हामीलाई धेरै कुरा थाहै छैन भन्ने सत्य स्वीकार्न किन गाह्रो हुन्छ?

डा. नबराज मुडवरी
केही समयअघि म एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएको थिएँ। वक्ताहरूको सूची प्रभावशाली थियो। कसैको नामअघि Prof., कसैको Dr., कसैको Er. जोडिएको थियो। अर्थतन्त्र, शिक्षा, राजनीति, प्रविधि र विकासका विषयमा धाराप्रवाह विचारहरू प्रस्तुत भइरहेका थिए। तर मेरो ध्यान उनीहरूले के भने भन्नेभन्दा पनि कसरी भने भन्नेमा केन्द्रित रह्यो।
धेरै वक्ताहरू यसरी बोलिरहेका थिए मानौँ जटिल प्रश्नहरूको अन्तिम उत्तर उनीहरूसँगै थियो। कार्यक्रमभरि मैले “सायद”, “म गलत पनि हुन सक्छु”, “यसमा थप अनुसन्धान आवश्यक छ” वा “मलाई थाहा छैन” जस्ता शब्दहरू सुन्न पाइनँ। त्यसबेला मेरो मनमा एउटा असहज प्रश्न उठ्यो: मानिस वास्तवमै धेरै जानेका कारण यति निश्चित हुन्छ, कि आफूलाई धेरै जान्ने व्यक्तिका रूपमा स्थापित गर्न चाहेका कारण? यति विशाल ब्रह्माण्ड, यति जटिल मानव समाज र यति धेरै अनुत्तरित प्रश्नहरूको बीचमा कुनै पनि व्यक्तिले आफूलाई पूर्णतः निश्चित कसरी ठान्न सक्छ? विज्ञानले अझै असंख्य रहस्यहरूको खोज गरिरहेको छ, तर हामीमध्ये धेरैजना हरेक विषयमा अन्तिम सत्य सुनाउन तयार देखिन्छौँ।
सायद समस्या अज्ञानतामा होइन, आफू अज्ञानी हुन सक्ने सम्भावना स्वीकार्न नसक्नुमा छ। हामी सिक्नुभन्दा जान्ने देखिन, प्रश्न गर्नुभन्दा उत्तर दिन र सीमाहरू स्वीकार्नुभन्दा निश्चित देखिन रुचाउँछौँ। तर वास्तविक ज्ञान प्रायः त्यहीँबाट सुरु हुन्छ, जहाँ मानिसले आफ्नो ज्ञानको सीमा स्वीकार्छ। प्रज्ञा (विज्डम) “मलाई थाहा छ” भन्ने अहंकारबाट होइन, “मलाई अझै धेरै कुरा थाहा छैन” भन्ने विनम्रताबाट जन्मिन्छ।
अनि सायद आज हाम्रो समाजले आफैँलाई सोध्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो: के हामी साँच्चै ज्ञानी बन्दै गएका छौँ, कि केवल आफूलाई ज्ञानी ठान्ने भ्रममा बाँचिरहेका छौँ?
हामी उत्तर दिन हतारिन्छौँ, प्रश्न गर्न होइन
नेपालमा धेरै कुरा सिकाइन्छ। ठूलालाई सम्मान गर्न, मेहनत गर्न, प्रतिस्पर्धा गर्न र पढ्न सिकाइन्छ। तर एउटा कुरा भने कम सिकाइन्छ: “मलाई थाहा छैन” भन्न।
विद्यालयमा सही उत्तरले अंक दिन्छ। परिवारमा ठूला मानिसलाई चुनौती दिनु असभ्य मानिन्छ। कार्यस्थलमा छिटो जवाफ दिने व्यक्ति सक्षम ठानिन्छ, र राजनीतिमा अनिश्चितता स्वीकार गर्नेभन्दा दृढ आश्वासन दिने व्यक्ति लोकप्रिय हुन्छ। बिस्तारै हामी एउटा अदृश्य सन्देश आत्मसात् गर्न थाल्छौँ: उत्तर दिनु प्रतिष्ठा हो, प्रश्न गर्नु कमजोरी।
यसको एउटा मनोवैज्ञानिक कारण पनि छ। अमेरिकी सञ्चारविद् चार्ल्स बर्जर र रिचर्ड क्यालाब्रिजको अनसर्टेन्टी रिडक्सन थ्योरी अनुसार मानिसलाई अनिश्चिततामा बस्न सहज लाग्दैन। कुनै विषय जटिल हुँदा वा पर्याप्त जानकारी नहुँदा “मलाई थाहा छैन” भन्नुभन्दा कुनै निष्कर्षमा पुग्नु मनोवैज्ञानिक रूपमा बढी सुविधाजनक लाग्छ।
त्यसैले देश किन पछाडि पर्यो, युवा किन विदेश गइरहेका छन् जस्ता बहुआयामिक प्रश्नहरूमा पनि हामी सरल उत्तर खोज्छौँ। वास्तविकता जटिल हुन सक्छ, तर सरल निष्कर्षहरूले तत्काल मानसिक सान्त्वना दिन्छन्। सायद यही कारण हामी कहिलेकाहीँ सत्यभन्दा निश्चिततालाई रोज्छौँ। किनकि गलत उत्तरले पनि कहिलेकाहीँ सही प्रश्नभन्दा बढी सान्त्वना दिन्छ।
अज्ञानताको सबैभन्दा ठूलो समस्या अज्ञानता होइन
मनोविज्ञानले एउटा असहज तर महत्त्वपूर्ण सत्य देखाएको छ।
कहिलेकाहीँ हामीलाई कुनै विषय थोरै थाहा हुँदा आफूलाई धेरै थाहा भएको जस्तो लाग्छ। तर जति गहिरो रूपमा बुझ्दै जान्छौँ, त्यति नै आफूले नजानेका कुराहरू पनि देखिन थाल्छन्।
हामी दैनिक जीवनमा यस्ता दृश्यहरू बारम्बार देख्छौँ।
केही युट्युब भिडियो हेरेकै भरमा हामी अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ बन्छौँ, केही फेसबुक पोस्ट पढ्दैमा अर्थशास्त्री। चुनावका बेला हामी सबै संवैधानिक विज्ञ हुन्छौँ, विश्वकपका बेला सबै प्रशिक्षक।
सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ। केही मिनेटमै हामी अर्थतन्त्र, विदेश नीति, चिकित्सा विज्ञान, शिक्षा वा जलवायु परिवर्तनबारे निश्चित राय बनाउन सक्छौँ। तर राय हुनु र विषय बुझ्नु एउटै कुरा होइन।
हाम्रो टेलिभिजन र युट्युब बहसहरूमा पनि यस्तै आत्मविश्वास देख्न सकिन्छ। कतिपय विश्लेषकहरूलाई सुन्दा लाग्छ, देशका सबै समस्या उनीहरूले बुझिसकेका छन् र भविष्यका सबै उत्तरहरू उनीहरूसँग छन्। रोचक कुरा के छ भने, जति जटिल विषय हुन्छ, उनीहरू त्यति नै निश्चित देखिन्छन्।
तर मैले पढेका धेरै गम्भीर दार्शनिक, वैज्ञानिक, अर्थशास्त्री र विचारकहरू भने त्यति निश्चित देखिँदैनन्। उनीहरू आफ्ना निष्कर्षका सीमाहरू स्वीकार गर्छन्। प्रतिवादलाई स्थान दिन्छन्। कतिपय अवस्थामा त आफ्ना निष्कर्षभन्दा आफ्ना सीमितताहरूका बारेमा बढी इमानदार देखिन्छन्।
यस्ता दृश्य देख्दा कहिलेकाहीँ मलाई अचम्म लाग्छ। यदि विषयका मूल विचारकहरू स्वयं यति सावधान छन् भने, हामी किन यति निश्चित छौँ? किन हामी सम्भावनाभन्दा निष्कर्ष सुनाउन हतारिन्छौँ? किन प्रश्नभन्दा उत्तरमा बढी आकर्षित हुन्छौँ?
तर समस्या त्यतिमै सीमित छैन।
हामी प्रायः थोरै जानकारी, सीमित अनुभव वा अधुरो बुझाइका आधारमा ठोकुवा गर्न थाल्छौँ। त्यसपछि त्यसकै पक्ष वा विपक्षमा रातोपिरो हुने गरी बहसमा उत्रिन्छौँ। आवश्यक परे सम्बन्ध बिगार्न, समूह विभाजित गर्न वा झगडासमेत गर्न तयार हुन्छौँ।
सामाजिक सञ्जालका टिप्पणीहरू, चियापसलका बहसहरू, टेलिभिजनका अन्तर्वार्ताहरू वा पारिवारिक जमघटहरू हेर्दा कहिलेकाहीँ लाग्छ, यो कुनै एक व्यक्ति, वर्ग वा राजनीतिक समूहको समस्या मात्र होइन।
सायद यो हामी धेरै नेपालीहरूको साझा प्रवृत्ति जस्तै भइसकेको छ।
किन यस्तो हुन्छ?
मनोविज्ञानमा यसको एउटा रोचक व्याख्या छ।
अमेरिकी मनोवैज्ञानिक डेभिड डनिङ र जस्टिन क्रुगरले पहिचान गरेको डनिङ–क्रुगर प्रभाव अनुसार सीमित ज्ञान वा सीप भएका व्यक्तिहरूले प्रायः आफ्नै क्षमताको बढी मूल्याङ्कन गर्छन्। समस्या केवल कम थाहा हुनुमा हुँदैन। समस्या के हो भने आफ्ना सीमितताहरू चिन्न आवश्यक पर्ने ज्ञानसमेत पर्याप्त हुँदैन।
रोचक कुरा के छ भने, नेपाली समाजले यो सत्य धेरै अघि नै एउटा उखानमार्फत व्यक्त गरिसकेको थियो:
“आधा गाग्री बढी छचल्किन्छ।”
थोरै ज्ञानले प्रायः बढी आत्मविश्वास जन्माउँछ। गहिरो ज्ञानले भने आफ्नै सीमितताको बोध गराउँछ।
त्यसैले धेरै जान्ने मानिस प्रायः कम बोल्छन् भन्ने होइन। तर उनीहरू आफूले नजानेका कुराबारे बढी सावधान हुन्छन्।
वास्तविक ज्ञानले प्रायः विनम्रता जन्माउँछ।
ज्ञानको भ्रमले प्रायः घमण्ड।
र सायद यही कारण अज्ञानताको सबैभन्दा ठूलो समस्या अज्ञानता होइन।
अज्ञानताको सबैभन्दा ठूलो समस्या भनेको आफ्नो अज्ञानता चिन्न नसक्नु हो।
हामी सत्यभन्दा आत्मसम्मानको रक्षा गर्छौँ
हामी सबै आफूलाई सक्षम, बुद्धिमान र सम्मानित देख्न चाहन्छौँ। यो स्वाभाविक मानवीय प्रवृत्ति हो। तर समस्या तब सुरु हुन्छ, जब सत्य र आत्मसम्मानबीच छनोट गर्नुपर्ने अवस्था आउँछ।
अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन ब्राउनलगायतका अनुसन्धानकर्ताहरूले वर्णन गरेको सेल्फ–इनह्यान्समेन्ट थ्योरी अनुसार मानिसहरू आफूलाई सकारात्मक रूपमा हेर्न चाहन्छन्। हामी सफलताको श्रेय आफैंलाई दिन्छौँ, असफलताको दोष परिस्थितिलाई। आफ्ना सबल पक्षलाई अगाडि ल्याउँछौँ र कमजोरीहरूलाई ओझेलमा पार्न खोज्छौँ।
त्यसैले “मलाई थाहा छैन” भन्न नसक्नु कहिलेकाहीँ ज्ञानको होइन, अहंको समस्या हुन्छ। उत्तर थाहा नभए पनि कतिपय अभिभावकलाई स्वीकार्न गाह्रो लाग्छ, केही शिक्षकहरू अप्ठ्यारो प्रश्नबाट पन्छिन खोज्छन्, र धेरै नेताहरू “थप अध्ययन आवश्यक छ” भन्नुभन्दा “हामी समाधान गर्छौँ” भन्न रुचाउँछन्।
किनकि अनिश्चितता स्वीकार्नुभन्दा निश्चितता प्रदर्शन गर्न सजिलो हुन्छ। हामीलाई गलत हुनुभन्दा गलत देखिनु बढी पीडादायी लाग्छ। परिणामतः, कहिलेकाहीँ हामी सिक्नुभन्दा आफू सही भएको प्रमाणित गर्न बढी व्यस्त हुन्छौँ, र त्यही क्रममा सिक्ने अवसर गुमाउँछौँ।
डिग्री छ, तर प्रज्ञा छ कि छैन?
सायद हाम्रो समाजको सबैभन्दा गहिरो भ्रम यही हो। हामीले औपचारिक शिक्षा, ज्ञान र प्रज्ञाबीचको भिन्नता बिस्तारै बिर्सँदै गएका छौँ। डिग्री प्राप्त गर्नु, धेरै जानकारी हुनु र प्रज्ञावान् हुनु एउटै कुरा होइनन्।
औपचारिक शिक्षाले सूचना, ज्ञान र विशेषज्ञता दिन सक्छ, तर त्यसले अनिवार्य रूपमा प्रज्ञा दिन्छ भन्ने छैन। ज्ञानले तथ्य दिन्छ; प्रज्ञाले दृष्टि। ज्ञानले उत्तर दिन्छ; प्रज्ञाले सही प्रश्न सोध्न सिकाउँछ।
डिग्रीले अध्ययन र विशेषज्ञताको प्रमाण दिन सक्छ, तर विवेक, विनम्रता, आत्मचेतना वा जीवनबोधको ग्यारेन्टी दिन सक्दैन। यही कारण कसैको नामअघि Dr वा PhD देख्दा हामी सहजै उसलाई ज्ञानी ठान्ने गर्छौँ। तर इतिहासले कम्तीमा त्यस्तो भन्दैन।
गौतम बुद्धसँग आधुनिक विश्वविद्यालयको डिग्री थिएन, तर आज विश्वविद्यालयहरूमा उनका विचारहरू पढाइन्छन्।
गाउँको किसानसँग कृषि विज्ञानको डिग्री नहुन सक्छ, तर उसले आकाशको रंग हेरेर मौसमको संकेत पढ्न सक्छ। कतिपय ज्येष्ठ नागरिकसँग डिग्री नहुन सक्छ, तर जीवन र सम्बन्धबारे उनीहरूको बुझाइ पुस्तकभन्दा गहिरो हुन सक्छ। कुनै गृहिणीसँग कुकरीको डिग्री नहुन सक्छ, तर उनले परिवार र पाहुनाको जिब्रोको भाषा पढ्न जान्दछिन्।
यसको अर्थ डिग्रीको महत्त्व छैन भन्ने होइन। डिग्री ज्ञानको एउटा स्वरूप हो, सम्पूर्ण ज्ञान होइन। समस्या तब सुरु हुन्छ, जब हामी विचारको गुणस्तरभन्दा प्रमाणपत्रलाई बढी महत्त्व दिन थाल्छौँ। जब तर्कभन्दा उपाधि ठूलो हुन्छ, र “उसले के भन्यो?” भन्दा पहिले “उ कहाँसम्म पढेको छ?” भनेर सोध्न थाल्छौँ।
त्यसपछि समाजले ज्ञानको होइन, प्रमाणपत्रको सम्मान गर्न थाल्छ। सायद यही कारण हामी “कति पढेको?” भन्ने प्रश्न धेरै सोध्छौँ, तर “कत्तिको प्रज्ञावान्?” भन्ने प्रश्न विरलै सोध्छौँ।
जब विचार पहिचान बन्छ
हामी किन नयाँ प्रमाण देख्दा पनि पुरानै धारणामा अडिग रहन्छौँ?
किनभने धेरैजसो अवस्थामा समस्या ज्ञानको हुँदैन। समस्या पहिचानको हुन्छ।
बेलायती सामाजिक मनोवैज्ञानिक हेन्री ताजफेल र अष्ट्रेलियाली सामाजिक मनोवैज्ञानिक जोन टर्नरले विकास गरेको सोसल आइडेन्टिटी थ्योरी अनुसार मानिसहरू आफ्ना समूहहरू मार्फत आफ्नो पहिचान निर्माण गर्छन्। त्यसैले कुनै राजनीतिक विचार, धार्मिक विश्वास वा सामाजिक धारणा गलत हुन सक्छ भन्ने स्वीकार गर्नु केवल विचार परिवर्तन गर्नु होइन, आफ्नो पहिचानको एउटा अंशलाई पुनः प्रश्न गर्नु पनि हो।
नेपाल जस्तो विविधतायुक्त समाजमा यो झन् स्पष्ट देखिन्छ।
राजनीतिक दलहरू छन्। जातीय पहिचानहरू छन्। धार्मिक विश्वासहरू छन्। क्षेत्रीय र सांस्कृतिक पहिचानहरू छन्।
समस्या तिनको अस्तित्वमा होइन।
समस्या तब सुरु हुन्छ, जब हामी आफ्नो समूहलाई सही साबित गर्न यति व्यस्त हुन्छौँ कि सत्य खोज्नै छोड्छौँ।
त्यसपछि सत्यभन्दा पक्ष ठूलो बन्छ।
तथ्यभन्दा समूह ठूलो बन्छ।
जिज्ञासाभन्दा वफादारी ठूलो बन्छ।
र सामाजिक सञ्जालले यो प्रक्रियालाई अझ तीव्र बनाउँछ।
कसले चुकाउनुपर्छ यसको मूल्य?
जब समाजले डिग्रीलाई ज्ञानको अन्तिम प्रमाण मान्न थाल्छ, त्यसले सबैभन्दा पहिले आफ्ना मौन ज्ञानीहरू गुमाउँछ।
त्यो किसान गुमाउँछ, जसले जीवनभर आकाश पढेर मौसम चिनेको छ।
त्यो कालिगढ गुमाउँछ, जसको हातमा पुस्तौँको सीप छ।
त्यो गृहिणी गुमाउँछ, जसले डिग्री होइन, अनुभवबाट स्वादको कला सिकेकी छ।
त्यो ज्येष्ठ नागरिक गुमाउँछ, जसले जीवनका अनुभवबाट प्राप्त प्रज्ञा बोकेको छ।
तर मूल्य यतिमै सीमित हुँदैन।
विद्यार्थीहरूले मूल्य तिर्छन्। उनीहरू प्रश्न गर्नुभन्दा उत्तर कण्ठ गर्न सिक्छन्।
संस्थाहरूले मूल्य तिर्छन्। त्यहाँ पदको सम्मान हुन्छ, तर विचारको हुँदैन।
लोकतन्त्रले मूल्य तिर्छ। किनकि प्रश्न नगर्ने नागरिक र आलोचना नसहने नेतृत्वले स्वस्थ लोकतन्त्र निर्माण गर्न सक्दैन।
र अन्ततः राष्ट्रले मूल्य तिर्छ।
किनकि कुनै समाज त्यतिबेला कमजोर बन्छ, जब उसले ज्ञानका विविध स्रोतहरूलाई सम्मान गर्न छोड्छ।
समाधान कहाँ छ?
यो समस्या व्यक्तिको मात्र होइन; परिवार, विद्यालय, संस्था र समाजले मिलेर निर्माण गरेको हो। त्यसैले समाधान पनि बहुस्तरीय हुनुपर्छ।
परिवारमा अभिभावकले कहिलेकाहीँ भन्न सक्नुपर्छ:
“मलाई पनि थाहा छैन। आऊ,सँगै खोजौँ।”
विद्यालयले उत्तरभन्दा प्रश्नलाई महत्त्व दिनुपर्छ।
विश्वविद्यालयले डिग्रीलाई अन्तिम गन्तव्य होइन, सिकाइको एउटा चरणका रूपमा प्रस्तुत गर्नुपर्छ।
संस्थाहरूले पदानुक्रमभन्दा संवादलाई महत्त्व दिनुपर्छ।
र समाजले सफलताको नयाँ परिभाषा निर्माण गर्नुपर्छ।
हामीले केवल यो नसोधौँ:
“ऊ कति पढेको छ?”
हामीले यो पनि सोधौँ:
ऊ कत्तिको जिज्ञासु छ?
ऊ आफ्ना गल्ती स्वीकार गर्न सक्छ?
ऊ अझै सिक्न तयार छ?
प्रज्ञाको सुरुवात कहाँबाट हुन्छ?
विश्वका धेरै दार्शनिक, आध्यात्मिक र बौद्धिक परम्पराहरू एउटा कुरामा सहमत देखिन्छन्।
सत्यको खोजी निश्चितताबाट होइन, विनम्रताबाट सुरु हुन्छ।
प्राचीन ग्रीक दार्शनिक सुकरातले आफ्नो ज्ञानको सीमा स्वीकार्न सिकाए। पूर्वीय दर्शनहरूले आत्मचिन्तनलाई महत्त्व दिए। आधुनिक विज्ञानले पनि अन्तिम सत्यको घोषणा होइन, निरन्तर प्रश्न र परीक्षणलाई आफ्नो आधार बनायो।
समय र संस्कृति फरक भए पनि सन्देश एउटै छ।
मानिस त्यतिबेला सिक्न सुरु गर्छ, जब उसले आफूलाई सबै कुरा थाहा छैन भन्ने स्वीकार्छ।
आजको नेपाललाई थप डिग्री चाहिन्छ।
थप अनुसन्धान चाहिन्छ।
थप विशेषज्ञता चाहिन्छ।
तर त्यो मात्र पर्याप्त छैन।
हामीलाई बौद्धिक विनम्रता पनि चाहिन्छ।
किनकि बुद्धिमानीको प्रमाण सबै कुरा जान्नुमा छैन।
आफ्नो ज्ञानको सीमा चिन्नुमा छ।
विज्ञान “मलाई थाहा छैन” बाट सुरु हुन्छ।
लोकतन्त्र “म गलत हुन सक्छु” बाट बलियो हुन्छ।
र प्रज्ञा “म अझै सिक्दै छु” भन्ने विनम्रताबाट जन्मिन्छ।
सायद आज हामीले स्वीकार्नुपर्ने सबैभन्दा साहसी सत्य यही हो: हामीलाई धेरै कुरा थाहा छैन। यो कमजोरी होइन, सिकाइको पहिलो खुड्किलो हो। विज्ञान, लोकतन्त्र र प्रज्ञा सबै त्यहीँबाट सुरु हुन्छन् जहाँ मानिसले इमान्दारीपूर्वक भन्न सक्छ: “मलाई धेरै कुरा थाहा छैन, तर म जान्न चाहन्छु।” जिज्ञासु, विनम्र र प्रज्ञावान् समाजको जग पनि यही स्वीकारोक्तिबाट बस्छ।
…………
डा. नबराज मुडवरी विकास अध्ययनमा एमफिल र शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुन्। हाल अष्ट्रेलियाको विश्वविद्यालय क्षेत्रमा कार्यरत उहाँसँग शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढीको अनुभव छ। उहाँ शिक्षा, समाज र अध्यात्मका विषयमा नियमित रूपमा कलम चलाउनुहुन्छ।
