अस्ट्रेलिया पढ्न चाहनेका लागि खुसीको खबर,विदेशी विद्यार्थी कोटा बढ्यो 

अस्ट्रेलिया पढ्न चाहनेका लागि खुसीको खबर,विदेशी विद्यार्थी कोटा बढ्यो 
नेपालआईज
२० साउन २०८२ १०:५८

मेलबर्न |  अस्ट्रेलियाली अल्बानीज सरकारले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा दिगो वृद्धि सुनिश्चित गर्न २०२६ का लागि नेशनल प्लानिङ लेभल २९५,००० विद्यार्थी स्थान तय गरेको छ। यो सङ्ख्या २०२५ को तुलनामा २५,००० बढी हो, तर कोभिड–१९ पछि तत्कालको उच्चस्तरभन्दा अझै ८ प्रतिशत कम छ।

सरकारको भनाइमा यसले शिक्षा प्रदायक, विद्यार्थी र राष्ट्रिय हितलाई सन्तुलनमा राख्दै दिगो विकासमा मद्दत गर्नेछ। सबै सक्रिय शिक्षा प्रदायकलाई २०२६ मा कम्तीमा हालको बराबर स्थान दिइनेछ।

सार्वजनिक विश्वविद्यालयहरूले दक्षिण–पूर्वी एसियासँगको सहकार्य बढाउने र विद्यार्थी आवासको पर्याप्त सुविधा उपलब्ध गराउने सर्त पूरा गरेमा थप स्थानका लागि आवेदन दिन पाउनेछन्।

शिक्षा मन्त्री जासन क्लेयर ले भने, “अन्तर्राष्ट्रिय शिक्षा अस्ट्रेलियाको महत्त्वपूर्ण निर्यात उद्योग हो। यसले पैसा मात्र ल्याउँदैन, मित्रता पनि बढाउँछ। हामी यसको वृद्धि यसरी गर्न चाहन्छौँ कि विद्यार्थी, विश्वविद्यालय र देशको हित सबैलाई लाभ होस्।”

गृह मन्त्री टोनी बर्क को भनाइमा, “हामी शिक्षा प्रणालीलाई बलियो बनाउँदै आव्रजन प्रणालीको सत्य निष्ठा कायम राखिरहेका छौँ। विद्यार्थी भिसा प्रक्रियामा वास्तविक शैक्षिक परिणाम र रणनीतिक प्राथमिकतालाई प्राथमिकता दिइन्छ।”

सीप तथा तालिम मन्त्री एन्ड्र्यु गाइल्स ले भने, “२०२६ का लागि तय गरिएका सेटिङहरूले अन्तर्राष्ट्रिय VET (व्यावसायिक शिक्षा तथा तालिम) क्षेत्रलाई दिगो रूपमा विस्तार गर्न र अस्ट्रेलिया तथा क्षेत्रीय सीप आवश्यकतामा सहयोग पुर्‍याउनेछ।”

सहायक मन्त्री जुलियन हिल ले भने, “अन्तर्राष्ट्रिय शिक्षा अस्ट्रेलियाको ५० अर्ब डलरभन्दा बढीको निर्यात क्षेत्र हो, जसले २.५ लाखभन्दा बढी रोजगारीलाई सहयोग गर्छ। हामी दक्षिण–पूर्वी एसियाबाट अझ बढी विद्यार्थी स्वागत गर्न र नयाँ आवाससहितको वृद्धि गर्न प्रतिबद्ध छौँ।”

२०२६ बाट अस्ट्रेलियाको उच्च माध्यमिक विद्यालय वा सम्बन्धित pathway provider र TAFE बाट सार्वजनिक विश्वविद्यालयमा प्रवेश लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नेशनल प्लानिङ लेभल को सीमा लागू हुने छैन।

२०२७ देखि प्रस्तावित कानुन पास भएमा अस्ट्रेलियन टर्शियरी एजुकेसन कमिसनले उच्च शिक्षा क्षेत्रमा वृद्धि व्यवस्थापन गर्नेछ। VET क्षेत्रमा भने भिसा प्रक्रिया र सत्य निष्ठा सुधारमार्फत आकार र स्वरूप निर्धारण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको