एनआरएनए अस्ट्रेलियाद्वारा एन्टी–इमिग्रेसन प्रदर्शन बहिष्कार गर्न समुदायलाई आग्रह

एनआरएनए अस्ट्रेलियाद्वारा एन्टी–इमिग्रेसन प्रदर्शन बहिष्कार गर्न समुदायलाई आग्रह
नेपालआईज
६ भदौ २०८२ २:०७

मेलबर्न । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले आगामी ३१ अगस्टमा अस्ट्रेलियाका प्रमुख सहरहरूमा आयोजना हुन लागेको “March for Australia / Australia First” नामक प्रदर्शनप्रति आपत्ति जनाएको छ।

सङ्घले बुधवार जारी गरेको विज्ञप्तिमा यस्ता प्रदर्शनहरू आप्रवासी विरोधी सोचलाई प्रोत्साहन गर्ने, विभाजन र सामाजिक तनाव बढाउने खालका रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “अस्ट्रेलियाको पहिचान नै बहुसंस्कृतिवाद, समावेशिता र सामाजिक सद्भावमा आधारित छ। आप्रवासी र डायस्पोरा समुदायहरूले अस्ट्रेलियाको आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा पुर्‍याएको योगदान अतुलनीय छ।” एनआरएनए अस्ट्रेलियाले आप्रवासीलाई दोषारोप गर्ने वा सामाजिक समस्याका लागि बलिको बाख्रा बनाउन खोज्ने कुनै पनि प्रयास अस्वीकार्य भएको जनाएको छ। साथै, सङ्घले अस्ट्रेलियाका सबै नागरिकलाई जातीय विभेद, विदेशी–विरोधी मानसिकता र घृणापूर्ण गतिविधिहरूको विरुद्ध उभिन आग्रह गरेको छ।

सङ्घका अध्यक्ष अनिल पोखरेलले भने, “हामी अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण बहु सांस्कृतिक समुदायको समावेश, सम्मान र हितका लागि निरन्तर काम गर्दै जानेछौँ। अस्ट्रेलियाको विविधता नै यसको सबल पक्ष हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर