मेलबर्नमा एउटा कहालिलाग्दो घटना, गर्भवती महिला र पुरुषको हत्या

मेलबर्नमा एउटा कहालिलाग्दो घटना, गर्भवती महिला र पुरुषको हत्या
नेपालआईज
२८ साउन २०८२ २०:३५

भिक्टोरिया/ मेलबर्नको दक्षिण–पूर्वस्थित माउन्ट वेभरलीमा सोमबार राति एक भयावह घटना भएको छ। प्रहरीले एड्रिएन क्रेसेन्टस्थित घरभित्र पाँच महिनाकी गर्भवती ३९ वर्षीया महिला र ५० वर्षका पुरुषको शव फेला पारेका छन्। प्रहरीलाई राति करिब १० बजे घरभित्र चर्को कराउने आवाज र वासिन्दाको सुरक्षासम्बन्धी चिन्ता बारे सूचना प्राप्त भएपछि घटना स्थलमा पुगेका थिए।

प्रहरीका अनुसार मृत पुरुष ती महिलाकै परिचित थिए र सोही घरमा बस्दै आएका थिए। घटनास्थलमा पुरुषको टाउको छुट्टाइएको अवस्थामा फेला परेको र एउटा स्पाइकमा राखिएको बताइएको छ।

३४ वर्षीय एक पुरुषलाई केही समयपछि क्लेटन साउथको वेस्टल ट्रेन स्टेशनमा रगत लागेको सर्ट र बिना जुत्ता अवस्थामा पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिसँग दुईवटा ठूलो कुकुर पनि रहेका थिए। उनी पीडितसँग परिचित भए पनि स्थायी ठेगाना नभएको प्रहरीले जनाएको छ।

घरको बाहिरी भित्तामा “Karma is not a menu” र “meat is murder” जस्ता रहस्यमयी सन्देशसहितको ग्राफिटी पनि भेटिएको छ। प्रहरीले यी लेखाइहरू हत्या घटनासँग सम्बन्धित छन् कि छैनन् भन्नेबारे अनुसन्धान गरिरहेको छ।

हत्याको अनुसन्धान गरिरहेका होमिसाइड स्क्वाडका डिटेक्टिभ इन्स्पेक्टर डिन थोमसले यस आक्रमणलाई लक्षित घटना भएको बताएका छन् र एड्रिएन क्रेसेन्ट, फर्नट्री गुल्ली रोड वा वेस्टल स्टेशन वरपरको सूचना वा दृश्य फुटेज भएका व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

दुवै मृतकका परिवारलाई खबर गरिसकिएको छ र शव परीक्षण बुधबारका लागि तोकिएको छ। घटनामा पक्राउ परेका व्यक्तिमाथि अहिलेसम्म कुनै आरोप दायर गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर