सिड्नी — अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका व्यवसायी कुमार गिरी र हिरा गिरीले नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि पाँच लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्।
गिरी दम्पतीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सार्वजनिक गरिएको भुक्तानी विवरणमा पाँच लाख रुपैयाँको सहयोग सफलतापूर्वक प्राप्त तथा प्रमाणित भएको उल्लेख छ।
“देश रोएको बेला पीडितलाई आफूले सकेको सहयोग गर्ने उद्देश्यले पाँच लाख रुपैयाँ प्रदान गरेका हौँ,” कुमार गिरीले सामाजिक सञ्जालमार्फत बताएका छन्।
लामो समयदेखि सिड्नीमा बस्दै आएका गिरी दम्पतीले न्यु साउथ वेल्सको गोर्डनमा ‘करी मनिटर’ रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। उनीहरूले रेस्टुरेन्टमार्फत नेपाली खाना, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्दै अस्ट्रेलियाली ग्राहकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्दै आएका छन्।
नेपालमा आएको विनाशकारी बाढीपछि अस्ट्रेलियाका नेपाली समुदाय, व्यवसायी तथा विभिन्न संस्थाले राहत र पुनःस्थापना कार्यका लागि आर्थिक सहयोग जुटाउने क्रम जारी राखेका छन्।