एनडीआईएसको पैसा गाडी, क्यासिनो र  क्रिप्टोमा  खर्च : नेपाली समुदायलाई पनि सचेत गरायो

नेपालआईज
१८ वैशाख २०८२ ०:३९

सिड्नी — अष्ट्रेलियाको एनडीआईएस (NDIS) योजनामा व्यापक दुरुपयोगको एक ठुलो घटना सार्वजनिक भएपछि यसले नेपाली समुदायलाई समेत गम्भीर सन्देश दिएको छ। अपांगता भएका व्यक्तिहरूको आवास निर्माणका नाममा उठाइएको करोडौं डलर कम्पनी मालिकले विलासितामा खर्च गरेका छन् — गाडी, क्यासिनो, क्रिप्टो, फिजीको रिसोर्ट र हस्ताक्षर गरिएका खेल सामाग्री किन्दै।

डेविड म्याकविलियम्स नामक व्यक्तिद्वारा सञ्चालित ALAMMC Developments नामक कम्पनीले एनडीआईएस लगानीकर्ताको पैसा त्यसरी दुरुपयोग गरेको छ। उनको घरबाट १ लाख १२ हजार डलर राखिएको सुटकेश भेटिएको थियो ।  अनुशन्धानका क्रमममा उनले त्यो पैसा क्यासिनोमा जितेर ल्याएको बताएका थिए ।   छानबिनले देखाएको यो घटना अष्ट्रेलियाको एनडीआईएस क्षेत्रमा अनियमितताको गहिरो चित्र हो, जसलाई छानबिनकर्ताहरूले “वाइल्ड वेस्ट” को संज्ञा दिएका छन्। सरकारले समयमै निगरानी नगरेकोले यस्ता ठगहरूले सजिलै मौका पाएका हुन् भन्ने आलोचना समेत भएको छ।

यो समाचार नेपाली समुदायका लागि पनि गम्भीर चेतावनी बनेको छ। हाल नेपाली समुदायमा “एनडीआईएसबाट राम्रो पैसा आउँछ” भन्ने कुरा बारम्बार सुनिन्छ। सिड्नीबाट मेलबर्न आएका एक जोडीले त भनेका थिए — “यहाँ त घरैपिच्छे एनडीआईएस छ रेनी!” यसरी धेरैले घरजग्गा व्यवसायमा मन्दी आएपछि एनडीआईएसमा हात हाल्न थालेका छन्। तर योजना र नियम नबुझी गरिएको प्रवेशले गम्भीर कानुनी संकट निम्त्याउन सक्छ।

एक विज्ञले केही हप्ता अघि एनडीआईएस सम्बन्धी कार्यक्रममै चेतावनी दिएका थिए — “बजारमा आएका ठूला लाभ दिने विज्ञापनको पछि नलाग्नुहोस्, यसले तपाईलाई जेलसम्म पुर्‍याउन सक्छ।”

एनडीआईएस व्यवसाय सामाजिक सेवा हो, केवल व्यापारिक अवसर होइन। यस योजनामा लाग्ने हो भने क्लाइन्टको आवश्यकतामा केन्द्रित भएर काम गर्नुपर्छ — नत्र गलत कदमले जीवनभरको पीडा निम्त्याउन सक्छ। यस घटनाले नेपाली समुदायलाई सही योजना, पारदर्शिता र इमानदारीको साथ एनडीआईएस क्षेत्रमा लाग्नुपर्ने सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर