बेलायत । तलब वृद्धिको माग गर्दै बेलायतमा सरकारविरुद्ध बृहत् विरोध प्रदर्शन भएको छ । बुधबार पाँच लाखभन्दा बढी मानिस सहभागी रहेको यो प्रदर्शनलाई बेलायतमा अहिलेसम्मकै ठूलो प्रदर्शनको रूपमा हेरिएको छ ।
प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारको विरोधमा लण्डनमा भएको प्रदर्शनमा सहभागीहरूले तलब वृद्धि हुनुपर्ने मुख्य माग राखेका छन् । प्रदर्शनमा अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी थिए ।
उनीहरूले मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् । प्रदर्शनमा करिब ३ लाख शिक्षक मात्र सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण बढेको मुद्रास्फितिले जीवनशैली मुस्किल बनाएको पनि प्रदर्शनकारीले गुनासो गरेका छन् ।
प्रदर्शनअघि बेलायती सरकारले अराजकता निम्तने गरी प्रदर्शन नगर्न चेतावनी दिएको थियो ।