छत्र शंकर । सन् २०२२-२३ माइग्रेसन कार्यक्रम अन्तर्गत वेस्टर्न अस्ट्रेलियाले दक्ष आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरुबाट आवेदन लिने घोषणा गरेको छ । साथै ग्र्याजुएट स्ट्रिममा उपलब्ध पेसाहरूको सङ्ख्या पनि बढाएको छ ।
हालसालै घोषणा भए अनुसार वेस्टर्न अस्ट्रेलिया सरकारले स्टेट नोमिनेसनका लागि आवेदन दिन आह्वान गरेको छ । तर यो र्याङ्किङ प्रणाली मार्फत हुनेछ जसमा सबैभन्दा बढी प्राथमिकता हाल राज्यमा बसोबास गर्ने आवेदकहरूलाई, त्यसपछि अस्ट्रेलियामा बस्ने र त्यसपछि विदेशमा बस्नेहरूलाई दिइने छ ।
यस कार्यक्रमले आवेदकहरूलाई ३ सय भन्दा बढी पेसाहरू उपलब्ध हुने गरी ग्र्याजुएट स्ट्रिम अन्तर्गत विस्तारित, थप फराकिलो, ग्र्याजुएट पेसा सूचीमा पहुँच पुर्याउने अवसर पनि प्रदान गर्नेछ ।
वेस्टर्न अस्ट्रेलिया सरकारकाे नयाँ योजनाले दक्ष आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने जनाएको छ ।
ग्र्याजुएट अकुपेशन लिस्टमा १ सय ९४ पेसाहरू थप गरिएका छन् र उक्त सूचीमा ३ सय ३१ पेसा पुर्याइएको छ । विस्तारित पेसा सूची २०२२-२३ मा उपलब्ध हुनेछ ।
दक्ष आप्रवासनले योजनाले वेस्टर्न अस्ट्रेलियामा स्नातक गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्थायी बसोबासको लागि आवेदन दिने विकल्प पनि प्रदान गर्नेछ ।
राज्यको शिक्षा तथा प्रशिक्षण मन्त्री सुए इलेरीले वेस्टर्न अस्ट्रेलियाको दक्ष जनशक्तिको आवश्यकता पुरा गर्न राज्यको बलियो आर्थिक वृद्धि समर्थन गर्न राज्य सरकारको प्राथमिकता रहेको बताइन् ।
स्टेट नोमिनेसनका लागि सब क्लास १९० भिसा, सब क्लास ४९१ भिसा र सब क्लास ४९४ भिसा उपलब्ध रहेका छन् ।