Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
तास्मानियाका डा. सन्तोष अधिकारीलाई पीपल्स च्वाइस अवार्ड !
नेपालआईज
२१ असोज २०८२ १०:०८
होबार्ट / प्रतिष्ठित कम्युनिटी एचिभमेन्ट अवार्ड २०२५ मा तस्मानियाका डा. सन्तोष अधिकारीले पीपल्स च्वाइस अवार्ड जित्दै बहुसांस्कृतिक समुदायप्रति आफ्नो योगदानको उच्च प्रशंसा प्राप्त गरेका छन्। यो पुरस्कार अवार्ड्स अष्ट्रेलिया द्वारा प्रदान गरिएको हो।
डा. अधिकारी यस वर्षको ब्लुलाइन इम्पावरमेन्ट थ्रु डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड अन्तर्गत पनि फाइनलिस्ट बनेका थिए। यो फाइनलिस्ट स्थानले विविधता र समावेशप्रतिको उनको दीर्घकालीन प्रतिबद्धता र योगदानलाई झल्काउँछ।
डा. सन्तोष अधिकारीले भने, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, तस्मानियामा रहेका सम्पूर्ण बहुसांस्कृतिक समुदायहरूको साझा पहिचान र सहकार्यको प्रतीक हो। सामाजिक एकता, सहानुभूति र समावेशका मूल्यहरूलाई व्यवहारमा उतार्न सक्नु नै मेरो लागि सबैभन्दा ठूलो सफलता हो।”
डा. अधिकारी लामो समयदेखि तस्मानियाका विभिन्न समुदायबीच सामाजिक समावेश, आवाज सशक्तीकरण र सहयोगात्मक कार्यमा संलग्न छन्। उनले समुदाय परामर्श, वकालत र अनुसन्धानमार्फत तस्मानियाको बहुसांस्कृतिक समुदायको हितमा निरन्तर योगदान दिँदै आएका छन्।
उनी नेपाली सोसाइटी अफ नर्दन तस्मानिया का संस्थापक अध्यक्ष हुन्। उनको नेतृत्वकालमा उक्त संस्थाले स्थानीय, राज्य र संघीय सरकारबाट थुप्रै परियोजना अनुदानहरू प्राप्त गरेको थियो। साथै, उनले पछिल्ला कार्यसमितिहरूलाई निरन्तर मार्गदर्शन र सहयोग गर्दै समाजलाई सुदृढ बनाउँदै आएका छन्।
हाल डा. अधिकारी थ्राइभिङ टुगेदर नामक परियोजनामार्फत सामुदायिक परामर्श, क्षमता विकास र डिजिटल साक्षरताको माध्यमबाट तस्मानियामा सामाजिक एकता सुदृढीकरणमा कार्यरत छन्। सो परियोजना तस्मानियामा भ्रमणमा आएका नेपाली अभिभावक तथा परिवारका सदस्यहरूबीच अन्तर–पीढी सम्बन्ध सुदृढीकरणमा पनि केन्द्रित छ।
तास्मानियाको लनचेस्टन निवासी डा. अधिकारीले पछिल्ला दुई दशकमा ताज्मानियामा नेपाली आप्रवासी समुदायको तीव्र वृद्धि भएसँगै, त्यहाँको सामाजिक संरचना, नेतृत्व क्षमता र एकताबारे अध्ययन गर्न विशेष अनुसन्धान गरेका थिए ।
हाल ताज्मानियामा करिब ८ हजा। नेपालीहरू स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका छन्, जसले नेपालीहरूलाई तेस्रो ठूलो आप्रवासी समुदायको रूपमा उभ्याएको छ। अष्ट्रेलियाको आप्रवासी विविधताभित्र नेपाली समुदाय शीर्ष १० आप्रवासी मुलुकहरूमध्ये एक बनेको अधिकारी बताउदछन् ।
सन् २०१७ पछिदेखि ताज्मानियामा नेपालीहरूको आगमन उल्लेखनीय रूपमा बढेको भए पनि स्थायी बसोबास (PR) प्राप्त गरेपछि अन्य राज्यतर्फ सर्ने प्रवृत्ति देखिएको छ। उनले ताज्मानियामा नेपाली समुदायको दीर्घकालीन स्थायित्व, सामाजिक एकता र नेतृत्व क्षमताको विश्लेषण गर्न अनुशन्धान गरेका थिए ।