Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियनहरुलाई समेत लोभ्याउने पर्थको नेपाल महोत्सव
नेपालआईज
१२ मंसिर २०७९ २०:२८
छत्र शंकर
नेपाल फेस्टिभल पर्थ शनिवार हजारौँ नेपाली तथा स्थानीयको सहभागितामा सम्पन्न भएको छ । नेपालको ठमेल भने जस्तै पर्थको मुख्य पर्यटकीय स्थल सहरको भित्र भागमा रहेको फरेस्ट चेजमा हजारौँको सहभागिता सम्पन्न महोत्सव अस्ट्रेलियाका अन्य राज्यमा भन्दा उद्देश्यमूलक देखिन्थ्यो ।
नेपाल महोत्सव गरेर अस्ट्रेलियामा नेपाली कला संस्कृतिको जगेर्ना गर्नु र नेपाल बारे अस्ट्रेलियनलाई जानकारी गराउँदै नेपालको पर्यटन प्रवर्द्धनमा पर्थको नेपाल महोत्सव अहिले सम्मकै सफल देखिन्थ्यो ।
महोत्सव स्थलमा राखिएको गोर्खा हाउस र नमुना सगरमाथाले स्थानीय अस्ट्रेलियनहरूलाई आकर्षण गराएको थियो । उनीहरूले गोर्खा हाउसमा नेपाली गोर्खाको बारेमा जानकारी लिइरहेका थिए भने नमुना सगरमाथामा फोटो खिच्ने अस्ट्रेलियनहरू पनि देखिन्थे ।
कल्चरल परेडले पर्थ सिटीको मुख्य भाग परिक्रमा गरिरहर्दा स्थानीय अस्ट्रेलियनहरू सडक आसपासबाट उत्साहजनक रूपमा भिडियो तथा फोटो खिचिरहेका थिए । नेपाल भ्रमण गरिसकेका पर्थवासी अस्ट्रेलियनहरू पनि महोत्सवमा बिहान सबेरदेखि राति अबेर सम्म सम्म सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिइरहेका थिए ।
कार्यक्रम स्थलमा राखिएको नेपाली फुडस्टलहरु नेपाली खानाको स्वाद लिने अस्ट्रेलियनहरूको भिड त्यतिकै देखिन्थ्यो । मध्यदिन पाका अस्ट्रेलियनहरूको बाक्लो उपस्थिति देखिन्थ्यो भने साँझपख कन्सर्ट सुरुभएपछि युवायुवतीहरूले कन्सर्टको मज्जा लिइरहेको देखिन्थ्यो ।
फरेस्ट चेजको सभा स्थलमा कार्यक्रममा भइरहँदा आसपासमा रहेका पसलहरूमा समेत नेपाली कला संस्कृतिको प्रचार प्रसार भएको थियो । ठुला सपिङ सेन्टरमा नेपाली पोसाक लगाए भित्र छिर्दा त्यहाँका कर्मचारीहरूले चासोका साथ नेपाल बारेमा जानकारी लिए ।
महोत्सवमा प्रिमियम प्रतिनिधित्व गर्दै डेपुटी प्रिमियर देखि स्थानीय सरकारका उच्च पदाधारीहरु, सांसद, बहु भाषी समुदायका अगुवा, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथ वेल्सका राज्य संयोजक, नारी निकुञ्जका संयोजक, नेपाली संघसस्थाका प्रतिनिधिहरू अतिथि रहनुहुने छ भने महामहिम राजदूत कैलाशराज पोखरेल महोत्सवको प्रमुख अतिथि थिए । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगितिक प्रस्तुति दिएका थिए ।
नेपाल महोत्सव पर्थ मार्फत नेपालको पर्यटनलाई अस्ट्रेलियामा प्रमोसन गर्नका लागि हामीले एउटा आकर्षक योजनाका साथ कार्यक्रम गरीकोले महोत्सव सफल भएको एनआरएनए वेस्टर्न अस्ट्रेलियाका संयोजक दीपक बस्नेतले बताए । उनले थपे, ‘महोत्सवपछि पर्थबाट धेरैभन्दा धेरै अस्ट्रेलियनहरू नेपाल भ्रमण गर्न सक्ने अपेक्षा गरेका छौँ।’ एनआरएन डब्लुएका युवा उपसंयोजक उत्तम न्यौपानेले नेपाल महोत्सव पर्थले यहाँ जन्मेका नयाँ पुस्तालाई नेपालबारे बुझ्ने मौका मिलेको बताए ।
अव अस्ट्रेलियाका एडिलेड, डार्विन र क्यानबेरामा मात्र नेपाल महोत्सव गर्न बाँकी छ भने यस अघि तास्मानिया, सिड्नी र ब्रिस्बेनमा नेपाल महोत्सव सम्पन्न भइसकेका छन् ।