म र एनआरएनएलाई अनावश्यक विवादमा तानियो : व्यवसायी हरिप्रसाद भट्टराई

म र एनआरएनएलाई अनावश्यक विवादमा तानियो : व्यवसायी हरिप्रसाद भट्टराई
नेपालआईज
५ साउन २०८२ १४:४२

काठमाडौं । टेलिभिजन कार्यक्रम निर्माता कम्पनी ‘थ्री प्रोडक्सन प्रालि’मा साझेदारबीचको विवाद चुलिंदै गएको छ। निर्देशक तथा साझेदार विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत आइतबार बिहान सार्वजनिक रूपमा न्यायको माग गर्दै लेखेको स्टाटसपछि विवाद झनै गहिरिएको हो।

भण्डारीको स्टाटसमा नाम खुलाइएको थिएन, तर अर्का साझेदार हरि भट्टराईले आफू र गैरआवासीय नेपाली संघ (NRNA) लाई लक्षित गरी गलत सन्देश प्रवाह गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले भनेका छन्, “भण्डारीको स्टाटसमार्फत म र एनआरएनएलाई बदनाम गर्ने नियत देखिन्छ, जसले संस्थागत छवि र मेरो व्यक्तिगत प्रतिष्ठामा आघात पुर्‍याएको छ।”

भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिका अनुसार, २०८० साल चैत ८ गते राति निर्देशक भण्डारीले मादक पदार्थ सेवन गरी कम्पनीकै गाडी भक्तपुरमा दुर्घटना गराएका थिए। त्यसपछिको सम्पूर्ण मर्मत खर्च भण्डारीले कम्पनीकै नाममा एकलौटी रूपमा जोडेपछि आफूले सहकार्य गर्न नसक्ने निर्णय लिएको र लगानी फिर्ता मागेको भट्टराईले उल्लेख गरेका छन्।

उक्त घटनापछि ‘थ्री प्रोडक्सन’बाट सम्पूर्ण लगानी फिर्ता लिने सहमति भएको भए पनि, भण्डारीले दिएका चेकहरू खातामा रकम अभावका कारण पटक–पटक बाउन्स भएको र त्यसपछि चेक अनादरको उजुरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गरिएको उनले जानकारी दिएका छन्।

भट्टराईका अनुसार, २०८१ साल पुस १० गते काठमाडौं जिल्ला अदालतले भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो र त्यसपछि उनी केही समय प्रहरी हिरासतमा राखिएका थिए। यो कुरा उनले पहिलोपटक सार्वजनिक गरेका हुन्।

उनले भण्डारीसँग लिखित रूपमा ५० लाख रुपैयाँ मंसिर ९ गतेसम्म र बाँकी ७० लाख मंसिर अन्त्यसम्म भुक्तानी गर्ने सहमति भएको दाबी गरेका छन्। सहमतिअनुसार तोकिएको समयमा भुक्तानी नपाएपछि आफूले कानुनी प्रक्रिया अगाडि बढाएको स्पष्ट पारेका छन्।

भट्टराईले विज्ञप्तिमा भनेका छन्, “मेरो उद्देश्य व्यक्तिगत झगडा होइन, लगानीको कानुनी हिसाब हो। तर सामाजिक सञ्जाल प्रयोग गरी सार्वजनिक छवि बिगार्ने प्रयास गरिएको देखिन्छ।”

उनको भनाइमा, एकतर्फी प्रचारमार्फत जनमत भ्रमित पार्ने र संस्थागत छवि धूमिल पार्ने कार्य अत्यन्त दुर्भाग्यपूर्ण रहेको छ। उनले एनआरएनएलाई समेत यस विवादमा अनावश्यक रूपमा तानिएको भन्दै चासो व्यक्त गरेका छन्। भट्टराई मलेसियामा रहेका नेपाली व्यवसायी हुन । उनले कमेडी च्याम्पियन सिजन ३ र कमेडी नाइट्स विथ च्याम्पियन्स कार्यक्रममा गरेको लगानी फिर्ता नपाएको भन्दै कार्यक्रमका सञ्चालक विशाल भण्डारीविरुद्ध चेक बाउन्सको मुद्दा अदालतमा दायर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर