छत्र शंकर (मेलबर्न) । बिहीबार साँझदेखि मेलबर्नको ब्रन्सविक क्षेत्रबाट हराएकी नेपाली आमा परिवारको सम्पर्कमा आउनुभएको छ । करिब २६ घण्टापछि घरबाट ३५ किलोमिटर पर कलिङ्बुड भन्ने क्षेत्रमा उहाँ शुक्रवार साँझ फेला पर्नुभएको हो ।
उक्त क्षेत्रको कलेज एरियामा बसिरहेकी आमालाई नेपाली भाइबहिनीहरूले फेला पारेको पारिवारिक स्रोतले जनाएको छ । सरस्वती शुक्रबार साँझ करिब ९:३० फेला पर्नुभएको हो । हाल परिवारसँगै रहेकी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको परिवारले जानकारी दिएको छ । नवलपरासी घर भएकी आमा तीन महिनाअघि छोराछोरीलाई भेट्न मेलबर्न आउनुभएको थियो ।
उहाँको खोजीका लागि परिवारले स्थानीय समुदाय र प्रहरीको सहयोग मागेको थियो । स्थानीय प्रहरी, एनआरएनए भिक्टोरिया राज्य समिति तथा भिक्टोरियाको नेपाली समाजले विभिन्न माध्यमबाट खोजी कार्य तीव्र पारेपछि आमा हराएको २६ घण्टापछि सकुशल फेला पर्नुभएको हो ।