एनआरएनए महाधिवेशन स्थगित, ६ महिनापछि गर्ने निर्णय

एनआरएनए महाधिवेशन स्थगित, ६ महिनापछि गर्ने निर्णय
नेपालआईज
२६ भदौ २०८२ १५:११

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अक्टोबरमा तय भएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन ६ महिनापछि गर्ने निर्णय गरेको छ।

अध्यक्ष बद्री केसीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अक्टोबर ११–१४ मा हुने भनिएको महाधिवेशन देशको हालको असामान्य परिस्थितिका कारण सारिएको हो। “आगामी ६ महिनाभित्र नयाँ मिति तय गरी महाधिवेशन आयोजना गरिनेछ,” विज्ञप्तिमा उल्लेख छ।

काठमाडौंसहित विभिन्न स्थानमा भदौ २३ यता जेन–जी पुस्ताको आन्दोलनले देशभर अशान्त वातावरण सिर्जना गरेको भन्दै संघले गम्भीर चिन्ता व्यक्त गरेको छ। आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड, हिंसा र लुटपाट भएका घटनाले विदेशमा रहेका नेपाली र लगानीकर्तामाझ नकारात्मक प्रभाव परेको संघको ठहर छ।

विज्ञप्तिमा मुलुकमा सरकारविहीन अवस्था दीर्घकालसम्म नलम्ब्याई सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणसहित युवापुस्ताका माग सम्बोधन गर्न परिणाममुखी संवाद आवश्यक भएको उल्लेख छ।

संघले संकटको घडीमा राज्यका निकायहरूले स्थायित्व कायम गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै पुनर्निर्माण र सहकार्यका लागि सबै गैरआवासीय नेपालीलाई आपसी मतभेद भुलेर मातृभूमिप्रति जिम्मेवारीसाथ अघि बढ्न आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर