प्रतीक सिग्देल । यही आइतबार साँझ पर्दा इभेन्ट्सको व्यवस्थापनमा एनआरएनए अन्तर्गत नारी निकुञ्जको तास्मानिया शाखाले अस्ट्रेलियाको टापु भनेर चिनिने तास्मानियाको लञ्चेस्टनमा एउटा तीजको कार्यक्रमको आयोजना गर्यो ।
दर्शकको उपस्थिति र कार्यक्रमले उद्देश्य प्राप्तिमा पाएको सफलताका हिसाबले उक्त कार्यक्रम लञ्चेस्टनको इतिहासमै अहिलेसम्मको सफल र भव्य कार्यक्रम भएको आयोजकले जनाएको छ । कार्यक्रम सफल पार्न आयोजकले खेलेको भूमिका प्रशंसायोग्य थियो ।
उक्त कार्यक्रममा करिब ४ सय ५० जनाको उपस्थिति थियो, यत्तिका धेरै मान्छे अहिलेसम्म लञ्चेस्टनमा आयोजना गरिएका कुनै कार्यक्रममा सहभागी भएका थिएनन् । त्यस हिसाबले यो कार्यक्रम एकदम सफल, भव्य र सानदार हुन पुग्यो । उक्त कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरू प्रकाश सपूत, प्रीति आले र करिष्मा ढकालको विशेष प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरूले पनि आआफ्नो प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । आयोजकका अनुसार नेपालका ग्रामीण भेगका गरिब महिलाहरूको आङ खस्ने समस्याका समाधानको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम थियो त्यो । नारी निकुञ्ज तास्मानियाकी अध्यक्ष प्रणिता राई पन्तका अनुसार अन्य राज्यहरूमा आयोजित तीजको कार्यक्रमहरुबाट उठेको रकम एकैपटक नेपालमा आङ खस्ने समस्याबाट पीडित महिलाहरूको लागि पठाइनेछ ।
‘तीज हाम्रो चाड हो, सँस्कृति हो, यो चाड मनाउँदा नेपालका पीडित महिलाहरूलाई सहयोग होस भन्ने चाहेर हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ,’ उनले भनिन् । तर, उक्त कार्यक्रममा भने एउटा अनौठो दृश्य देखियो । कार्यक्रमको बिचमा सारी र ब्लाउज लगायत विभिन्न पोशाकमा सजिएका युवतीहरु स्टेजमा एकाएक र्याम्प वाकमा निस्किए, पृष्ठभूमिमा हिन्दी गीत बजिरहेको थियो ।
झट्ट हेर्दा पश्चिमा सँस्कृति झल्काउने ‘फेसन सो’ जस्तो लाग्ने त्यो दृश्य पश्चात् उपस्थित केही दर्शकहरुको मुखबाट एक दुईवटा वाक्य निस्किएको यो पंक्तिकारले सुन्यो, ‘तीजले कोल्टे फेरेछ, तीज धेरै एडभान्स भएछ ।’
यही प्रसंगमा आफ्ना सन्तानले बोलाएर लञ्चेस्टन घुम्न आउनुभएकी एक आमाको प्रतिक्रिया यो पंक्तिकारले बुझ्न खोज्दा उहाँले मुख बिगारेर भन्नुभयो, “हाम्रो पालाको तीज र अहिलेको तीजमा धेरै भिन्नता पाएँ, अहिलेको त्यति चित्त बुझेन ।” तर, भर्खरका युवा युवतीहरु तथा आफ्ना अभिभावकसँग तीजको कार्यक्रम हेर्न आएका साना बाबु नानीहरुले भने उक्त ‘वाक’लाई समर्थन जनाइरहेका देखिन्थे ।
अस्ट्रेलियाको समाजमा नेपालीहरूको तीन पुस्ता छ भन्दा अत्युक्ति नहोला । एक, अभिभावक भिसामा आएका वृद्ध वुबा आमाहरुको पुस्ता दुई, विद्यार्थी भिसामा रहेकाहरुको र केही पहिला आएर ‘सेटल’ भएर बसेकाहरुको पुस्ता र तीन, यहाँ हुर्कर्दै गरेका साना बाबुनानीहरुको पुस्ता ।
अवश्य पनि यहाँ हुर्कदै गरेको पछिल्लो पुस्ता धेरै मात्रामा नेपाली समाजको भन्दा यहाँको संस्कार, रहनसहनमा रमाउँछ । नेपाललाई बुझ्ने र नेपालको सँस्कृति अवलम्बन गर्ने विषयमा अभिभावक भिसामा रहनेहरुको पुस्ता र यहाँ हुर्कदै गरेका बच्चाहरुको पुस्तामा आकाश पातालको भिन्नता छ । यो हामीले देखे भोगेकै कुरा हो । विदेशी भूमिमा चाडबाड कसरी मनाउने र नेपालको मौलिक सँस्कृतिलाई कसरी यहाँ हुँर्कदै गरेका हाम्रा पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने विषयमा समाज विभाजित छ । नेपाली मौलिकता झल्कने सँस्कृति हुवहु अनुसरण गर्ने कि पछिल्लो पुस्तालाई समेत समेट्दै सँस्कार र सँस्कृतिलाई परिवर्तन गर्दै जाने भन्ने बारेमा विभिन्न धारणाहरु सार्वजनिक हुने गरेका छन् ।
यो पंक्तिकारले यही विषयमा बहस उत्पन्न गर्न आवश्यक ठानेर तास्मानियामा रहेका विभिन्न सामाजिक व्यक्तित्वहरुसँग छलफल गर्यो । यही वहसलाई मध्यनजर गर्दै पंक्तिकारले होबार्टकी सामाजिक अभियन्ता पुनम पन्तसँग केही जिज्ञासा राख्यो । तीज मनाउँदा मौलिकता जोगाउने कि परिवर्तन गर्दै लाने भन्ने पंक्तिकारको प्रश्नमा उनले फ्याट्ट सजिलो जवाफ दिइन, परिवर्तनसहितको मौलिकता ।
‘मौलिकता जोगाउने नाममा हामी संकीर्ण हुनु हुँदैन, उही पुरानो कुरामा अल्झिएर समाज परिवर्तन हुँदैन, समयको मागअनुसार चल्न सक्नु पर्छ,’ उनको धारणा थियो ।
‘सँस्कृति जोगाउने हो, तर साना कुरामा अल्झिएर हैन । हामीले चाडबाड मनाउँदा यहाँ हुर्कदै गरेको पुस्ताको माग र उनीहरू केमा कम्फर्टेबल हुन्छन् त्यसलाई पनि सम्बोधन गर्ने गरी मनाउनुपर्छ, चाहे त्यो चाडबाडको परिस्कृत रूप मार्फत नै किन नहोस्,’ उनको कथन थियो । तर पन्तको धारणा विपरीत, उक्त कार्यक्रममा गरिएको युवतीहरुको र्याम्प वाकप्रति लञ्चेस्टनकै एक जना सामाजिक अभियन्ताले भने गहिरो असहमति जनाए । त्यसो त पापाकी परी नामक गीतमा करिष्मा ढकालले पेटीकोट लगाएर नाचेको दृश्यले सामाजिक प्रतिष्ठामा खलल पुर्याउने भन्दै युट्युबबाट त्यो सिन हटाइएको धेरै भएको छैन । त्यति मात्र होइन, अहिले सामाजिक सञ्जालमा भाइरल नेपाली नायिका एलिजा गौतमको ‘युनिक डान्स स्टेप’ले पनि समाजमा विभिन्न वहसहरु उत्पन्न गरेको छ । हुन त तीजको कार्यक्रममा हिन्दी गीतमा र्याम्प वाक गर्नुनै विकृति हो भन्न मिल्दैन, तर आगामी दिनमा परिवर्तनको नाममा सामान्य लाग्ने यस्ता कुरामा बढी जोड दिँदा कतै आगामी पुस्ताले तीजको मर्म र औचित्यलाई बिँर्सदै अराजकतालाई अँगाल्ने स्थिति आउने पो हो कि भन्नेतिर हामी सबैले सोच्नुपर्छ । यो रचनाको उद्देश्य यो भन्दा अरू केही होइन ।
– २४ अगस्ट, २०२२ मा सम्पादित
नेपाल आइजका सम्पादक प्रतीक सिग्देल विगत १५ वर्षदेखि पत्रकारितामा सँलग्न छन् ।