सिड्नी ।अष्ट्रेलियामा नेपाली समुदायले पेसागत तालिमका लागि RTO (Registered Training Organisation) दर्ता गराउने क्रम तीव्र रूपमा बढिरहेको छ। धेरैले यसलाई व्यवसायिक अवसरको रूपमा उपयोग गरिरहेका छन्। तर पछिल्लो समय समुदायभित्र गम्भीर प्रश्नहरू उठ्न थालेका छन् ,के सबै RTO हरू नियमअनुसार नै चलेका छन्?
SPES Education Pty Ltd को दर्ता रद्द भएपछि यो बहस अझ चर्किएको छ। नियामक निकाय ASQA को छानबिनले बिना तालिम र मूल्यांकन सिधै प्रमाणपत्र दिने कलेजको भण्डाफोर गरेपछि, नियमपालना गरेर सञ्चालनमा रहेका नेपाली तालिम प्रदायकहरू चिन्तित र निराश देखिएका छन्।
उनीहरू भन्छन्, “हामी प्रक्रिया पुरा गरेर, तालिम, कक्षा, मूल्यांकन गरेर प्रमाणपत्र दिइरहेका छौं। तर यदि तालिम बिना नै सर्टिफिकेट पाइन्छ भन्ने गलत सन्देश गयो भने विद्यार्थी पढ्न किन आउलान्?“
ASQA को कारबाही कडा
ASQA ले SPES को दर्ता रद्द गर्नु मात्र होइन, विद्यार्थीले पहिले नै पैसा तिरेर पाएका सर्टिफिकेटहरू पनि खारेज हुने जानकारी दिएको छ। यसले विद्यार्थीमात्र होइन, सामान्य सेवाग्राही, कार्यस्थल र समुदायमै जोखिम उत्पन्न गरेको भन्दै ASQA कडा कारबाहीमा उत्रिएको हो।
अब प्रश्न उठेको छ,के अरू पनि त्यस्ता कलेजहरू छन्, जसले प्रक्रिया नपु¥याई सर्टिफिकेट बाँडिरहेका छन्?
ASQA ले स्पष्ट रूपमा भनेको छ SPES कलेजले बिना मूल्यांकन, बिना तालिम, योग्य प्रशिक्षक विना नै हजारौँ विद्यार्थीलाई प्रमाणपत्र दिएको छ, जुन केयर सेक्रर जस्तो संवेदनशील क्षेत्रमा सुरक्षाका लागि गम्भीर खतरा हो।
के के पत्ता लाग्यो SPES को छानबिनमा?
ASQA को विस्तृत अनुसन्धानमा SPES कलेजले:
- योग्य प्रशिक्षकबिना कक्षा सञ्चालन गरेको,
- विद्यार्थीलाई तालिम नै नदिई सर्टिफिकेट दिएको,
- सिकाइको न्यूनतम स्तर समेत कायम नगरेको,
- आवश्यक स्रोत र संरचना बिना तालिमको नाममा धोका दिएको,
जस्ता गम्भीर गल्ती गरेको पुष्टि भएको छ।
ASQA को विज्ञप्तिमा भनिएको छ,
“SPES ले प्रशिक्षण र मूल्यांकन प्रक्रिया पुरा नगरी सिधै प्रमाणपत्र दिने काम गरेको छ। यसले कार्यस्थलमा जोखिम बढाएको छ र आपूmको जिम्मेवारीबाट सम्पूर्ण रूपमा च्यूत भएको छ।”
कुन सर्टिफिकेटहरू खारेजको प्रक्रियामा छन्?
SPES कलेजबाट प्राप्त निम्न तालिम प्रमाणपत्रहरू अहिले ASQA को पुनरावलोकनमा परेका छन्:
- CHC33021 – Certificate III in Individual Support
- CHC43121 – Certificate IV in Disability Support
- CHC43015 – Certificate IV in Ageing Support
- CHC30121 – Certificate III in Early Childhood Education and Care
- CHC50121 – Diploma of Early Childhood Education and Care
- CHC52021 – Diploma of Community Services
- CHC62015 – Advanced Diploma of Community Sector Management
- ICT40120, ICT50220, ICT60220 – सूचना प्रविधि सम्बन्धी सर्टिफिकेटहरू
अब विद्यार्थीहरूले के गर्नुपर्छ?
ASQA ले १० जुन २०२५ देखि सम्बन्धित सबै विद्यार्थीहरूलाई औपचारिक सूचना पठाइसकेको छ। यस सूचनामा दिइएको म्यादभित्र जवाफ नदिएमा सर्टिफिकेट स्वतः खारेज हुने स्पष्ट चेतावनी दिइएको छ।
विद्यार्थीहरूले अनलाइन फारममार्फत प्रमाण वा जवाफ पेश गर्नुपर्छ। प्रतिक्रिया नआएमा सर्टिफिकेट अवैध ठहरिनेछ, जसले गर्दा विद्यार्थीले केयर र IT सेक्टरमा काम गर्न पाउने अधिकार गुम्नेछ।
विद्यार्थीहरूलाई अब चाहिएको छ:
✅ आफूले पाएको notice letter तत्काल जाँच्ने,
✅ तोकिएको समयसीमाभित्र प्रतिक्रिया पठाउने,
✅ र वैकल्पिक उपायबारे जानकारी लिनु।
क्यानसिल भएको नोटिस यहाँ छ ।