काठमाडौँ, भदौ १० गते। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार विभिन्न ट्राभल एजेन्सीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्रामा निस्किएका पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। प्रभावित क्षेत्रमा उनीहरूको अवस्था पत्ता लगाउन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पर्यटन प्रहरीको संयुक्त टोली खटाइएको छ।
एजेन्सीअनुसार सम्पर्कविहीन पर्यटकको विवरण:
- ट्रेकर सोसाइटी: ९२ जना
- सम्राट टुर्स एण्ड ट्राभल्स: ७१ जना
- लिफ होलिडे: ५५ जना
- हिमालयन ग्यासियर: ५२ जना
- कैलाश जर्नी: ३१ जना
- फिस्टेल टुर्स एण्ड ट्राभल्स: २७ जना
- अल्पाइन इको ट्रेक: २० जना
- काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभल्स: १७ जना
- रिचा टुर्स एण्ड ट्राभल्स: १२ जना
- एक्सप्लोर भ्याकेशन: ७ जना
बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका स्थानीय बस्ती, प्रहरी चौकी तथा रसुवागढी भन्सार कार्यालयमा व्यापक क्षति पुगेको छ। साथै, रसुवागढी नाका जोड्ने प्रमुख सडक तथा पुलहरू भत्किएका कारण सो क्षेत्रमा यातायात र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
पर्यटन बोर्डले प्रभावित पर्यटकका आफन्त तथा सम्बन्धित एजेन्सीहरूलाई जानकारी वा उद्धार सहयोगका लागि टोल फ्रि नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरीको फोन नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।