मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा समानान्तर संस्था दर्ता गरिएको घटनाले संगठनको आन्तरिक विवाद सतहमा ल्याएको छ। महेश श्रेष्ठ नेतृत्वको समूहले ‘NRNA Australia LIMITED’ नामक नयाँ संस्था दर्ता गरेपछि विवाद चुलिएको हो।
वर्तमान अध्यक्ष अनिल पोखरेलले उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई “छोटो अवधिको स्वार्थका लागि गरिएको दुर्भाग्यपूर्ण विभाजन” को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने, “एनआरएनए अष्ट्रेलियालाई कमजोर र विभाजित बनाउन खोज्ने यो प्रयास संस्थाको स्वाभिमान र ऐतिहासिक योगदानमाथिको प्रहार हो।” उनले थप स्पष्ट पारे, “प्रजातान्त्रिक प्रक्रियामा विचार राख्न पाउने अधिकार सबैलाई छ, तर त्यसले संस्थाको मर्म, एकता र उद्देश्यलाई धराशायी पार्न हुँदैन।”
यसैबीच एनआरएनए आइसीसी सचिव डा. ज्ञानेन्द्र रेग्मीले समेत नयाँ संस्था दर्तालाई “असन्तुष्ट समूहको मनोवृत्ति” भन्दै खण्डन गरेका छन्। “वर्तमान कार्यसमितिका कुनै पनि सदस्य त्यो संस्थामा छैनन्। कसैले मनपरी संस्था दर्ता गरेपछि एनआरएनए फुट्यो भन्नु भ्रामक हो,” रेग्मीले टिप्पणी गरे।
अर्कोतर्फ, ओसिनिया संयोजक इर्शाद अहमदले भने श्रेष्ठ समूहको तर्फबाट संवादको सुरुवात गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले भने, “संस्थामा मतभेद हुन सक्छ, तर समाधान संवादबाटै सम्भव हुन्छ। हामी वार्ताका लागि तयार छौं।”
एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकालको सदस्यता नवीकरण तथा आवेदन प्रक्रिया तीव्र रूपमा चलिरहेको बेला आएको यो घटनाले निर्वाचन प्रक्रियामा प्रभाव नपार्नेका लागि समझदारीको पहल थालिनु पर्छ । संस्थागत एकता कायम राख्ने वा झन् गहिरो विभाजनतिर जाने भन्ने प्रश्न अहिले समुदायभित्रको प्रमुख चासो बनेको छ।