ पाउँछ। व्यवसाय, शिक्षा, राजनीति, साहित्य, खेलकुद, सङ्गीत वा मनोरञ्जन जस्ता कुनै पनि क्षेत्रमा कसैले उल्लेखनीय सफलता हासिल गर्‍यो भने त्यसबाट प्रेरणा लिनेहरू त हुन्छन्, तर त्यत्तिकै सङ्ख्यामा त्यस सफलतालाई होच्याउने, शङ्काको दृष्टिले हेर्ने, विभिन्न आरोप लगाउने वा कुनै न कुनै बहानामा अवमूल्यन गर्ने प्रवृत्ति पनि देखिन्छ।

आखिर किन हामी कसैको सफलताबाट प्रेरित हुनुको सट्टा त्यसलाई होच्याउन, व्याख्या गर्न वा अरूसँग तुलना गर्न हतारिन्छौँ? किन कसैको उपलब्धिबारे सुन्दा हाम्रो पहिलो प्रतिक्रिया प्रशंसा नभई असजिलोपन बन्छ?

यो प्रश्नले मलाई लामो समयदेखि सोच्न बाध्य बनाइरहेको थियो। सायद समस्या सफल हुने व्यक्तिमा भन्दा पनि हाम्रो सोच्ने तरिकामै पो कि?

उत्तर खोज्ने क्रममा मैले अमेरिकी सामाजिक मनोवैज्ञानिक लिओन फेस्टिन्जरको सोसल कम्प्यारिजन थ्योरी पुनः सम्झिएँ। मानिसले आफूलाई अरूसँग तुलना गरेर आफ्नो मूल्याङ्कन गर्ने गर्छ भन्ने यो सिद्धान्तले हाम्रो दैनिक व्यवहारका धेरै लुकेका पक्षहरू उजागर गर्छ।

यस लेखमा, हामी किन आफ्नै परिवार, इष्टमित्र, साथीभाइ, गाउँठाउँ वा समाजका मानिसहरूको सफलता देख्दा खुलेर खुसी हुन, प्रशंसा गर्न, उनीहरूको मेहनतलाई स्वीकार्न उनीहरूबाट सिक्न सधैं सहज महसुस गर्दैनौँ भन्ने प्रश्नलाई यही सिद्धान्तको आलोकमा केलाउने प्रयास गरेको छु।

हामी अरूसँग तुलना गरेर मात्र आफूलाई बुझ्छौं

सन् १९५४ मा मनोवैज्ञानिक लिओन फेस्टिन्जरले प्रस्तुत गरेको सोसल कम्प्यारिजन थ्योरी अनुसार अक्सर मानिसहरू आफूलाई बुझ्न र मूल्याङ्कन गर्न अरूसँग तुलना गर्छन्।

सरल रूपमा भन्नुपर्दा, हामी कति सफल, सक्षम वा अघि छौँ भन्ने कुरा प्रायः आफ्नै जीवनलाई मात्र हेरेर होइन, अरूको जीवनसँग तुलना गरेर निर्धारण गर्छौँ।

त्यसैले साथीले लोकसेवा निकाल्दा, सहकर्मीले पदोन्नति पाउँदा, छिमेकीले घर बनाउँदा वा आफन्तको छोराछोरीले अन्तर्राष्ट्रिय छात्रवृत्ति पाउँदा, हामी केवल उनीहरूको सफलता मात्र हेरिरहेका हुँदैनौं। अनजानमै आफ्नै अवस्थाको पनि मूल्याङ्कन गरिरहेका हुन्छौं।

धेरै अवस्थामा, समस्याको सुरुआत त्यहीँबाट हुन्छ।

तुलना: नेपाली समाजको दैनिकी

नेपाली समाजमा तुलना गर्ने बानी जीवनको लगभग हरेक चरणमा देखिन्छ। हाम्रो समाजमा दुई जना भेट्नेबित्तिकै उनीहरूको कुराकानी प्रायः उनीहरूकै बारेमा हुँदैन; कुनै तेस्रो व्यक्तिको जागिर, व्यवसाय, सम्पत्ति, छोराछोरी वा सफलता/असफलताको बारेमा चर्चा सुरु भइसकेको हुन्छ। कहिलेकाहीँ लाग्छ, हामी भेट्न एउटालाई गएका हुन्छौँ, तर कुरा अर्कैको गरिरहेका हुन्छौँ। यस्तो कार्यलाई निन्दा भनिन्छ।

बाल्यकालमा तुलना अंक पढाइको वरिपरि घुम्छ।कसले धेरै अंक ल्यायो?”, “को पढाइमा अब्बल ?”

युवावस्थामा प्रश्न बदलिन्छ।कसले लोकसेवा निकाल्यो वा राम्रो जागिर पायो?”, “को विदेश गयो?”, “कसले धेरै पढ्यो?”, “को बढी आकर्षक (राम्रो) ?”

मध्य उमेरमा तुलना अझ फराकिलो बन्छ।कसको जागिर राम्रो ?”, “कसले कतिवटा घर-गाडी जोड्यो?”, “कसको व्यवसाय सफल ?”, “कसको सम्पत्ति बढी ?”, “कसका छोराछोरी स्थापित भए?”

हामी तुलना नगर्ने कुरा गर्छौँ, तर हाम्रो सामाजिक जीवनको ठूलो हिस्सा भने तुलना गर्दै बित्छ।

यस्तो अवस्थामा अरूको सफलता केवल सूचना हुँदैन। त्यो आफैँलाई सोधिने प्रश्न पनि बन्छ:

म कहाँ छु?

मैले के हासिल गरिरहेको छु?

म पछि त परिरहेको छैन?

हामी एउटै गाउँको, उस्तै डिग्री भएको, सँगसँगै जागिर खाएको, सँगसँगै विदेश आएको। उसले भने यत्रो प्रगति गरिसकेछ, म चाहिँ अझै खासै केही गर्न सकेको छैन। उसले कसरी गर्‍यो हँ?

यही कारण कहिलेकाहीँ अरूको सफलता प्रेरणाभन्दा बढी मानसिक दबाबको स्रोत बन्छ। धेरै अवस्थामा हामी आफू फेल भएकोमा भन्दा अरू पास भएकोमा बढी दुःखी हुन्छौँ।

सफलता देख्दा असजिलो किन लाग्छ?

हामी प्रायः सोच्छौं कि अरूको सफलताप्रतिको असहजता ईर्ष्याका कारण हुन्छ।

ईर्ष्या एउटा कारण हुन सक्छ। तर सोसल कम्प्यारिजन थ्योरीले अझ गहिरो कुरा भन्छ।

धेरैजसो अवस्थामा मानिसहरू सफल व्यक्तिसँग होइन, सफल व्यक्तिले आफ्नो जीवनबारे उठाइदिने प्रश्नहरूसँग संघर्ष गरिरहेका हुन्छन्।

उदाहरणका लागि, तपाईंका सहपाठीले प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनको अवसर पाए भने त्यो खबरले तपाईंलाई उनीबारेभन्दा बढी आफ्ना अवसर, निर्णय र उपलब्धिबारे सोच्न बाध्य बनाउन सक्छ।

त्यसैले मानिसहरू कहिलेकाहीँ अरूका सफलतालाई अस्वीकार त गर्दैनन्, तर त्यसबाट टाढा बस्न खोज्छन्।

कहिलेकाहीँ त्यसको महत्त्व घटाएर प्रस्तुत गर्छन्।

कहिलेकाहीँ कमजोरी खोज्छन्।

कहिलेकाहीँ मौन बस्छन्।

त्यति मात्र होइन, उनीहरू उस्तै मानसिकता भएका मानिसहरूको संगत खोज्छन् र सामूहिक रूपमा सफल व्यक्तिको आलोचना र निन्दामा रमाउन थाल्छन्।

यो व्यवहार सधैं दुष्टता होइन। धेरै अवस्थामा यो आत्मसम्मान जोगाउने मनोवैज्ञानिक प्रयास हो।

सामाजिक सञ्जालले तुलना झन् तीव्र बनायो

पहिले तुलना सीमित थियो।

मानिसहरूले आफ्नो गाउँ, टोल, विद्यालय वा आफन्तको घेराभित्र तुलना गर्थे।

आजको अवस्था फरक छ।

हामी दिनभरि अरूका उपलब्धिहरूआँखा नझिम्काइकन सामाजिक सञ्जालमा हेर्छौं। कसले राम्रो लगाएको, मिठो खाएको छ। कसले कस्तो घर किन्यो। कसले कस्तो गाडी चढ्यो। कसले विदेश भ्रमण गरेको छ। कसले व्यवसाय विस्तार गरेको छ।

समस्या उपलब्धिमा होइन। समस्या हामीले अरूको जीवनका उत्कृष्ट क्षणहरूलाई आफ्ना संघर्षरत दिनहरूसँग तुलना गर्नुमा छ।

आध्यात्मले मानिसलाई बाह्य प्रदर्शन र आन्तरिक यथार्थबीचको भिन्नता बुझ्न आग्रह गर्छ। सामाजिक सञ्जालमा देखिने सफलताको चमकले सजिलै हाम्रो ध्यान तान्छ, तर भित्री शान्ति, सन्तोष र आत्मिक परिपक्वता तस्वीरमा बन्द हुँदैनन्। त्यसैले बाहिरी उपलब्धिको तुलना सजिलो हुन्छ, तर मानिसको वास्तविक यात्रालाई बुझ्न गाह्रो हुन्छ।

सामाजिक सञ्जालमा देखिने जीवन प्रायः जीवनको सम्पूर्ण कथा हुँदैन। त्यो त्यसको सम्पादित संस्करण मात्र हुन्छ। जुन व्यक्तिले राम्रो देखिनका लागि अधिकतम बुद्धि, समय र प्रयास लगाएर आफूलाई प्रस्तुत गर्ने गर्छन्, वास्तविक जीवनमा त्यो चित्र धेरै हदसम्म मेल खाँदैन।

तर हामी त्यो सम्पादित उज्यालोलाई आफ्ना वास्तविक अँध्यारासँग तुलना गर्छौं। परिणामस्वरूप असन्तुष्टि बढ्छ। हाम्रो दुःख यहीँनेर छ।

यसको मूल्य कसले चुकाउनुपर्छ?

यदि हामी अरूको सफलताबाट सिक्न सक्दैनौँ र अरूकै निन्दामा रमाउँछौँ भने त्यसको मूल्य अन्ततः व्यक्ति स्वयंले र व्यापक रूपमा समाजले चुकाउनुपर्छ।

अझ ठूलो समस्या त के हो भने, हामी सफल व्यक्तिहरूबाट सिक्नै छोड्छौँ। सोसल कम्प्यारिजन थ्योरीको कम चर्चा हुने तर अत्यन्त महत्त्वपूर्ण पक्ष यही हो। जब सफल व्यक्तिहरू प्रेरणाको स्रोतभन्दा आफ्नै आत्ममूल्याङ्कनका लागि खतरा जस्ता लाग्न थाल्छन्, तब हामी उनीहरूबाट टाढिन थाल्छौँ।

हामी प्रश्न सोध्न छोड्छौँ। 

सल्लाह लिन हिच्किचाउँछौँ। 

उनीहरूका अनुभव सुन्न रुचाउँदैनौँ। 

उपलब्धिलाई स्वीकारेर सिक्नुभन्दा त्यसको आलोचना वा व्याख्या गर्नतिर लाग्छौँ।

यस्ता व्यक्तिहरूको जीवन नयाँ कुरा सिक्ने र आफ्ना सम्भावनाहरू विस्तार गर्नेभन्दा पनि अरूप्रतिको ईर्ष्या, आलोचना र निन्दामै बित्न थाल्छ।

यसको असर व्यक्तिगत स्तरमा मात्र सीमित रहँदैन। समाजले पनि आफ्ना सफल व्यक्तिहरूको अनुभव, संघर्ष र सिकाइबाट लाभ लिन सक्दैन। परिणामस्वरूप प्रेरणा र सिकाइको ठाउँ तुलना, आलोचना र असन्तुष्टिले लिन थाल्छ।

वास्तवमा, जीवन यति लामो छैन कि हरेक पाठ आफैँले भोगेर मात्र सिकियोस्। बुद्धिमानी भनेको अरूका अनुभवबाट सिकेर अघि बढ्नु हो, हरेक गल्ती आफैँ दोहोर्‍याएर होइन। जस्तै सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा टाउको फुटेको मानिस देखिसकेपछि हेल्मेट लगाउन सुरु गर्नुपर्छ; पहिले आफ्नै टाउको फुटोस् अनि लगाउँला भन्ने मूर्खता गर्नुहुँदैन।

यही कारण सफलताबाट प्रेरित हुने व्यक्ति र समाज अघि बढ्छन्, जबकि सफलताप्रति उदासीन वा प्रतिरोधी हुनेहरू आफ्नै कुण्ठामा अल्झिइरहन्छन्। त्यसैले कुनै पनि समाज सफल मानिसहरू जन्माएर मात्र समृद्ध हुँदैन; सफलताबाट अरूले सिक्न सक्ने संस्कार निर्माण गरेर समृद्ध हुन्छ।

के तुलना अपरिहार्य छ? आध्यात्मले के भन्छ

आध्यात्मिक रूपमा हेर्दा, अरूको सफलताले हामीभित्र लुकेका असुरक्षा, अपूर्णता वा अपूरा आकांक्षाहरू पनि उजागर गर्छ। त्यसैले समस्या अक्सर सफल व्यक्तिमा हुँदैन; समस्या त्यो सफलताले हाम्रो मनभित्र देखाइदिने ऐनामा हुन्छ। आध्यात्मले त्यो ऐनाबाट भाग्न होइन, आफूलाई इमान्दारीपूर्वक उक्त ऐनामा हेर्न सिकाउँछ। हामीले पनि धेरै कुरा गर्न सक्छौँ भन्ने बोध गराउँछ।

बौद्ध परम्परामा मुदिता (mudita) भन्ने एउटा अवधारणा छ। चार ब्रह्मविहारमध्ये एक मानिने मुदिताको अर्थ हो, अरूको सुख, प्रगति र सफलतामा निष्कपट आनन्द अनुभव गर्ने क्षमता। अर्को शब्दमा भन्नुपर्दा, अरूको सफलता देख्दा आफूलाई खतरा महसुस नगरी त्यसमा खुसी हुन सक्ने मनोवृत्ति।

मुदिता र सोसल कम्प्यारिजन थ्योरीलाई सँगसँगै राखेर हेर्ने हो भने एउटा रोचक अन्तर देखिन्छ। सोसल कम्प्यारिजन थ्योरीले भन्छ, मानिसले अरूको उपलब्धिलाई आफ्नो अवस्थासँग तुलना गर्छ। मुदिताले भन्छ, अरूको उपलब्धिलाई आफ्नो मूल्यसँग होइन, मानवीय सम्भावनासँग जोडेर हेर। पहिलो दृष्टिकोणले प्रतिस्पर्धा जन्माउँछ; दोस्रोले प्रेरणा।

जब हामी साथीको सफलता देखेर ऊ किन सफल भयो? भन्दा उ कसरी सफल भयो? भनेर सोध्न थाल्छौँ, तुलना सिकाइमा रूपान्तरित हुन थाल्छ। जब हामी अरूको उपलब्धिलाई आफ्नै असफलताको प्रमाण नभई मेहनत, धैर्य र सम्भावनाको उदाहरणका रूपमा हेर्न सिक्छौँ, तब ईर्ष्याको ठाउँ जिज्ञासाले लिन्छ। असुरक्षाको ठाउँ प्रेरणाले लिन्छ।

सायद परिपक्व समाज त्यो हो जहाँ अरूको सफलता देख्दा हाम्रो पहिलो प्रतिक्रिया तुलना होइन, प्रसन्नता हुन्छ। जहाँ सफल व्यक्तिलाई होच्याएर आफूलाई ठूलो देखाउने होइन, उसको अनुभवबाट सिकेर आफूलाई अझ राम्रो बनाउने संस्कार हुन्छ।

प्रश्न शिक्षाको पनि हो

अन्ततः प्रश्न केवल मनोविज्ञानको मात्र होइन, शिक्षाको पनि हो। जब विद्यालयदेखि समाजसम्म सफलता प्रायः अरूलाई उछिन्ने क्षमताले मापन गरिन्छ, तब तुलना हाम्रो संस्कार बन्नु अस्वाभाविक होइन। 

तर के हाम्रो शिक्षा प्रणालीले बालबालिकालाई प्रतिस्पर्धा मात्र सिकाइरहेको छ, कि मुदिता पनि सिकाइरहेको छ? के हाम्रो पाठ्यक्रमले अरूको सफलताबाट प्रेरित हुन सिकाउँछ, कि तुलना गर्न मात्र? के हाम्रो मूल्याङ्कन प्रणालीले सहयोग, सहकार्य र सामूहिक प्रगतिलाई प्रोत्साहन गर्छ, कि केवल श्रेणीकरण र प्रतिस्पर्धालाई?

तर यसको जिम्मेवारी विद्यालयको मात्र होइन। 

बालबालिकाले तुलना गर्न सिक्ने पहिलो ठाउँ अक्सर घर नै हुन्छ। हामी अभिभावकहरूले आफ्ना छोराछोरीलाई उनीहरूको आफ्नै प्रगतिअनुसार मूल्याङ्कन गर्छौं, कि अरूका बालबालिकासँग तुलना गरेर? के हामी उनीहरूलाई उत्कृष्ट बन्न प्रेरित गरिरहेका छौँ, कि सधैं अरूभन्दा अगाडि हुन दबाब दिइरहेका छौँ? किनभने निरन्तर तुलना सुन्दै हुर्किएको बालकले अरूको सफलतामा प्रेरणा होइन, खतरा देख्न सिक्न सक्छ।

अझ महत्त्वपूर्ण कुरा, 

हामी कस्ता शिक्षक तयार पारिरहेका छौँ? प्रतिस्पर्धामा जित्न सिकाउने शिक्षक, कि अरूको सफलतामा पनि खुसी हुन सिकाउने शिक्षक? किनभने विद्यार्थीहरूले पाठ्यपुस्तकबाट मात्र होइन, शिक्षकको व्यवहार, दृष्टिकोण र मूल्यबाट पनि सिक्छन्। त्यसैले प्रश्न हाम्रो शिक्षक शिक्षा कार्यक्रमतर्फ पनि सोझिन्छ। के हामी भावी शिक्षकहरूलाई शैक्षिक उपलब्धि मात्र होइन, उदारता, सहानुभूति, सहकार्य र अरूको सफलतामा प्रसन्न हुन सक्ने संस्कार विकास गर्न पनि तयार पारिरहेका छौँ?

यदि यी प्रश्नहरूको उत्तर सन्तोषजनक छैन भने, समस्या व्यक्तिको मनोविज्ञानमा मात्र होइन, हाम्रो परिवार, शिक्षा प्रणाली, शिक्षक शिक्षा, पाठ्यक्रम, मूल्याङ्कन पद्धति, नीति र अभ्यासमै पनि निहित हुन सक्छ। र जबसम्म परिवार र शिक्षाले मुदिता, सहकार्य र मानवीय संवेदनशीलतालाई पर्याप्त महत्त्व दिँदैनन्, तबसम्म तुलना, असुरक्षा र असजिलोपनको संस्कृतिलाई रूपान्तरण गर्ने अपेक्षा गर्नु कठिन हुनेछ।

सम्भवतः हाम्रो समाजलाई आज आवश्यक परेको सबैभन्दा ठूलो उपलब्धि अरूभन्दा अगाडि पुग्नु होइन, अरूको प्रगतिलाई पनि आफ्नो सम्भावनाको उज्यालोका रूपमा देख्न सक्ने मुदिताको संस्कार विकास गर्नु हो।

अन्तिम प्रश्न

सायद प्रश्न अरूको सफलताबारे होइन, हाम्रो आफ्नै मनबारे हो।

जब साथी, आफन्त, इष्टमित्र वा गाउँकै कसैले ठूलो सफलता हासिल गर्छ, हाम्रो पहिलो प्रतिक्रिया के हुन्छ? बधाई कि बेचैनी? प्रेरणा कि तुलना? सम्मान कि असजिलोपन?

के हामी मनदेखि उसको सफलताको उत्सव मनाउन सक्छौँ? कि उसको उपलब्धिले हाम्रो मनभित्र लुकेका असुरक्षा, अपूर्णता र तुलना गर्ने बानीलाई जागृत गरिदिन्छ?

किनभने परिपक्वताको वास्तविक परीक्षा हामी कति सफल भयौँ भन्नेमा मात्र हुँदैन। अरू सफल हुँदा हामी कति प्रसन्न हुन सक्छौँ, त्यसले पनि हाम्रो चरित्रको स्तर मापन गर्छ।

अनि हामी अभिभावक, शिक्षक, विद्यालय र समाजका रूपमा कस्तो पुस्ता निर्माण गर्दैछौँ? आफ्नै सम्भावनाको खोजी गर्ने पुस्ता, कि आफू पनि गर्न नसक्ने र अरूले गर्दा होच्याउने, आक्षेप लगाउने तथा निन्दा गर्ने पुस्ता?

अन्ततः छनोट हाम्रो आफ्नै हातमा छ। अरूको सफलतामा कुण्ठित भएर बस्ने कि मुदिताले भरिएर अरूको सफलतामा आफ्नै सम्भावनाको उज्यालो देख्ने?

यही छनोटले हाम्रो चरित्र निर्धारण गर्छ। यही छनोटले हाम्रो समाज निर्माण गर्छ। र यही छनोटले हाम्रो भविष्य निर्धारण गर्छ।

………………

डा. नबराज मुडवरी शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुन्। हाल अष्ट्रेलियाको विश्वविद्यालय क्षेत्रमा कार्यरत उहाँसँग शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढी अनुभव छ। शिक्षा, समाज र अध्यात्मका विषयमा उहाँ नियमित रूपमा कलम चलाउनुहुन्छ।

 

2 thoughts on “अरू सफल हुँदा हामी खुसी हुन किन सक्दैनौँ?

  1. साथीभाइ इष्टमित्र छरछिमेकी सबैको सफलताबाट प्रेरणा लिएर सम्भावनाको खोजी गर्दै अगाडि बढ्नु वास्तविक आन्तरिक सुख शान्ति तथा समृद्ध समाजको लागि आवश्यक छ भन्ने लेखकको दृष्टिकोण साह्रै प्रशंसा योग्य छ ।अनुसन्धानकर्ता तथा लेखक साथीलाई धेरै धेरै धन्यवाद

  2. तपाईंको आत्मीय प्रतिक्रिया र उत्साहवर्धक शब्दहरूका लागि हृदयदेखि नै धन्यवाद। 🙏
    “साथीभाइ, इष्टमित्र तथा छरछिमेकीहरूको सफलताबाट ईर्ष्या होइन, प्रेरणा ग्रहण गर्दै आफ्ना सम्भावनाहरूको खोजी र विकासतर्फ अग्रसर हुनु नै व्यक्ति, परिवार र समाजको समृद्धिको आधार हो” भन्ने मेरो विश्वासलाई तपाईंले यति सुन्दर ढङ्गले बुझिदिनुभएकोमा अत्यन्त खुसी लागेको छ।
    तपाईंजस्ता पाठकहरूको सकारात्मक प्रतिक्रिया नै अनुसन्धान र लेखन यात्रामा थप ऊर्जा र प्रेरणाको स्रोत बन्ने गर्दछ। आगामी दिनहरूमा पनि यस्तै साथ, सुझाव र शुभेच्छाको अपेक्षा गर्दछु।
    फेरि एकपटक हार्दिक धन्यवाद तथा शुभकामना। 🙏🌷

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर