यसरी मनाइयो अस्ट्रेलियाभर अन्तर्राष्ट्रिय सगरमाथा दिवस (फोटो फिचर)

प्रतीक सिग्देल ।
तास्मानिया । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा अस्ट्रेलियाका आठवटै राज्यहरुमा पहिलोपटक विविध कार्यक्रमका बीच सगरमाथा दिवस मनाइएको छ ।
फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अस्ट्रेलिया (फेन्का)को आयोजनामा र स्थानीय नेपाली सामुदायिक संस्थाहरुको सहकार्यमा मे २९ का दिन विभिन्न कार्यक्रमको आयोजना गरी सबै राज्यहरुमा यो कार्यक्रम मनाइएको हो । यसरी अस्ट्रेलियाका आठवटै राज्यमा एकैपटक सगरमाथा दिवस मनाइएको यो इतिहासमै पहिलो हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको संरक्षण र नेपालमा पर्यटनको प्रचार प्रसारका लागि अस्ट्रेलियाभरी उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सगरमाथा दिवस मनाउनुका पछाडि नेपालको पर्यटनसँगै सगरमाथाको पर्यावरण संराक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको फेन्काले जनाएको छ ।
सन् १९५३ मे २९ का दिन न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा पहिलोपटक आरोहण गरेको दिनको सम्झनास्वरुप विश्वभरि सगरमाथा दिवस मनाइँदै आएको छ ।
हामीले सबै राज्यहरुको स्थानीय समुदायसँग के कस्तो कार्यक्रमको आयोजना गरि सगरमाथा दिवस मनाइयो भनेर बुझ्ने प्रयास गरेका छौं ।
तास्मानिया
चिसो मौसमका बाबजूद तास्मानियाको होबार्टमा स्थानीय समुदायहरु मिलेर होबार्ट बोटानिकल गार्डेनका साना साना पहाडहरु चढेर सगरमाथा दिवस मनाइयो ।
होबार्टको सबैभन्दा ठूलो पहाड माउण्ट वेलिङ्गटन चढेर सगरमाथा आरोहणको सन्देश दिने पूर्वयोजना भएपनि विभिन्न कारणबस पुरा हुन नसकेको तर स्थानीयहरु मिलेर होबार्टको बोटानिकल गार्डेनका साना साना पहाड चढेर पहिलोपटक सगरमाथा आरोहणको सम्झना गरिएको तास्मानियाकी फेन्का कोओर्डिनेटर पुनम पन्तले जानकारी दिइन ।
करिब २०, २५ जनाको संख्यामा सहभागीहरुले पहाड चढिसकेपछि बारबिक्यूको पनि आयोजना गरेका थिए ।
न्यू साउथ वेल्स
फेन्का र फेन्का अन्तर्गतका संस्थाहरुको संयुक्त आयोजनामा न्यू साउथ वेल्स राज्यको सिड्नीस्थित हेन्लि मरिन ड्राइभमा करिब १५० जनाको संख्याको उपस्थितीमा नेपालको झण्डा बोकेर ५ किलो मिटर र्यालीको आयोजना गरिएको फेन्काका महासचिव मधु पुडासैनीले जानकारी दिए ।

५ किमी र्यालीपछि एउटा औपचारिक कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रका अगुवाहरुले सगरमाथा नेपालको पहिचान भएको स्मरण गराउँदै नेपालको पर्यटनको विकासमा यो कार्यक्रम महत्वपूर्ण भएको बताएका थिए ।
औपचारिक कार्यक्रमपछि उपस्थितहरुले बारबिक्यूको आयोजना गरेका थिए ।
अस्ट्रेलियन क्यापिटल टेरिटोरी
फेन्का र स्थानीय नेपाली समुदाय मिलेर नेशनल अर्बोटेरम क्यानबेराको एउटा हिमालयन साइटबाट फेन्का अंकित टिसर्ट लगाएर करिब ५० जनाको उपस्थितीमा नेपाल र अस्टे्रलियाको झण्डा बोकेर तीन किलोमिटर वाक गरिएको फेन्काका क्यानबेरा कोओर्डिनेटर सुरज पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा सगरमाथाको तीन पटकसम्म सफल आरोहण गरेका अस्टे्रलियन नागरिक ज्याक र ८ हजार मिटर सम्मको हिमाल चढेका र एकपटक सगरमाथाको असफल आरोहण गरेका पिटरले सगरमाथा आरोहण गर्दाको मिठो अनुभव सुनाएका थिए ।
औपचारिक कार्यक्रमको अन्त्यपछि उपस्थिती जनसमुदायले बारबाक्यिूको पनि आयोजना गरेका थिए जसमा सगरमाथा संरक्षणबारे अनौपचारिक अन्तरक्रिया पनि भएको थियो ।
वेस्टर्न अस्ट्रेलिया
सगरमाथा दिवसको अवसरमा वेस्टर्न अस्ट्रेलियामा अवस्थित किंग्स पार्कमा अवस्थित ज्याक अफ ल्याडरमा करिब ५० जनाको उपस्थितीमा १ घण्टा पैदल यात्रा गरिएको वेस्टर्न अस्ट्रे्लियाका फेन्का कोओर्डिनेटर हरिप्रसाद अधिकारीले जानकारी दिए ।

संयोगबस उक्त कार्यक्रममा पनि सन् २०११ मा सगरमाथा आरोहण गरेका एक जना व्यक्तिले सगरमाथा आरोहण गर्दाको अनुभव सुनाएका थिए ।
त्यस्तै जलवायु परिवर्तनसम्बन्धी अध्ययन गरेका कटन युनिभर्सिटीका अध्येताले जलवायु परविर्तनले सगरमाथामा परेको नकारात्मक असरबारे सजग गराएका थिए ।
क्विन्स्ल्याण्ड
त्यस्तै, क्विन्स्ल्याण्ड राज्यस्थित ब्रिसबेन र गोल्डकोस्टमा पनि कार्यक्रमको आयोजना गरी सगरमाथा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरियो ।
ब्रिसबेनमा अवस्थित करिब ५० जनाको उपस्थितीमा माउण्ट कुट था मा करिब डेढ घण्टा लगाएर हाइकिंग गरिएको क्विन्स्ल्याण्डका फेन्काका कोओर्डिनेटर राजन कोइरालाले जानकारी दिए ।

उक्त कार्यक्रममा विभिन्न वातावरण विद, पर्यटन सम्बन्धी अगुवाहरुले जलवायु परिवर्तनले वातावरणमा परेका असरबारे प्रकाश पारेका थिए ।
भिक्टोरिया
भिक्टोरिया राज्यमा पनि विभिन्न कार्यक्रमका साथ सगरमाथा दिवसको आयोजना गरियो । विभिन्न नेपाली संघसंस्थाबाट र स्थानीय नेपाली समुदायबाट करिब १०० जनाको उपस्थितीमा मेल्बर्नमा अवस्थित अल्वर्ट पार्कको वाकिङ्ग ट्रयाकमा करिब ५ किलोमिटर पैदल यात्रा गरी सगरमाथा दिवसको आयोजना गरिएको थियो ।
त्यसैगरी करिब ६० जना वतावरणसम्बन्धी जानकारी व्यक्तित्वहरु र भिक्टोरियाका वातावरण मन्त्री लिली डि एम्ब्रोसियोसँग मे २९ का दिन जुम मिटिङ्गको आयोजना गरिएको थियो । जसमा फेन्काको उद्देश्य तथा कार्यक्षेत्र, सगरमाथा दिवस र वातावरण तथा जलवायु सम्बन्धी व्यक्तित्वहरुले आआफ्नो धारणा राखेका थिए ।

साथै अस्ट्रेलियामा जन्मेका र हुर्केका नेपाली पुस्तालाई सगरमाथाबारे जानकारी दिने उद्देश्यले भिक्टोरियामा जन्मिएका नयाँ पुस्ताबीच सगरमाथाबारे हाजिरी जवाफ कार्यक्रमको समेत आयोजना गरिएको फेन्का उपाध्यक्ष बम योञ्जनले जानकारी दिए ।
साउथ अस्ट्रेलिया
साउथ अस्ट्रेलियामा अवस्थित मोरियल्ता पार्कमा स्थानीय नेपाली समुदाय फेन्का अन्तर्गतका संसंस्थाहरुबाट सहभागीहरुले करिब ५ किमीको यात्रा पैदलयात्रा गरी सगरमाथा दिवस मनाइएको थियो । जसमा करिब १०० जनाको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रममा फेन्काले सगरमाथा दिवस मनाउनुको उद्देश्य र भविष्यमा सगरमाथाको प्रचार र सगरमाथाको पर्यावरण संरक्षणमा आम जनताले खेल्ने भूमिकाका विषयमा छलफल र अन्तरक्रिया भएको उक्त कार्यक्रमका कोओर्डिनेटर कपिल पाण्डेले जानकारी दिए ।
त्यस्तै नर्दन टेरिटोरीमा के कसरी कार्यक्रमको आयोजना गरियो भन्ने विषयमा भने कसैसँग सम्पर्क हुन सकेन ।
