भिक्टोरियामा सडक दुर्घटनामा परि एक नेपाली विद्यार्थीको ज्यान गयो

भिक्टोरियामा सडक दुर्घटनामा परि एक नेपाली विद्यार्थीको ज्यान गयो
नेपालआईज
२३ असार २०८२ १०:२९

 मेलबर्न ।  भिक्टोरियामा हालै भएको सडक दुर्घटनामा एक जना नेपाली मूलका विद्यार्थीको ज्यान गएको छ। गएको ७२ घण्टाभित्र मृत्यु हुने ९ जनामध्ये एक नेपाली रहेको भिक्टोरियास्थित नेपाली वाणिज्यदूत निराजन गौंलीले पुष्टि गरेका छन्। स्रोतका अनुसार ती विद्यार्थी बाटो काट्ने क्रममा कारको ठक्करमा परेका थिए र घटनास्थलमै मृत्यु भएको थियो। मृतक पूर्वी नेपालका भएको बुझिएको छ।

भिक्टोरिया प्रहरीका अनुसार पछिल्लो ७२ घण्टामा भएका सडक दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन्। तीमध्ये तीन जनाको मृत्यु सोमबार बिहान भएको हो। शुक्रबार साँझदेखि हालसम्म प्रहरीले १० वटा गम्भीर दुर्घटनाको जानकारी दिएको छ। ती घटनामा ९ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान टेम्प्लस्टोभमा धेरै गाडी एकआपसमा ठोक्किएपछि दुई जनाको मृत्यु भएको थियो। त्यसअघि वान्टिर्नामा भएको एक दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो। आइतबार बुआंगोरको वेस्टर्न हाइवेमा एउटा कार गलत दिशामा गएर अर्को गाडीमा ठोक्किँदा चालकको मृत्यु भएको थियो। सोही दिन बोलिन्दामा भएको अर्को दुर्घटनामा एउटै गाडीमा सवार तीन जनाको मृत्यु भएको थियो भने चौथो व्यक्ति अझै जीवनका लागि संघर्षरत छन्।

शनिबार साँझ ग्रान्जफिल्ड्सको वेस्टर्न फ्रीवेमा दुई मोटरसाइकल र दुई गाडी एकआपसमा ठोक्किँदा एक चालकको मृत्यु भएको थियो भने अर्को गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्। त्यही रात क्रानबोर्न र राईमा भएका छुट्टाछुट्टै दुर्घटनामा अन्य दुई मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

शुक्रबार राति बेन्ट्लीमा एउटा युटले ठक्कर दिँदा १६ वर्षीय किशोरको मृत्यु भएको थियो। जीलोङमा, एक इ-बाइक चालक पैदल यात्रुसँग ठोक्किएपछि अझै गम्भीर अवस्थामा रहेका छन्।

सम्पादकीय नोट: गोपनियताका कारण मृतकको विस्तृत विवरण प्रकाशन गर्न असमर्थ छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर