छत्र शंकर–
“छोरो-छोरीले अस्ट्रेलिया पढ्न जाने भए, ठूलो खुसीको कुरा हो!” भिसा लाग्दा अभिभावकहरूको खुसी साँच्चै नै अपूर्व हुन्छ। घरभित्र मिठाई बाँडिन्छ, छरछिमेकीलाई उत्साहित स्वरमा सुनाइन्छ– “अब हाम्रा सन्तानको भविष्य उज्ज्वल हुने भयो!” तर यो उत्साहपूर्ण क्षण धेरैका लागि भावनात्मक रूपमा अत्यन्त गह्रौँ पनि हुन्छ। जब अभिभावकहरूले छोराछोरीलाई बिदाइ गर्न एयरपोर्ट पुग्छन्, उनीहरू आँसु झार्दै भन्छन्, “सफल भएर फर्किनु, बाबु/नानी।”
विद्यार्थीहरू जहाज चढ्ने बित्तिकै नयाँ संसारमा पाइला टेक्ने उत्साहले डरलाई दबाउँछ। तर जब अस्ट्रेलियाको भूमिमा पाइला पर्छ, वास्तविकता क्रमशः उदाङ्गो हुन थाल्छ। महँगो बसोबास, दिनरातको व्यस्तता, पढाइ र कामको चाप, अनि मानसिक तनाव— यी सबै एकाएक जीवनमा हाबी हुन्छन्।
संघर्षको कथा
अस्ट्रेलिया आउनु भनेको “विद्यार्थी भिसा” मात्र होइन, एउटा कठिन यात्राको सुरुवात पनि हो। धेरै विद्यार्थी पहिलो केही महिना ‘सर्भाइभ’ गर्ने प्रयासमै व्यस्त रहन्छन्। मनग्गे पैसा लिएर आएका विद्यार्थीहरू केही सुरक्षित महसुस गर्छन्, तर मध्यम वा कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरू छिट्टै जीविकोपार्जनका लागि संघर्ष गर्न थाल्छन्।
धेरै विद्यार्थी आर्थिक अभावकै कारण कलेजको कक्षाभन्दा बढी समय काममा बिताउन बाध्य छन्। कामको चाप र थकानले पढाइमा ध्यान दिन गाह्रो पर्छ, जसका कारण धेरै विद्यार्थी या त फेल हुन्छन्, या त पढाइ छोड्न बाध्य हुन्छन्।
स्वास्थ्य र मानसिक समस्या
कामको तनाव, एक्लोपन, आर्थिक चाप, अनि घरपरिवारको सम्झनाले धेरै विद्यार्थी मानसिक समस्यामा पर्ने गरेका छन्। पर्याप्त निद्रा नपुग्दा शारीरिक स्वास्थ्य पनि कमजोर बन्दै जान्छ। कतिपय विद्यार्थी डिप्रेसन, एन्जाइटी जस्ता समस्याबाट ग्रस्त हुन्छन्, तर आफ्ना पीडा अभिभावकलाई भन्न सक्दैनन्, किनकि घरपरिवारलाई दुःखी बनाउने डर लाग्छ।
अनाहकमा ज्यान गुमाउँदै नेपाली विद्यार्थी
पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु दर बढ्दो छ। कोही दुर्घटनामा परेका छन्, कोही स्वास्थ्य समस्याका कारण अकालमै बितेका छन्। कोही भने मानसिक तनाव सहन नसकी मृत्युको बाटो रोज्न बाध्य भएका छन्।
“सन्तान अस्ट्रेलिया गयो” भनेर ढुक्क हुने मात्र होइन, उनीहरूको मानसिक स्वास्थ्य, पढाइ, र समग्र जीवनशैलीबारे पनि सचेत हुन आवश्यक छ।
अभिभावकका लागि केही सुझाव
✅ सानै उमेरमा विदेश नपठाऔं। नेपालमै परिपक्व भएपछि मात्र पठाउनु उचित हुन्छ।
✅ सन्तानको राम्रो काउन्सिलिङ गरौं। अस्ट्रेलिया सजिलो छैन, संघर्ष गर्न तयार हुनुपर्छ भनेर बुझाऔं।
✅ केवल कमाइको लागि मात्र विदेश नपठाऔं। भविष्य राम्रो बनाउन जाने हो भने मात्र पठाउनुहोस्।
✅ मानसिक स्वास्थ्यको ख्याल गरौं। विद्यार्थीहरूसँग नियमित सम्पर्कमा रहौं, उनीहरूको भावनात्मक समर्थन गरौं।
अस्ट्रेलिया वा कुनै पनि विदेशी भूमिमा जानु केवल एक अवसर मात्र होइन, एउटा चुनौती पनि हो। हाम्रा विद्यार्थीहरूले “उज्ज्वल भविष्य” को सपना देखेर गएका छन्, तर त्यो सपना पूरा गर्न संघर्ष गर्नु अपरिहार्य छ। सन्तानको सफल भविष्य मात्र होइन, सुरक्षित भविष्य पनि सुनिश्चित गर्न आवश्यक छ। विदेश पठाउने निर्णय “सफलता” का लागि मात्रै होइन, “सन्तानको भलाइ” का लागि होस्।
ताकि भविष्यमा कुनै पनि बाबुआमाले परदेशमा गुमाएका सन्तानको दुःखद खबर सुन्न नपरोस्।