बाबुराजा महर्जन, न्युजिल्याण्ड
अष्ट्रेलिया, भूगोलको एक विशाल टापु र सानो महादेशको रूपमा परिचित, नेपालको दौत्य सम्वन्ध ६५ वर्ष नाघेको छ। सन १९७० सम्म अष्ट्रेलियामा नेपाली जनसंख्या केवल १० जनासम्म सीमित थियो। तर अहिले, सन २०२१ को जनगणनामा नेपालीहरूको संख्या १ लाख २९ हजार ८७० पुगेको छ, र १३ डिसेम्बर २०२४ मा प्रकाशित तथ्यांकअनुसार यो संख्या १ लाख ९४ हजार ०३० पुगेको छ। यस तथ्यांकमा न्युजिल्याण्ड र अन्य मुलुकहरूको राहदानी लिएर अष्ट्रेलिया पुगेका नेपालीहरू समावेश छैनन्। अष्ट्रेलियाको गृह प्रशासनका अनुसार, अष्ट्रेलिया जाने २४९ मुलुकका नागरिकहरूमध्ये नेपाल चौथो स्थानमा रहेको छ।
सन २०२१ को आँकडाअनुसार, अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासी नेपालीहरूको संख्या २ प्रतिशत र अष्ट्रेलियाको कुल जनसंख्याको ०.६ प्रतिशत रहेको छ। केही वर्षअघि बेलायत तेस्रो स्थानमा रहँदै आएकोमा पछिल्ला वर्षहरूमा फिलिपिन्स तेस्रो स्थानमा पुगेको छ, भने नेपाल चौथो स्थानमा आएको छ।
अष्ट्रेलिया पुग्ने पहिलो नेपाली
दोस्रो विश्वयुद्धताका सन् १९४४ मा दक्षिणपूर्वी एसियामा तैनाथ बेलायती सेनाको गोर्खा दलको सदस्यको नाताले अष्ट्रेलिया आउने पहिलो नेपाली गोर्खा सैनिक थमन गुरुङ थिए। तर, अष्ट्रेलियामा बसोबास गर्ने पहिलो नेपाली आप्रवासी जुद्धबहादुर गुरुङलाई मानिन्छ। उनी १९६४ मा सिड्नी विश्वविद्यालयमा अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए र अध्ययनपछि आफ्नो परिवारसहित अष्ट्रेलियामा बस्न थाले।
अष्ट्रेलियाको अर्थतन्त्रमा नेपालीहरूको योगदान
अष्ट्रेलियाको सरकारी, अर्ध-सरकारी, गैर-सरकारी तथा निजी क्षेत्रहरूमा नेपालीहरूको ठूलो योगदान रहेको छ। यहाँका विश्वविद्यालयका प्रोफेसरदेखि अस्पतालका नर्स, अदालतका वकिलदेखि घर-जग्गा व्यवसायमा समेत नेपालीहरूको ठूलो संख्यामा सहभागिता छ।
सन २०२२-२०२३ को आर्थिक वर्षमा, मेडिकल क्षेत्रमा ११ जना नेपाली डाक्टर र २९२५ नेपाली नर्सहरूले आप्रवासी भिसा प्राप्त गरेका थिए। लेखापरीक्षण र त्यससँग सम्बन्धित पेशामा १२६५ नेपाली, क्याफे मेनेजर र होटल व्यवसायमा १०३१, आईटी र सफ्टवेयर क्षेत्रमा ३६७, र सिभिल इन्जिनियरिङ्ग क्षेत्रमा ८० जना नेपालीहरू समावेश थिए।
नेपालीहरूको तेश्रो गन्तव्य अष्ट्रेलिया
धेरै नेपालीहरूले संयुक्त राज्य अमेरिका र बेलायतमा बसोबास गर्ने वा भ्रमण गर्ने इच्छा राख्छन्। बेलायतमा नेपालीहरूको संख्या लगभग १ लाख १० हजार रहेको अनुमान गरिएको छ, भने अमेरिकामा नेपालीहरूको संख्या २ लाख २४ हजार रहेको छ। तर पछिल्ला वर्षहरूमा नेपालीहरूको प्रमुख भ्रमण गन्तव्य भनेको अष्ट्रेलिया भएको छ।
आँकडाले देखाउँछ कि २०१९-२० मा ५८ हजार ४६७ नेपालीहरूले अष्ट्रेलिया भ्रमण गरेका थिए भने २०२१-२२ मा ६१ हजार ८७२ र २०२२-२३ मा १ लाख २६ हजार ६४० नेपालीहरूले अष्ट्रेलिया भ्रमण गरेका छन्। यसले अष्ट्रेलियालाई नेपालको तेश्रो प्रमुख गन्तव्यको रूपमा प्रमाणित गर्दछ।
अष्ट्रेलिया र नेपाल बीचको सम्बन्ध भनेको एक दीर्घकालीन मित्रता र आप्रवासीको माध्यमबाट वृद्धि भएको विकासको उदाहरण हो। नेपालका नागरिक अष्ट्रेलियामा आफ्नो व्यवसायिक क्षमता र कार्यक्षमता मार्फत अष्ट्रेलियाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
यहाँ उल्लेख गरिएका विचार तथा तथ्यांक लेखकसँग सम्बन्धित छन्।