सिड्नीको बन्डाइ बीच क्षेत्रमा आज भएको सामूहिक गोलीकाण्डपछि प्रहरीले जारी गरेको अपरेसन अझै जारी छ। दुई जना पुरुषले सार्वजनिक स्थानमा गोली चलाउँदा भएको उक्त घटनामा हालसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये एक जना आक्रमणकारी नै भएको आशंका गरिएको छ भने दोस्रो संदिग्ध आक्रमणकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म २९ जना घाइते भएका छन्, जसमा २ जना प्रहरी अधिकारी पनि परेका छन्। घाइतेहरूलाई सिड्नीका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।
आपतकालीन सेवाहरूलाई आइतबार साँझ डिसेम्बर १४, २०२५ मा करिब ६:४५ बजे क्याम्पबेल परेड (Campbell Parade) क्षेत्रमा गोली चलेको सूचना प्राप्त भएपछि घटनास्थलमा पठाइएको थियो। पूर्वी उपनगर प्रहरी क्षेत्र कमाण्डअन्तर्गतका अधिकारीहरू शहरभरिका विभिन्न स्रोत र सहयोगसहित घटनास्थलमा खटिएका छन्।
घटनास्थल आसपास केही सन्दिग्ध वस्तुहरू फेला परेको र तिनको परीक्षण विशेषज्ञ अधिकारीहरूले गरिरहेको जनाइएको छ। सुरक्षा कारणले उक्त क्षेत्रमा निषेधित क्षेत्र (Exclusion Zone) कायम गरिएको छ।
हाल बहु–निकाय (Multi-agency) प्रतिक्रिया जारी रहेको र घटनास्थललाई फराकिलो रूपमा अपराधस्थल (Crime Scene) घोषणा गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यस घटनासँग सम्बन्धित अन्य कुनै घटना सिड्नीमा भएको रिपोर्ट अहिलेसम्म प्राप्त नभएको पनि प्रहरीले स्पष्ट पारेको छ।
यसैबीच प्रहरीले घटनासँग सम्बन्धित मोबाइल फोनको भिडियो, फोटो वा ड्यासक्याम फुटेज भएका जो–कोहीलाई Crime Stoppers (1800 333 000) मा सम्पर्क गर्न आग्रह गरेको छ।