सुजन वाग्लेको एनआरएनए तास्मानिया संयोजक पदमा उम्मेदवारी घोषणा…

सुजन वाग्लेको एनआरएनए तास्मानिया संयोजक पदमा उम्मेदवारी घोषणा…
नेपालआईज
२२ असार २०८२ २२:१६

होबार्ट / टापु राज्य तास्मानियामा एनआरएनए अष्ट्रेलियाको निर्वाचनको सरगर्मी बढेको छ। राज्य संयोजक पदका लागि सुजन वाग्लेले उम्मेदवारी घोषणा गरेसँगै अन्य पदमा पनि उम्मेदवारी दिने क्रम तीव्र भएको छ।

आगामी २०२५ जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सुजन वाग्लेले आफूलाई एनआरएनए तास्मानिया को  राज्य संयोजक पदका लागि उम्मेदवारको रूपमा प्रस्तुत गर्ने निर्णय गरेको बताएका छन्।

वाग्लेले सन् २०२३-२०२५ को कार्यकालमा सदस्यका रूपमा प्राप्त अनुभव र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनमा थप जिम्मेवारी निर्वाह गर्ने उद्देश्यका साथ तास्मानियाबासी नेपाली समुदायको साथ, सहयोग र विश्वासको अपेक्षा लिएको बताएका छन्।

उनले एनआरएनएको मूल उद्देश्य र सिद्धान्तलाई मार्गदर्शनका रूपमा लिएर एनआरएनए तास्मानियाले हालसम्म सञ्चालन गरेका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। साथै, तास्मानियाका विभिन्न स्थानमा क्रियाशील नेपाली समुदायका संस्थाहरूसँग सहकार्य गर्दै समग्र नेपाली समुदायको हितमा प्रभावकारी काम गर्न कटिबद्ध रहने पनि उनले उल्लेख गरे।

वाग्लेले तास्मानियामा रहेका नेपालीहरूको आवश्यकता र हितमा केन्द्रित रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूको अमूल्य सुझाव, सल्लाह र समर्थनलाई सधैं उच्च सम्मानका साथ ग्रहण गर्ने बताए।

  चुनावी प्रतिबद्घताहरू

  • समुदायमा एकता, सहकार्य र समावेशितालाई प्रवर्द्धन गर्ने।
  • नयाँ आप्रवासीहरूलाई आवश्यक जानकारी, आवास, शिक्षा, रोजगारी र कानुनी सहायता उपलब्ध गराउने।
  • युवा र महिलालाई नेतृत्व र सीप विकासमार्फत सशक्त बनाउने।
  •  विद्यार्थी र पेसागत व्यक्तिहरूलाई तालिम, करियर मार्गदर्शन र अवसरहरू प्रदान गर्ने।
  • नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने।
  • संस्थाको कार्यशैलीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने।
  •  स्थानीय निकाय र एनआरएनए सञ्जालसँग सहकार्य गर्दै समुदायको हितमा काम गर्ने।

तास्मानियामा अन्यपदका लागि पनि उम्मेदवारी दिने क्रम बढेको छ । वाग्ले सन्तोष कुँवर समुहबाट संयोजक पदका उम्मेदवार हुन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको