अरूको अवैध धन्दामा अष्ट्रेलियामा फसिन् नेपाली विद्यार्थी, अदालतले सुनायो यस्तो फैसला

अरूको अवैध धन्दामा अष्ट्रेलियामा फसिन् नेपाली विद्यार्थी, अदालतले सुनायो यस्तो फैसला
नेपालआईज
२६ पुष २०८२ २०:०६

पर्थ, अष्ट्रेलिया — पश्चिमी अष्ट्रेलियामा प्रहरीले गरेको ठूलो छापामा अवैध चुरोट, भेप र खुला सुर्तीको ठूलो परिमाण बरामद भएपछि एक नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी अदालतमा प्रस्तुत भएकी छन्।

२० वर्षीया स्नेहा खरेलले पर्थ मजिस्ट्रेट अदालतमा बिना लाइसेन्स सुर्तीजन्य पदार्थ बिक्री गरेको तथा एक प्रिस्क्रिप्सन औषधि अवैध रूपमा राखेको अभियोग स्वीकार गरेकी छन्। प्रहरीले ककबर्न सेन्ट्रलस्थित एक सुर्ती पसलमा छापा मार्दा १,२०० भन्दा बढी निकोटिन भेप र दशौँ हजार चुरोट बरामद गरेको थियो।

प्रहरीका अनुसार उक्त छापा गत वर्ष डिसेम्बर २ मा ट्रान्सनेशनल सिरियस अर्गनाइज्ड क्राइम स्क्वाडले सञ्चालन गरेको थियो। ग्राहकहरूले पसलबाट अवैध भेप खरिद गरेको आशंकामा गरिएको जाँचपछि अनुसन्धान अघि बढाइएको हो।

छापाका क्रममा प्रहरीले ६६,५०० चुरोट, १,२०८ निकोटिन भेप, ४ केजी खुला सुर्ती र ५० ग्राम तौल भएका १११ प्याकेट सुर्ती बरामद गरेको थियो। अभियोजन पक्षले यसलाई ‘ठूलो परिमाणको बरामदी’ भनेको थियो भने मजिस्ट्रेटले यसलाई “असाधारण मात्राको सुर्ती” भनेर टिप्पणी गरेका थिए।

अदालतमा प्रस्तुत विवरणअनुसार सुश्री खरेलले प्रतिघण्टा २० डलर तलब पाउने गर्थिन्, जुन न्यूनतम ज्यालाभन्दा करिब पाँच डलर कम हो। उनी पसलको दैनिक सञ्चालनको जिम्मामा थिइन्। पसलको मालिक को हो भन्ने प्रश्नमा उनले आफूलाई जानकारी नभएको बताएकी थिइन्।

उनका वकिलले अदालतमा खरेल नेपालबाट आएका वाणिज्य (कमर्स) विषय अध्ययनरत विद्यार्थी भएको र निजी कलेजका अर्का विद्यार्थीमार्फत उक्त काम पाएको बताए। उनले आफ्ना गतिविधि गैरकानुनी भएको पूर्ण रूपमा नबुझेको र ठूलो अवैध कारोबारको सानो हिस्सा मात्र भएको दाबी गरे।

“उनी मूलतः अरूको गल्तीको भार बोक्ने पात्र बनाइएकी छन्,” वकिलले अदालतमा भने।

उक्त मुद्दामा संलग्न अन्य तीन जना सह–आरोपी पनि अदालतमा उपस्थित भए तापनि उनीहरूले दोष स्वीकार गरेका छैनन्। उनीहरूको मुद्दा जनवरी १६ मा पुनः पेश हुने गरी सारिएको छ।

सजाय सुनाउँदै मजिस्ट्रेटले खरेल अवैध सुर्ती र भेपसम्बन्धी विवादबारे केही हदसम्म जानकार भए पनि उनी “धेरै सानो खेलाडी” भएको स्वीकार गरे। अदालतले उनलाई ‘spent conviction’ दिँदै १,८०० डलर जरिवाना र ३०८.८० डलर अदालत खर्च तिर्न आदेश दिएको छ।

यसैबीच, पश्चिमी अष्ट्रेलियामा बढ्दो अवैध सुर्ती कारोबारप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। पछिल्लो समय सुर्ती पसलहरूलाई लक्षित गरी आगजनी र तोडफोडका घटना बढ्दै गएका छन्, जसलाई संगठित अपराध गिरोहबीचको बजार नियन्त्रण संघर्षसँग जोडेर हेरिएको छ।

सबैभन्दा पछिल्लो घटना जनवरी ४ मा बुनबरीमा भएको थियो, जहाँ एक कन्भिनियन्स स्टोरमा आगजनी गरिएको थियो। यसपछि प्रहरीले अवैध कारोबारमा संलग्न व्यवसाय र कामदारहरू गम्भीर जोखिममा रहेको चेतावनी दिएको छ।

खरेलका सह–आरोपीहरू यसै महिनाको अन्त्यतिर पुनः अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। प्रहरीले अवैध नेटवर्कसम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर