दुई नेपाली नर्सहरूको कारुणिक कथा

दुई दयालु मन: जसले अरूलाई बचाउन खोज्दा अष्ट्रेलियामा आफ्नो जीवन गुमाए!

दुई दयालु मन: जसले अरूलाई बचाउन खोज्दा अष्ट्रेलियामा आफ्नो जीवन गुमाए!
नेपालआईज
२२ भदौ २०८२ ७:५२

 भिक्टोरिया /  मेलबर्नको एक साँझ,सडकमा घाइते कंगारुलाई देख्दा दुई नर्सको हृदय रोकिएन। उनीहरू गाडी रोकेर बाँच्न संघर्ष गरिरहेको जीवलाई बचाउन झरे। तर,नियतिको खेल यस्तो भयो । कि ज्यान बचाउने प्रयासमै उनीहरूको आफ्नै जीवन समाप्त भयो। 

सपना बोकेकी दुई सहयात्री   

सरला र अरीजा  मेलबर्नको अल्फ्रेड अस्पतालमा कार्यरत नेपाली नर्स थिए। व्यस्त तालिका, असंख्य ड्युटी र असहज पारीस्थितिसँग जुध्नुपर्दा पनि उनीहरूको मित्रता कहिल्यै कमजोर भएन। साथी मात्र होइन, उनीहरू एकअर्काकै परिवार, एकअर्काकै आत्मा जस्तै बनेका थिए।

१४ वर्षअघि सुरु भएको यो मित्रता नेपालदेखि अष्ट्रेलिया सम्म आइपुग्दा अझ मजबुत बन्दै गएको थियो। परिवारका सदस्यहरू भन्दापनि बढी विश्वास गर्ने, एक अर्काको कमजोरीलाई सहारा दिने,र कठिन परिस्थितिमा हात समातिदिने,यी दुवै जीवनभरका साथी थिए।

भावनामा पोखिएको मित्रता 

दुर्घटना भएको रात अरीजाको जन्मदिन थियो। केही घण्टा अघि मात्र सरलाले सामाजिक सञ्जालमा अरीजालाई “सिसी” भन्दै एउटा लामो भावपूर्ण सन्देश पोस्ट गरेकी थिइन्। “तिमी साथीभन्दा बढी बहिनी हौ… १४ वर्षको पागलपन…हाँसोदेखि आँसुसम्म हामीसँगै छौं,”लेखेकी थिइन् उनले। ती शब्दहरू पढ्दा अहिले सबैका आँखा रसाउँछन्,किनभने त्यो सन्देश जीवनको उत्सवको लागि लेखिएको थियो, तर नियतिको योजनाले त्यो अन्तिम श्रद्धाञ्जलीमा परिणत गरिदियो।

समुदाय स्तब्ध

मेलबर्नको नेपाली समुदाय अहिले गहिरो शोकमा छ। सहकर्मीहरू सम्झन्छन्,सरला र अरीजा अस्पतालको कोरिडोरमा हाँस्दै हिँड्ने, बिरामीलाई हौसला दिने, र थकित सहकर्मीलाई मिठो मजाकले मुस्कान दिने गर्थे। 

दुर्घटनाको कथा

भिक्टोरिया प्रहरीका अनुसार, बिहीबार साँझ करिब ७:३० बजे क्रेगिबर्न नजिकै उनीहरू रोकिएका थिए। एक घाइते कंगारु सडकमा थियो। त्यही बेला अर्को गाडी तीव्र गतिमा आउँदा चालकले नियन्त्रण गर्न खोज्दा दुई नर्सलाई ठक्कर दियो।  सरला घटनास्थलमै ज्यान गुमाइन्। अरीजालाई हवाईमार्गबाट अस्पताल लगिए पनि उनको जीवन पनि जोगिएन। चालक घटनास्थलमै रोकेर सहयोग गरेको प्रहरीले जनाएको छ।

सन्देश 

रोड पोलिसिङ असिस्टेन्ट कमिस्नर ग्लेन वीयरले यो दुर्घटनालाई “भयानक त्रासदी” भन्दै टिप्पणी गरे। व्यस्त सडकमा गाडी रोक्नु खतरनाक हुने भन्दै उनले चेतावनी दिए। वन्यजन्तु उद्धार समूहहरूले पनि उद्धार गर्न मन भए उद्धार संस्थालाई सम्पर्क गर्न आग्रह गरेका छन्।

तर यी चेतावनीभन्दा पर, यो घटना एउटा करुणकथा हो,दुई दयालु मन,जसले जीवन बचाउन खोज्दा आफ्नो जीवन गुमाए।

अमिट सम्झना

यो वर्ष मात्रै भिक्टोरियामा २०५ जनाले सडकमा ज्यान गुमाइसकेका छन्। तर त्यसमध्ये पनि सरला र अरीजाको मृत्यु आँकडाभन्दा बढी पीडा बोकेको छ। यो एउटा मित्रताको कथा हो। १४ वर्ष लामो यात्रा, हाँसो र आँसुका सम्झना, र अधुरो सपनाहरूको। आज समुदाय उनीहरूको निधनमा शोकमा छ ।  तर उनीहरूको कथा मित्रता, मायाँ र मानवीय संवेदनाको अमर उदाहरण बनेर सधैं सम्झिरहनेछ ।

 

कन्सुलेट अफिस  भिक्टोरियाको जनहितमा जारी सूचना 

प्रिय समुदाय,

गहिरो दुःखका साथ हामीले विगत बिहीबार साँझको सडक दुर्घटनामा दुईजना अमूल्य जीवन गुमाएको समाचार तपाईंहरूलाई जानकारी गराउनुपरेको छ। यस हृदयविदारक घटनाले हाम्रो परिवार र सम्पूर्ण समुदायलाई गम्भीर शोकमा पारेको छ।

यस कठिन समयमा परिवारलाई आवश्यक सहयोग पुर्‍याउन कन्सुलेट अफिस र विभिन्न सामुदायिक संस्थाहरू परिवारका सदस्यहरूसँग नजिकैबाट काम गरिरहेका छन्। तर, आज बेलुकी केही समाचार माध्यमहरूमा परिवारको अनुमति बिना व्यक्तिगत विवरणहरू सार्वजनिक गरिएको देख्दा हामी गम्भीर चिन्तित छौँ।

त्यसैले, हामी सबैलाई परिवारको गोपनीयताको सम्मान गर्न, कुनै पनि व्यक्तिगत जानकारी साझा नगर्न र स्पष्ट सहमति बिना मिडिया संस्थाहरूसँग संलग्न नहुन विनम्र अनुरोध गर्दछौँ।

यस दुःखद घडीमा हामी सबै एक आपसमा सहारा बन्ने क्रममा तपाईंहरूको समझदारी, करुणा र प्रार्थनाले ठूलो अर्थ राख्दछ वाणिज्य दूत निराजन गौलीले समुदायमा आग्रह गरेका छन् ।

यहाँ उल्लेख भएको सूचना तथा फोटो पहिलोपटक 7 news  प्रकाशन भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर