क्यानबेरा/ अस्ट्रेलिया सरकारले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिलाई स्वागत गरेको छ। अस्ट्रेलियाले यो नियुक्तिलाई गत हप्ताका कठिन घटनाहरू समाधान गर्ने दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा लिएको छ, विदेश मन्त्री पेनी योङ्गद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
“हामी शान्त र संयमता अपनाउन आग्रह गर्दछौँ ताकि निर्वाचनसम्मको संक्रमणकाल शान्तिपूर्ण, जबाफदेही र समावेशी बनोस्,” विज्ञप्तिमा भनिएको छ।
नेपालको दीर्घकालीन साझेदारका रूपमा अस्ट्रेलियाले यस कठिन समयमा पनि नेपाली जनताप्रतिको आफ्नो समर्थन जारी रहने स्पष्ट पारेको छ। सुशीला कार्कीको नियुक्ति नेपालमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र तनावपूर्ण परिस्थितिपछि भएको हो। यसले मुलुकमा शान्तिपूर्ण राजनीतिक निकासको ढोका खोलेको विश्वास गरिएको छ।