एनआरएनए अध्यक्षमा हेमराज शर्माको उम्मेदवारी घोषणा, रिब्रान्डिङलाई मुख्य एजेन्डा

एनआरएनए अध्यक्षमा हेमराज शर्माको उम्मेदवारी घोषणा, रिब्रान्डिङलाई मुख्य एजेन्डा
नेपालआईज
१० भदौ २०८२ १४:००

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हेमराज शर्माले संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

शर्माले विज्ञप्ति जारी गर्दै अक्टोबरमा काठमाडौंमा हुने महाधिवेशनमा उम्मेदवारी दिने बताएका हुन्। उनले एनआरएनएको ‘रिब्रान्डिङ’ आफ्नो प्रमुख एजेन्डा हुने स्पष्ट पारेका छन्।

“एनआरएनए स्थापना भएको २२ वर्षको यात्रामा संघले विश्वभरका नेपालीहरूलाई एकीकृत गर्ने उल्लेखनीय सफलता हासिल गरेको छ। तर बदलिँदो परिस्थितिमा अब संस्थालाई अझ प्रभावकारी र समावेशी बनाउँदै नयाँ उचाइमा पुर्‍याउन रूपान्तरण अपरिहार्य छ,” शर्माले विज्ञप्तिमा भनेका छन्।

उनका अनुसार प्रविधिको तीव्र विकास, बदलिँदो विश्व अर्थतन्त्र, नयाँ पुस्ताका गैरआवासीय नेपालीहरूको बढ्दो संख्याले संघलाई नयाँ चुनौती र अवसर दुवै प्रदान गरेका छन्।

हालै सम्पन्न ५८ राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र विश्वभर ८० हजारभन्दा बढी सदस्यको सक्रियता संघलाई अझ सशक्त बनाउन महत्वपूर्ण आधार भएको उनले बताएका छन्। “अक्टोबरमा हुने महाधिवेशनका लागि ४,७०० भन्दा बढी प्रतिनिधिहरूले आवेदन दिएका छन्, जो एनआरएनएलाई उज्ज्वल भविष्यतर्फ डोर्याउन सक्षम नेतृत्वको खोजीमा छन्,” उनले भने।

शर्माले आफ्नो कार्यकालमा संघलाई एकीकृत, समावेशी, प्रविधिमैत्री, नतिजामुखी, पारदर्शी र दिगो बनाउन प्रतिबद्धता जनाएका छन्। मातृभूमि नेपालमा प्रवासी नेपालीको सीप, ज्ञान, प्रविधि र पुँजी भित्र्याउने, सुरक्षित वैदेशिक रोजगारीको वातावरण निर्माण गर्ने र सरकारसँगको साझेदारी सुदृढ गर्ने उनको प्राथमिकतामा रहेको छ।

“संघलाई बाह्य राजनीतिक र आर्थिक प्रभावबाट मुक्त राख्दै, नेतृत्व चयनमा पञ्जीकृत सदस्यहरूको प्रत्यक्ष मतदानको प्रणाली लागू गर्न म अग्रसर हुनेछु,” उनले भने, “यो केवल सुधारको नारा होइन, स्पष्ट कार्ययोजना र मार्गचित्रसहितको संकल्प हो।”

शर्माले आफ्नो फरक पृष्ठभूमिले संस्थालाई नयाँ दृष्टिकोणसहित अगाडि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर