जसले नेपाललाई न्यूजिल्याण्डमा चिनाए, उनले पाए राष्ट्रिय सम्मान!

जसले नेपाललाई न्यूजिल्याण्डमा चिनाए, उनले पाए राष्ट्रिय सम्मान!
नेपालआईज
१२ जेठ २०८२ ५:२७

 

अकल्याण्ड / न्यूजिल्याण्ड सरकारले नेपाली मूलका  वाणिज्यदूत दिनेश खड्कालाई देशको प्रतिष्ठित उपाधि “Member of the New Zealand Order of Merit (MNZM)” बाट सम्मानित गरेको छ।

गभर्नमेन्ट हाउस अकल्याण्डमा आयोजित विशेष कार्यक्रममा न्यूजिल्याण्डकी गभर्नर जनरल सिन्डी किरोले खड्कालाई औपचारिक रूपमा सम्मान प्रदान गरिन्।

सम्मान प्राप्त गरेपछि खड्काले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भने, “यो उपाधि केवल मेरो व्यक्तिगत उपलब्धि होइन, न्यूजिल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायप्रतिको सम्मान हो।”

उहाँले यो उपलब्धि सम्भव बनाउन सहयोग गर्ने सम्पूर्ण समुदायप्रति धन्यवाद दिँदै थपे, “हाम्रो साझा एकता, लक्ष्य र निरन्तर समर्थनबिना यो सम्भव हुने थिएन।”

खड्काले आफ्ना श्रीमती, सन्तान र आमाबुबाको बलिदान र साथप्रति कृतज्ञता व्यक्त गर्दै भने, “चुनौतीहरूको बीचमा पनि मेरो परिवार नै मेरो सबैभन्दा ठूलो प्रेरणा बन्यो।”

सम्मान कार्यक्रममा उपस्थित भएका मन्त्री सिमिओन ब्राउन र क्लोइ मास्टर्सलाई खड्काले विशेष धन्यवाद दिएका छन्। “तपाईंहरूको उपस्थितिले मलाई थप सम्मानित महसुस गरायो,” उनले उल्लेख गरे।

“यो राष्ट्रिय सम्मानले मलाई नेपाली र न्यूजिल्याण्ड समुदायको हितमा अझ बढी समर्पणका साथ काम गर्न प्रेरणा दिएको छ,” खड्काले प्रतिवद्धता जनाए।

सम्मानपत्रमा भनिएको छ, “हामीले तपाईंलाई न्यू जील्यान्ड अर्डर अफ मेरिटको साधारण सदस्य नियुक्त गर्ने निर्णय गरेका छौं र यस पदवीसँग जोडिएका सम्पूर्ण अधिकार तथा विशेषाधिकार तपाईंलाई प्रदान गर्दछौं।” यो निर्णय Chancellor of the New Zealand Order of Merit द्वारा हस्ताक्षरित पत्रमार्फत, राजाको आधिकारिक आज्ञाअनुसार गरिएको हो।

दिनेश खड्का सन् २०२२ देखि अकल्याण्ड, वाइकाटो र नर्थल्याण्ड क्षेत्रका लागि नेपालका मानार्थ वाणिज्यदूतको रूपमा कार्यरत छन्। उहाँले २०१७ देखि २०२० सम्म New Zealand Nepal Society को अध्यक्षता गर्नुभएको थियो।

साथै, उहाँले New Zealand Nepal Chamber of Commerce को अध्यक्ष पद पनि पाँच वर्षसम्म सम्हाल्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको