पर्थ / विश्वभरका अंग प्रत्यारोपण गरेका मानिसहरूबीच अस्ट्रेलियाको पर्थमा हुने खेलकुदमा अन्तर्राष्ट्रिय कराते खेलाडी ध्रुवविक्रम मल्लले सहभागिता जनाउने भएका छन् ।
विश्वभरका अंग प्रत्यारोपण गरेका मानिसहरूबीच पर्थमा अप्रिल १५ देखि २१ तारिखसम्म वर्ल्ड ट्रान्सपलान्ट गेम्स आयोजना हुँदैछ ।
मल्लले दुबै मृगौला बिग्रिएपछि प्रत्यारोपण गरेको २४ वर्ष पुग्न लागेको छ र उनले प्रत्यारोपणपछि विश्व प्रतिस्पर्धामा कैयौ स्वर्ण पदक जितेका छन् ।
मल्ल विश्व कराते महासंघ अन्तर्गत एसियन कराते महासंघको एक्रिकेशन कोच लाइसेन्स, काताको जज लाइसेन्स र कुमितेको रेफ्री लाइसेन्स प्राप्त खेलाडी हुन् । मल्ल सितेरियो, वादोरियो, सोतोकान,गुजेरियो गरेर चार अफिसियल विधामा लाइसेन्स पाउने एक मात्र नेपाली खेलाडी हुन् ।
वर्ल्ड अर्गान ट्रान्सपलान्ट गेम्समा ५ किमी दौड, सिक्स-ए-साइड फुटबल, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, साइक्लिङ, डार्ट, गल्फ र लन बल्स समेटिएका छन् ।
नेपालबाट उक्त खेलमा चार पुरुष र एक महिला सहभागि हुँदैछन् ।