मेलबर्न — मेलबर्नको उत्तरी उपनगर वोलर्टस्थित इक्वेस्ट्रिया बुलेभार्डमा ठूलो परिमाणमा अवैध रूपमा फोहोर फालिएको दृश्य सार्वजनिक भएपछि स्थानीयले सरकारी निकायसँग तत्काल कारबाहीको माग गरेका छन्।
‘टिप टप रबिस रिमुभल्स’का केन एन्ड्रुवार्दाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको दृश्यमा सडकको लामो भागभरि घरेलु सामान, निर्माण सामग्री र अन्य फोहोर थुपारिएको देखिन्छ। उक्त दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
करिब १५ वर्षदेखि फोहोर व्यवस्थापन व्यवसाय सञ्चालन गर्दै आएका एन्ड्रुवार्दाले पछिल्लो पाँच वर्षमा मेलबर्नका नयाँ तथा तीव्र गतिमा विस्तार भइरहेका बाहिरी उपनगरमा अवैध रूपमा फोहोर फाल्ने समस्या बढेको बताए। उनका अनुसार मेल्टन, विन्डम, टार्निट र ट्रुगानिनालगायत क्षेत्रका ग्रामीण तथा भित्री सडक पनि यसबाट प्रभावित छन्।
उनले फोहोर व्यवस्थापन शुल्क महँगो हुनु समस्याको एउटा कारण भएको उल्लेख गर्दै अस्ट्रेलियामा बसोबास गर्ने सबै समुदायलाई फोहोर व्यवस्थापनसम्बन्धी नियम र जिम्मेवारीबारे जानकारी गराउन सरकारी जनचेतना अभियान आवश्यक रहेको बताए।
यसअघि सार्वजनिक तथ्याङ्कमा अस्ट्रेलियाभर अभिलेख भएका अवैध फोहोरसम्बन्धी उजुरीमध्ये करिब आधा भिक्टोरियाबाट आएको जनाइएको थियो। टार्निट र क्लेटन साउथसहित मेलबर्नका बाहिरी उपनगरमा पनि यस्तै घटना सार्वजनिक भएका छन्।
स्थानीयले नियमित अनुगमन, निगरानी क्यामेरा, सहज तथा सुलभ फोहोर व्यवस्थापन सेवा र नियम उल्लङ्घन गर्नेमाथि कडा कारबाहीको माग गरेका छन्।