अष्ट्रेलिया । अस्ट्रेलियामा नेपालकी अरुणा सिंहले चार अर्थात् चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संघर्ष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश चम्ल्याहा सन्तानलाई स्वागत गरेका हुन् ।
अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दम्पतीले गत वर्षको अक्टोबर २१ मा आफ्ना चम्ल्याहा सन्तानलाई स्वागत गरे । यस्तो अवसर ७ लाखमध्ये एक जनालाई मात्र प्राप्त हुन्छ ।
निर्धारित मितिभन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ । ५९३ ग्राम तौल भएको आर्ची, १०५० ग्राम तौल भएको एडी, ११८५ ग्राम तौल भएको लुइस र ८०५ ग्राम तौल भएको अन्नालाई गर्वका साथ बाबुआमाले स्वागत गरे ।
उनीहरूले चम्ल्याहा रहेको थाहा पाएपछि सबैभन्दा बढी अचम्मित भए । “सुरुमा उनीहरूले तीन जना भनेका थिए, त्यसपछि हामी छक्क पर्यौं। पछि उनीहरूले चार भने र हामीले वाह भन्यौं !,” योगेशले भने। यो उच्च जोखिमको गर्भावस्था भएको कारण अरुणालाई जन्म दिनसम्म अस्पतालको बेडरेस्टमा राखिएको थियो ।
दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा चार वर्षमा जन्मिने उनीहरू पहिलो चम्ल्याहा थिए। उनीहरूले काठमाडाैँको नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएका थिए । उनीहरू सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए ।
उनीहरूले नर्भिक आईभीएफमा उपचार सुरु गरे । चिकित्सकीय सहायक प्रजनन् प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आईभीएफकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श लिएकी थिएन् ।
त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि अरुणा दम्पत्तिले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अष्ट्रेलिया गएका थिए ।