डा. हेमराज शर्माको नेतृत्वमा एनआरएनए एकीकृत, नयाँ कार्यसमिति आज घोषणा हुँदै

डा. हेमराज शर्माको नेतृत्वमा एनआरएनए एकीकृत, नयाँ कार्यसमिति आज घोषणा हुँदै
नेपालआईज
२ चैत २०८२ ४:३५

काठमाडौं । केही वर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकताबद्ध भएको छ। ‘एकता, लगानी र गौरव’ भन्ने मूल नाराका साथ काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। आइतबार मध्यरातमा जुटेको यो सहमतिसँगै विगतमा डा. बद्री केसी र महेश श्रेष्ठको नेतृत्वमा अलग-अलग रूपमा क्रियाशील दुई समूहबीचको विवाद औपचारिक रूपमा अन्त्य भएको छ।

पटक–पटकका एकता प्रयासहरू असफल भए पनि गत मंसिरमा भएको १० बुँदे सहमति र पूर्वअध्यक्षहरूको सक्रियताले यसपटक एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्षका दाबेदार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहमतिको बाटो खुलेको थियो। उम्मेदवारी फिर्ता लिएका शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्षमा चयन भएका छन्। विधान संशोधनको प्रक्रिया टुङ्गिएसँगै आज सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन समापन गर्ने तयारी गरिएको छ।

नयाँ कार्यसमितिको अन्य उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई, जुनु गुरुङ, महेन्द्र ओली, रोशन थापा, दिनेश पोखरेल र मनोजकुमार श्रेष्ठ छानिएका छन्। त्यसैगरी, महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) र युवा उपाध्यक्षमा भीमसेन थापा निर्विरोध निर्वाचित भएका छन्। संस्थाको प्रशासनिक जिम्मेवारी सम्हाल्ने महासचिव पदमा गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का चयन भएका छन् भने उपमहासचिवको जिम्मेवारी टंकप्रसाद गैरे, दिनेशकुमार घिमिरे, डा. ज्ञानेन्द्र रेग्मी र पारसमणि पोखरेललाई दिइएको छ।

कार्यसमितिको सचिव पदमा राजेन्द्र अर्याल, सुजन अधिकारी, अभिमन्यु बस्नेत, अनुजा प्रधान, बेदराज बस्नेत, माधव दुलाल र सुपेन्द्र घिसिङले जिम्मेवारी पाएका छन् भने महिला सचिवमा अमृता थापा (कञ्चन) चुनिएकी छिन्। कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, सह–कोषाध्यक्षमा अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएका छन्। क्षेत्रीय तहमा संस्थाको सञ्जाल विस्तारका लागि नवीन निउरेलाई युवा संयोजक, रमेश श्रेष्ठलाई मध्यपूर्व, दीपक कँडेललाई एशिया प्याशिफिक र रोबोट लिम्बूलाई युरोप क्षेत्रीय संयोजकको जिम्मेवारी सुम्पिइएको छ। यो एकताले विदेशमा रहेका नेपालीहरूमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर