टर्की । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी कम्तिमा १५ सय जनाको मृत्युभएको छ । आज टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
टर्कीमा मात्र कम्तिमा ९१२ जनाको मृत्यु भएको छ भने ५ हजार ३८५ जना घाइते भएका छन् । छिमेकी सिरियामा कम्तिमा ५९२ जनाको मृत्यु भएको छ ।
भूकम्पको केन्द्रविन्दु टर्कीको गाजियन्टेप प्रान्तको नुरदागी रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । यूएसजीएसका अनुसार करिब नौ घण्टापछि टर्कीमा ७.५ म्याग्निच्युडको ठूलो परकम्प गएको थियो ।
भूकम्प प्रभावित क्षेत्रका थुप्रै संरचनाहरूमा क्षति पुगेको समाचारहरू आइरहेका छन् । भूकम्पको धक्का लेवनान, इजरायल, साइप्रसलगायतका छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको थियो ।
यसैबीच, इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले भूकम्पपछि हुन सक्ने पराकम्पको सम्भावनालाई मध्यनजर गर्दै सतर्क एवं सुरक्षित रहन नेपालीहरूलाई आग्रह गरेका छन् ।
साथै, बारबारा नामक आँधीले इजरायलमा ठूलो हावाहुरीसहित असिना पानी तथा केही क्षेत्रमा हिमपात गराएको छ । १०० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको आँधीबाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन र कुनै अप्ठ्यारो वा असुविधा भएमा दूतावासमा सम्पर्क गर्न समेत राजदूत अर्यालले अपिल गरेका छन् ।