Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
एनआरएनए १२औँ महाधिवेशन फागुन ११–१३ मा काठमाडौँमा हुने
नेपालआईज
३० मंसिर २०८२ ५:४४
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ११, १२ र १३ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। हालै दुई समूहबीच एकीकरणपछि गठन भएको स्टेरिङ कमिटीले महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।
आइतबार बसेको स्टेरिङ कमिटीको दोस्रो बैठकले उक्त मिति तय गरेको हो। पूर्वअध्यक्ष तथा स्टेरिङ कमिटी सदस्य आरके शर्माका अनुसार बैठक शर्माकै अध्यक्षतामा बसेको थियो। महाधिवेशनको मिति सार्वजनिकसँगै तयारी प्रक्रिया तीव्र बनाउने निर्णय पनि गरिएको छ।
बैठकले संगठनभित्रको एकता मजबुत बनाउन र आन्तरिक व्यवस्थापनलाई व्यवस्थित गर्न विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। यसैक्रममा राष्ट्रिय समन्वय समिति (एनसीसी)हरूबीचको एकतालाई निष्कर्षमा पुर्याउन गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरिएको छ। समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छन् भने सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।
संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरूबीच एकताको सन्देश प्रवाह गर्न क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमसमेत तय गरेको छ। तय कार्यक्रमअनुसार डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया र डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रका लागि अन्तरक्रिया हुनेछन्।
बैठकले सदस्यता सम्बन्धी समितिलाई पाँचबाट बढाएर सात सदस्यीय बनाउने निर्णय गरेको छ। साथै, संगठनभित्र अनुशासन कडाइका साथ पालना गराउन स्टेरिङ कमिटीका सबै सदस्यहरूले आगामी बैठकअघि प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी नगराइने निर्णय पनि भएको छ।
एनआरएनएले १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू तथा सबै सरोकारवाला पक्षलाई सक्रिय सहयोगका लागि आह्वान गरेको छ।