शिक्षा र समाज

अरूको प्रशंसा गर्न हामी किन हिच्किचाउँछौँ?

अरूको प्रशंसा गर्न हामी किन हिच्किचाउँछौँ?
डा. नबराज मुडवरी
२९ साउन २०८३ ११:३०

डा. नबराज मुडवरी

किसानले आफ्नो मेहनत, सीप धैर्यले कुनै वर्ष असाध्यै राम्रो उत्पादन गर्छन्। गाउँका जुझारु युवाहरूले आफ्नै पहलमा पार्क, पुस्तकालय वा खेलमैदान निर्माण गर्छन्। कुनै विद्यालयका प्रधानाध्यापकले प्रभावकारी नेतृत्वका कारण विद्यालयको शैक्षिक गुणस्तर उल्लेखनीय रूपमा सुधार्छन्। कसैले वर्षौँको संघर्षपछि प्रतिष्ठित जागिर वा व्यवसायमा सफलता हासिल गर्छन्। कसैले अनुसन्धान प्रकाशित गर्छन्, कसैले पुरस्कार जित्छन्, अनि कसैले आफ्नो कला, सिर्जना वा उद्यमबाट छुट्टै पहिचान बनाउँछन्। कुनै व्यक्ति आफ्नो पेशामा उत्कृष्ट प्रदर्शन गरेर परिचित हुन्छन् भने कुनै व्यक्ति समाजसेवा परोपकारका कार्यमार्फत विशेष सम्मान आर्जन गर्छन्।

यी सबै कथा हामीले आफ्नो वरिपरि देखिरहेका हुन्छौँ।

हामी उनीहरूको मेहनत, संघर्ष लगनशीलताको मूल्य पनि बुझ्छौँ। धेरैजसो अवस्थामा भित्रभित्रै खुसी पनि हुन्छौँ। तर जब सार्वजनिक रूपमाबधाई ”, “धेरै राम्रो गर्नुभयोवातपाईंले प्रेरणादायी काम गर्नुभयोभन्नुपर्ने क्षण आउँछ, हामीमध्ये धेरैको औँला किबोर्डमै अड्किन्छ। शब्दहरू मनमै रोकिन्छन्। हामी पोस्ट हेर्छौँ, समाचार पढ्छौँ, उपलब्धिबारे थाहा पाउँछौँ, तर केही नभनी अगाडि बढ्छौँ।

किन?

रोचक कुरा के भने, अरूको सफलता स्वीकार्नु जति गाह्रो हुँदैन, त्यसलाई खुलेर प्रशंसा गर्नु त्यति सजिलो पनि हुँदैन। किनकि प्रशंसाले केवल सफल व्यक्तिलाई मात्र सम्मान गर्दैन, यसले हाम्रो आफ्नै मनको उदारता, आत्मविश्वास, असुरक्षा चरित्रसमेत उजागर गरिरहेको हुन सक्छ।

हामी सबै कुनै कुनै रूपमा यो कथाका पात्र हौँ। कहिले सफल हुने व्यक्ति बनेर, कहिले सफलता देख्ने व्यक्ति बनेर। खेतबारीदेखि विद्यालयसम्म, व्यवसायदेखि कार्यालयसम्म, सामाजिक सञ्जालदेखि समाजका विविध क्षेत्रमा, अरूको उपलब्धिप्रति हाम्रो व्यवहारले हाम्रो सामूहिक मनोविज्ञानबारे धेरै कुरा बताइरहेको हुन्छ।

मेरो अघिल्लो लेखअरू सफल हुँदा हामी खुसी हुन किन सक्दैनौँ?” मा मैले अरूको सफलता देख्दा हामीभित्र किन असहजता जन्मिन्छ भन्ने प्रश्न उठाएको थिएँ। आजको प्रश्न त्यसभन्दा एक कदम अगाडि छ। यदि हामीलाई वास्तवमै उसको सफलता स्वीकार भने, धेरै अवस्थामा त्यसको खुलेर प्रशंसा गर्न किन हिच्किचाउँछौँ?

सायद यसको उत्तर अरूको उपलब्धिमा होइन, हाम्रो आफ्नै चित्तभित्र कतै लुकेको हुन सक्छ।

प्रशंसा केवल शब्द मात्र होइन, सम्पत्ति हो

हामी प्रायः प्रशंसालाई सामान्य शिष्टाचार ठान्छौँ। तर वास्तवमा प्रशंसा केवल शब्द मात्र होइन। प्रशंसा मान्यता, सामाजिक स्वीकार्यता सार्वजनिक रूपमा कसैको योगदानको सम्मान हो।

विश्वप्रसिद्ध फ्रेन्च समाजशास्त्री पियरे बोर्दीयूले प्रतिष्ठा, सम्मान सामाजिक मान्यतालाईसिम्बोलिक क्यापिटलअर्थात् प्रतीकात्मक सम्पत्ति भनेका छन्। सरल भाषामा भन्नुपर्दा, सम्मान पनि एक प्रकारको सम्पत्ति नै हो।

त्यसैले जब हामी कसैको खुलेर प्रशंसा गर्छौँ, हामी केवल एउटा राम्रो शब्द मात्र उच्चारण गरिरहेका हुँदैनौँ। हामी उसलाई सामाजिक रूपमा अझ सम्मानित बनाइरहेका हुन्छौँ।

सायद यही कारण कतिपय मानिसलाई अरूको प्रशंसा गर्नु भनेको घाटाको कारोबार गरेजस्तो लाग्छ।

तेसैले उनीहरूको मनले चुपचाप भन्छ:

यदि धेरै चम्कियो भने, कतै धमिलो पो देखिन्छु कि?”

जब पहिचान हैसियतसँग जेलिन्छ

ब्रिटिश सामाजिक मनोवैज्ञानिकद्वय हेन्री ताजफेल जोन टर्नरको सोसल आइडेन्टिटी थ्योरी अनुसार मानिसले आफ्नो पहिचान केवल व्यक्तिगत गुणहरूबाट बनाउँदैन; आफ्नो पद, प्रतिष्ठा, प्रभाव सामाजिक भूमिकाबाट पनि आफूलाई परिभाषित गर्छ।

समस्या तब सुरु हुन्छ, जब भूमिका हाम्रो कामभन्दा ठूलो भएर हाम्रो अस्तित्व बन्छ।

त्यसपछि को हुँ?” भन्ने प्रश्नको उत्तरअरूले मलाई के ठान्छन्?” वा कुन स्थानमा हुन्छु?” भित्र सीमित हुन पुग्छ। अनि अर्को व्यक्तिको सफलता केवल उसको सफलता मात्र रहँदैन; त्यो हाम्रो हैसियत वा विशेष स्थानमाथिको चुनौतीजस्तो महसुस हुन थाल्छ।

यही कुरा बुझ्न स्विस मूलका बेलायती दार्शनिक अलाँ बोतोंले लोकप्रिय बनाएको स्टाटस एन्जाइटीको अवधारणा उपयोगी देखिन्छ। मानिसहरू केवल सफल मात्र होइन, महत्त्वपूर्ण सम्मानित पनि देखिन चाहन्छन्। तर सामाजिक मान्यता प्राप्त गरेपछि अर्को डर जन्मिन्छ: यदि अब विशेष रहिनँ भने?”

सायद यही कारण धेरै संस्थाहरूमा आफूभन्दा सक्षम वा प्रतिभाशाली कनिष्ठहरूको खुलेर प्रशंसा गर्ने वरिष्ठहरू अपेक्षाकृत कम देखिन्छन्। समस्या अर्को व्यक्तिको सफलतामा कम, त्यसले हाम्रो पहिचानबारे उठाइदिने प्रश्नमा बढी हुन्छ।

धेरै मानिसहरू सम्मानलाई सीमित स्रोतजस्तै ठान्छन्। मानौँ कसैले बढी सम्मान पाए आफ्नो भाग कम हुन्छ।

तर सम्मान त्यस्तो वस्तु होइन जो बाँड्दैमा सकियोस्। जसरी एउटा बत्तीबाट अर्को बत्ती बाल्दा उज्यालो घट्दैन, बरु अझ फैलिन्छ, त्यसरी नै सम्मान पनि बाँड्दैमा घट्दैन।

वास्तविक समस्या सम्मानमा होइन, हाम्रो चित्तभित्र डेरा जमाएको त्यो डरमा हुन्छ जसले सोधिरहन्छ:

यदि अब मानिसहरूले उसलाई बढी महत्व दिन थाले भने, मेरो ठाउँ कहाँ रहला?”

नेपाली उखान ,

वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ।

धेरैपटक समस्या बाहिर होइन, हाम्रो मनभित्र कतै लुकेको हुन्छ।

मौनता पनि प्रतिक्रिया हो

समाजमा सबैभन्दा रोचक प्रतिक्रिया आलोचना होइन, मौनता हो।

किनकि आलोचना गर्न साहस चाहिन्छ।

प्रशंसा गर्न उदारता चाहिन्छ।

तर मौन बस्न केही पनि चाहिँदैन।

कुनै युवाले उल्लेखनीय उपलब्धि हासिल गर्छन्। सबैले देख्छन्, तर केही प्रभावशाली मानिसहरू मौन बस्छन्। बधाई, शुभकामना, सार्वजनिक मान्यता।

पक्कै पनि सबै मौनता नकारात्मक हुँदैन।

तर कहिलेकाहीँ मौनता एउटा वाक्य नै हुन्छ। अभिव्यक्त नभएको वाक्य।

जस्तै:

यसलाई स्वीकार्न तयार छैन।

यसलाई विशेष ठान्दिनँ।

त्यसैले कहिलेकाहीँ यही मौनता उच्च स्वरको आलोचनाभन्दा पनि चर्को सुनिन्छ।

सामाजिक सञ्जालको युगमा प्रशंसाको नयाँ प्रश्न

सामाजिक सञ्जालको युगले यस बहसलाई अझ रोचक बनाएको छ।

आज सामाजिक सञ्जालमा जन्मदिन, विदेश जाँदा वा आउँदा, पदोन्नति, नियुक्ति, पुरस्कार, अनुसन्धान प्रकाशन वा अन्य उपलब्धिका पोस्टमा सयौँ बधाई शुभकामनाका सन्देशहरू देखिन्छन्। यसलाई नकारात्मक रूपमा बुझ्नु आवश्यक छैन। धेरै प्रतिक्रियाहरू निस्सन्देह वास्तविक खुसी शुभेच्छाबाट प्रेरित हुन्छन्।

तर सार्वजनिक प्रशंसा सधैँ निजी अनुभूतिसँग पूर्ण रूपमा मेल खान्छ भन्ने पनि हुँदैन।

कहिलेकाहीँ मानिसहरूले सम्बन्ध कायम राख्न, सामाजिक रूपमा सभ्य (सोसल्ली करेक्ट) देखिन, आफ्नो पेशागत छवि जोगाउन वा सामाजिक अपेक्षा पूरा गर्न पनि प्रशंसा व्यक्त गर्छन्।

यसको अर्थ सार्वजनिक बधाई वा प्रशंसा असत्य हो भन्ने होइन। बरु एउटा प्रशंसाभित्र वास्तविक खुसी, सामाजिक शिष्टाचार, सम्बन्ध व्यवस्थापन आत्मप्रस्तुतीकरणका तत्वहरू एकैसाथ मिसिएका हुन सक्छन्।

सायद त्यसैले प्रश्न मानिसहरूले अरूको प्रशंसा गर्छन् कि गर्दैनन् भन्ने होइन। अझ रोचक प्रश्न यो हुन सक्छ:

“यदि देख्ने मान्छे कोही नहुने भए, के म बधाई दिन्थेँ?”

किनकि सार्वजनिक प्रशंसा सजिलै देखिन्छ, तर निजी रूपमा व्यक्त गरिएको प्रशंसा प्रायः मनको वास्तविक अवस्थासँग अझ नजिक हुन सक्छ।

तेसैले हामीले सामाजिक सञ्जालमा कति पटक ताली बजायौँ भन्नेभन्दा गहिरो प्रश्न सायद यो हो:

यदि समाज साक्षी नहुने भए, के हाम्रो बधाई उस्तै हुन्थ्यो?

प्रशंसा गर्न नसक्नु आत्मविश्वासको लक्षण होइन

हामी प्रायः आत्मविश्वासलाई ठूलो स्वर, अधिकार प्रभावसँग जोड्छौँ।

तर आत्मविश्वासको एउटा गहिरो परीक्षा हुन्छ। त्यो के भने अर्को व्यक्तिलाई सम्मान दिन सक्ने क्षमता।

किनकि प्रशंसा गर्दा तपाईंले आफूलाई होइन, अर्को व्यक्तिलाई केन्द्रमा राख्नुपर्छ।

अब यहाँ एउटा असहज प्रश्न उठ्छ:

यदि कसैको सफलतामा ताली बजाउँदा तपाईंको हात दुख्छ भने, उपचार उसको सफलतालाई होइन, आफ्नै हातलाई चाहिएको हुन सक्छ।

साँचो आत्मविश्वास आफू सफल हुँदा मात्र प्रमाणित हुँदैन।

अर्को व्यक्ति सफल हुँदा प्रमाणित हुन्छ।

किनकि त्यही बेला थाहा हुन्छ, तपाईंको आत्मसम्मान आफ्नो उपलब्धिमा आधारित थियो कि अरूको सीमिततामा।

परिपक्व मानिस उत्तराधिकारी खोज्छन्, प्रतिस्पर्धी होइन

अमेरिकी विकासात्मक मनोवैज्ञानिक एरिक एरिक्सनले स्वस्थ वयस्कताको एउटा महत्त्वपूर्ण विशेषतालाई जेनेरेटिभिटी भनेका छन्। सरल भाषामा भन्नुपर्दा, पछिल्लो पुस्तालाई अगाडि बढाउन, अवसर दिन अनुभव हस्तान्तरण गर्न सक्ने क्षमता।

तर जेनेरेटिभिटी उमेरको उपहार होइन। अनुभव बढ्न सक्छ, तर उदारता नबढ्न सक्छ। हैसियत बढ्न सक्छ, तर अरूलाई चम्किन दिन सक्ने आत्मविश्वास नबढ्न सक्छ।

यहीँनेर परिपक्व अपरिपक्व मानिस छुट्टिन्छन्।

परिपक्व बाबुआमाले आफ्ना सन्तान आफूभन्दा अगाडि बढेको देख्न चाहन्छन्। परिपक्व वरिष्ठहरू आफ्ना कनिष्ठहरू अगाडि बढेको देख्न चाहन्छन्। परिपक्व शिक्षकले विद्यार्थीलाई आफूभन्दा राम्रो बन्न प्रोत्साहन दिन्छन्। परिपक्व नेताले आफूभन्दा सक्षम नेतृत्व तयार गर्छन्।

किनकि उनीहरूको ध्यान आफ्नो महत्त्व जोगाउनमा होइन, आफ्नो योगदान विस्तार गर्नमा हुन्छ।

तर अपरिपक्व मानिसको मनमा एउटा अदृश्य सर्त लुकेको हुन सक्छ:

मसम्म आऊ, तर मलाई उच्छिन्न पाइँदैन।

सायद यही एउटा वाक्यले दुई प्रकारका मानिस छुट्याउँछ।

एकथरी आफूभन्दा अगाडि जाने मानिसहरू निर्माण गर्छन्।

अर्काथरी आफूभन्दा अगाडि जाने मानिसहरूसँग डराउँछन्।

एउटा असहज प्रश्न

हामीमध्ये धेरैजसो चाहन्छौँ, हाम्रो छोरा हामीभन्दा सफल होस्। हाम्रो छोरी हामीभन्दा धेरै शिक्षित होस्। हामीले नपाएका अवसरहरू उसले पाओस्।

तर एउटा रोचक कुरा छ।

आफ्नो छोराले हामीलाई उछिन्दा गर्व लाग्छ।

आफ्नो छोरीले हामीलाई उछिन्दा खुसी लाग्छ।

तर सँगै विदेश गएको साथीले उछिन्दा?

सहकर्मी अघि बढ्दा?

विद्यार्थीले उछिन्दा?

किन अचानक भाव बदलिन्छ?

यदि समस्या सफलतामा हुन्थ्यो भने आफ्नै सन्तानको सफलता पनि असजिलो लाग्नुपर्थ्यो होइन ?”

सायद समस्या सफलतामा होइन।

समस्या हामीले मनमनै बनाएको मेरो मान्छे अरूको मान्छे बीचको अदृश्य सीमारेखामा हुन सक्छ।

जब उपलब्धिमेरो मान्छेको हुन्छ, त्यो हाम्रो गर्व बन्छ।

जब त्यही उपलब्धिअरूको मान्छेको हुन्छ, त्यही कुरा कहिलेकाहीँ असजिलोपन वा मौनताको कारण बन्न पुग्छ।

सायद त्यसैले प्रश्न अन्ततः अर्को व्यक्तिको सफलताको होइन।

प्रश्न हाम्रो चित्तले कसलाईहाम्रो कसलाईअरूठानिरहेको भन्ने हो।

अध्यात्मले अहंकारबाट योगदानतर्फ लैजान्छ

अध्यात्मको एउटा सुन्दर शिक्षा छ।

जीवनको उद्देश्य आफूलाई ठूलो प्रमाणित गर्नु होइन, आफूभन्दा ठूलो कुनै उद्देश्यमा योगदान दिनु हो।

जब मानिसको ध्यान कति महत्त्वपूर्ण छु?” बाट मैले कति योगदान दिएँ?” तर्फ सर्छ, अरूको सफलताले उसलाई असुरक्षित बनाउँदैन। बरु खुसी बनाउँछ। किनकि तुलना होइन, अर्थपूर्ण जीवनको खोजीमा हुन्छ।

अध्यात्मले हामीलाई सम्झाउँछ, अरूको सफलताले हाम्रो केही खोस्दैन। बरु, प्रशंसा गर्न नसक्दा हामी आफैँ उदार बन्ने एउटा अवसर गुमाउन सक्छौँ। जस्तै, तपाईंको छिमेकीसँग गाडी छ भने कुनै न कुनै दिन त्यसमा चढ्ने अवसर तपाईंलाई पनि मिल्न सक्छ; तर यदि उसँग गाडी नै छैन भने त्यो सम्भावना पनि रहँदैन। त्यसैगरी, मलाई लाग्दैन कि तपाईंले कसैको प्रशंसा गर्दा गाली वा निन्दा पाउनुहुन्छ; बरु, बदलामा राम्रो कुरा नै सुन्न पाउनुहुन्छ। 

त्यसैले अर्को पटक कसैले राम्रो काम गरेको देख्नुभयो भने, एकछिन रोकिएर सोचौँ। के एउटा बधाईको सन्देश पठाउन सकिन्छ? के एउटा प्रशंसाको वाक्य लेख्न सकिन्छ? सम्भव भने भेटेरै बधाई दिन सकिन्छ?

एउटा बधाईले आत्मविश्वास बढाउन सक्छ, सम्बन्ध बलियो बनाउन सक्छ कसैलाई अझ अगाडि बढ्ने हौसला दिन सक्छ।

जीवनमा हामीले कति ताली पायौँ भन्नेभन्दा महत्त्वपूर्ण प्रश्न सायद यो हुन सक्छ:

हामीले कति जनाका लागि ताली बजायौँ?”

अरूको सफलतामा ताली बजाउन सक्ने मन नै अध्यात्मले स्पर्श गरेको मन हो।

आखिर एउटा बत्तीले अर्को बत्ती बाल्दा आफ्नो उज्यालो कहाँ कम हुन्छ ?

नेपाली उखान , जे रोप्यो, त्यही फल्छ। यदि हामी सम्मान, शुभेच्छा प्रोत्साहनको बीउ रोप्छौँ भने समाजमा पनि त्यही संस्कार हुर्किन्छ।

प्रशंसा गर्नु प्रशंसा गर्न सिकाउनु एउटा महत्वपूर्ण संस्कार हो। त्यसैले आउनुहोस्, अरूको सफलतामा कञ्जुस्याइँ होइन, उदारता देखाऔँ। किनकि अरूलाई सम्मान दिन सक्ने क्षमता पनि सफल परिपक्व जीवनको एउटा सुन्दर उपलब्धि हो।

यस्तै संस्कारले व्यक्ति, परिवार समाजलाई थप विश्वासिलो, सहकार्यपूर्ण, एकताबद्ध समृद्ध बनाउँदै लैजान्छ। सायद आजको नेपाली समाजलाई चाहिएको सबैभन्दा ठूलो सामाजिक पुँजी पनि यही हो।

 

डा. नबराज मुडवरी विकास अध्ययनमा एमफिल शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुन्। हाल अष्ट्रेलियाको विश्वविद्यालय क्षेत्रमा कार्यरत उहाँसँग शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढीको अनुभव छ। उहाँ शिक्षा, समाज अध्यात्मका विषयमा नियमित रूपमा कलम चलाउनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर