Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
भोटमाग्दा मात्र होइन, जितेपछि पनि नेपाली समुदायको आवाज सुन्दै अष्ट्रेलियन सांसद वसीम
नेपालआईज
१ असोज २०८२ २२:१२
मेलबर्न – अष्ट्रेलियामा भर्खरै सम्पन्न संघीय निर्वाचनमा लेबर पार्टीका तर्फबाट विजयी बनेका सांसद वसीम अब्दोले नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको आवाज सुन्ने प्रतिबद्धता जनाएका छन्। गत शनिवार (सेप्टेम्बर १३) क्रेगिबर्न नेपाली समाज भिक्टोरियाले न्युवरीक कम्युनिटी सेन्टरमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममार्फत सांसद अब्दो समुदायसँग घुलमिल भएका हुन्।
कार्यक्रमलाई क्रेगिबर्न नेपाली समाजले आयोजना गरेको थियो जसमा समाजका कार्यकारी समिति, एडभाइजरी टिम, क्रेगिबर्न नेपाली स्कुलका शिक्षक, क्रेगिबर्न बिग्रेड फुटबल टिमका सदस्य, व्यवसायी तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका संयोजक अनन्त पौडेल थिए भने सम्पूर्ण व्यवस्थापन सीएनसी टिमले गरेको थियो। समाजकी अध्यक्ष कुसुम मगरले सांसदलाई ढाका टोपी, खादा र फूलले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन्।
नेपालमा हालको राजनीतिक अवस्थाबारे चर्चा गर्दै कार्यक्रममा एक मिनेट मौन धारणा समेत गरिएको थियो। समाजका तर्फबाट माधुरी मास्के शर्माले कार्यविवरण प्रस्तुत गर्दै आगामी दिनमा स्थानीय सरकारको सहयोगमा आशा व्यक्त गरिन्। नेपाली स्कुलका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले बढ्दो नेपाली विद्यार्थी संख्याका लागि सक्षम कक्षाकोठाको आवश्यकता औंल्याए भने समाजसेवी महादेव धनुकले सबैलाई समाजका लागि सक्दो योगदान गर्न आग्रह गरे।
क्रेगिबर्न बिग्रेड फुटबल क्लबका अध्यक्ष माधव पौडेलले क्लबलाई मैदान र अन्य सामग्रीको तत्काल आवश्यकता रहेको बताए। समुदायको माग र सुझाव सुनेपछि सांसद वसीम अब्दोले आफू सक्दो सहयोग गर्ने र आगामी दिनमा अझ घनिष्ट सम्बन्ध कायम गर्ने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालका लागि शुभकामना दिने नेपाली समुदायप्रति आभार प्रकट गर्दै अन्त्यमा नेपाली स्कुलको अवलोकन र विद्यार्थीहरूसँग भलाकुसारी समेत गरे। कार्यक्रम व्यवस्थापनमा आकाश पौडेल र सुजन शर्माले जिम्मेवारी वहन गरेका थिए भने सम्पूर्ण सहयोग समाजसेवी रन्जन श्रीवास्तवले गरेका थिए।