नेपालदेखि अस्ट्रेलियाको चर्चित अस्पतालसम्म: कसरी बने डा. प्रबिन ज्ञवाली वरिष्ठ वैज्ञानिक?

नेपालदेखि अस्ट्रेलियाको चर्चित अस्पतालसम्म: कसरी बने डा. प्रबिन ज्ञवाली वरिष्ठ वैज्ञानिक?
नेपालआईज
४ भदौ २०८३ २३:१०

नेपालको माटोमा हुर्किएर विदेशी भूमिमा आफ्नो बौद्धिक क्षमता र दक्षताको पहिचान बनाउनु सामान्य कुरा होइन। त्यस्तै एउटा उदाहरणीय यात्रा तय गरेका छन्, डा. प्रबिन ज्ञवालीले। नेपालमा जन्मिएका डा. ज्ञवालीले हाल अस्ट्रेलियाको स्वास्थ्य तथा प्याथोलोजी क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउँदै बिरामीको उपचारसम्बन्धी महत्त्वपूर्ण निर्णयहरूमा निर्णायक भूमिका खेलिरहेका छन्।

सिड्नीस्थित वेस्टमिड अस्पतालको ‘इन्स्टिच्युट अफ क्लिनिकल प्याथोलोजी एन्ड मेडिकल रिसर्च’ मा उनी हाल वरिष्ठ वैज्ञानिक (क्लिनिकल केमेस्ट्री) तथा क्लिनिकल वैज्ञानिक प्रशिक्षार्थीका रूपमा कार्यरत छन्। भर्खरै सम्पन्न अस्ट्रेलियाको ‘राष्ट्रिय विज्ञान सप्ताह’का अवसरमा NSW Health Pathology ले सार्वजनिक गरेको एक विशेष भिडियोमा उनलाई संस्थाका प्रेरणादायी वैज्ञानिकका रूपमा प्रस्तुत गरिएको छ।

बाल्यकालको रुचिदेखि अन्तर्राष्ट्रिय सफलतासम्म

डा. ज्ञवालीको यो यात्रा अचानक सुरु भएको होइन। सानै उमेरदेखि जीवविज्ञान प्रति रहेको गहिरो अभिरुचि र जिज्ञासाले नै उनलाई प्याथोलोजीजस्तो संवेदनशिल क्षेत्रमा पुर्‍याएको हो।

सन् २०१५ मा क्लिनिकल केमेस्ट्रीमा थप अध्ययन तथा विद्यावारिधि (PhD) का लागि अस्ट्रेलिया आएका उनी सन् २०२१ मा अस्ट्रेलियाको सरकारी स्वास्थ्य निकाय ‘NSW Health Pathology’ मा आबद्ध भएका थिए। अहिले उनी वेस्टमिड अस्पतालसहित मातहतका २८ वटा स्याटेलाइट प्रयोगशालाहरूको क्लिनिकल केमेस्ट्री सेवामा प्राविधिक एवं वैज्ञानिक सहयोग पुर्‍याउँछन्।

पर्दापछाडिका ‘अदृश्य’ नायक

चिकित्सकले बिरामीको उपचार सुरु गर्नुअघि रोगको सही पहिचान हुन आवश्यक हुन्छ। डा. ज्ञवालीको मुख्य काम जटिल प्रयोगशाला नतिजाहरूको सूक्ष्म विश्लेषण, व्याख्या र परीक्षण गर्नु हो।

“वैज्ञानिक विशेषज्ञता, तथ्याङ्क विश्लेषण र चिकित्सकहरूसँगको निरन्तर सहकार्यमार्फत प्रयोगशालाको जटिल डाटालाई बिरामीको जीवन बचाउने उपयोगी जानकारीमा रूपान्तरण गर्नु नै मेरो मुख्य जिम्मेवारी हो,” डा. ज्ञवाली बताउँछन्।

प्रयोगशालामा हुने उनको एक सही विश्लेषणले चिकित्सकलाई बिरामीको उपचारमा सटीक र जीवनरक्षक निर्णय लिन प्रत्यक्ष मद्दत पुर्‍याउँछ।

नयाँ पुस्ताका लागि मार्गदर्शक

अस्ट्रेलियामा आफ्नो क्षेत्रमा स्थापित भइसकेपछि डा. ज्ञवालीले आफ्ना अनुभवहरू आफैँमा सीमित राखेका छैनन्। अस्ट्रेलियाको प्याथोलोजी प्रणालीमा प्रवेश गर्न चाहने अन्य नवआगन्तुक वैज्ञानिक तथा शोधकर्ताहरूलाई उनले निरन्तर मार्गदर्शन गर्दै आएका छन्।विदेशमा अध्ययन र ज्ञान भए पनि त्यहाँको स्थानीय प्याथोलोजी प्रणाली र मापदण्ड बुझ्न उचित सल्लाहको खाँचो पर्ने उनी बताउँछन्। आफूले सँगालेको अनुभव बाँडेर अरूको आत्मविश्वास बढाउन पाउनुलाई उनी आफ्नो जीवनको ठूलो सन्तोष मान्छन्।राष्ट्रिय विज्ञान सप्ताहका अवसरमा NSW Health Pathology ले रोग पहिचान, स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा वैज्ञानिक अनुसन्धानमा योगदान पुर्‍याउने अस्ट्रेलियाभरका चुनिएका वैज्ञानिकहरूको सूचीमा डा. ज्ञवालीलाई समावेश गर्दै उनको योगदानको उच्च कदर गरेको छ। विदेशी भूमिमा नेपालीको यो सफलताले सम्पूर्ण नेपाली समुदायलाई नै गौरवान्वित बनाएको छ।

समाचार स्रोत 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर