मेलबर्न — अष्ट्रेलियामा अवैध रूपमा बसोबास गर्दै संगठित चोरीमा संलग्न भारतीय नागरिकसहितको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। Victoria Police का अनुसार लामो अनुसन्धानपछि सञ्चालन गरिएको विशेष अभियानमा उक्त गिरोहका सदस्यहरू नियन्त्रणमा लिइएको हो।
प्रहरीले दिएको जानकारीअनुसार ती व्यक्तिहरू अस्थायी भिसाको अवधि सकिएपछि पनि अवैध रूपमा बस्दै आएका थिए र विभिन्न सहरका सुपरमार्केटहरूबाट योजनाबद्ध रूपमा महँगा सामान चोरी गर्दै आएका थिए। चोरी गरिएका सामग्रीहरूलाई सञ्जालमार्फत कालोबजारमा बिक्री गरी नाफा कमाइने गरिएको थियो।
यस प्रकरणमा ३१ जना पक्राउ परेका छन्, जसमध्ये १८ जना कारागारमा छन् भने बाँकीको मुद्दा अदालतमा विचाराधीन रहेको प्रहरीले जनाएको छ। पछिल्लो पटक Sunshine West क्षेत्रबाट ३९ वर्षीय एक भारतीय नागरिक पक्राउ परेका छन्। उनीमाथि ठूलो परिमाणमा चोरी गरेको आरोप छ।
प्रहरीका अधिकारीहरूका अनुसार यो गिरोह अत्यन्त व्यवस्थित र योजनाबद्ध ढंगले सञ्चालन भइरहेको थियो। उनीहरूले टोली बनाएर लक्षित स्थानमा चोरी गर्ने, लामो दूरीसम्म यात्रा गर्ने र कमजोर सुरक्षायुक्त पसलहरू रोज्ने रणनीति अपनाउने गरेका थिए।
प्रहरीले यस्तो अपराधले व्यवसाय र उपभोक्ता दुवैलाई असर पार्ने भएकाले यसलाई गम्भीर रूपमा लिन आग्रह गरेको छ। साथै, दोषी ठहर भएका अवैध बसोबासीलाई सजायपछि देश निकाला गरिने पनि जनाइएको छ।