गणेश नेपालीको मृत्यु: व्यक्तिगत त्रासदी कि सामाजिक असफलता ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ। कसैले यसलाई सरकारी निकायसँगको विवादको परिणामका रूपमा हेरेका छन् भने कसैले जरिवाना, पार्किङ व्यवस्थापन वा व्यक्तिगत मानसिक तनावसँग जोडेर व्याख्या गरिरहेका छन्। उपलब्ध समाचारहरूका अनुसार परिवारको जिम्मेवारी बहन गरिरहेका एक युवा राइड–सेयर चालक गणेश नेपाली आर्थिक दबाबसँग संघर्षरत थिए र यही क्रममा काठमाडौंस्थित राहदानी विभाग अगाडिको घटनाले दुःखद मोड लिएको थियो।
तर समाजशास्त्रीय दृष्टिले हेर्दा एउटा अझ गम्भीर प्रश्न उठ्छः
कस्तो समाजले यति धेरै असुरक्षा उत्पादन गर्छ, जहाँ एउटा सामान्य देखिने टकराव नै वर्षौंदेखि थुप्रिँदै आएको निराशाको अन्तिम बिन्दु बन्न पुग्छ?
यस प्रश्नको उत्तर खोज्न पोलिस–ब्रिटिश समाजशास्त्री जिग्मन्ट बाउमन (Zygmunt Bauman) को ‘तरल आधुनिकता’(Liquid modernity) सम्बन्धी अवधारणाले महत्वपूर्ण सैद्धान्तिक आधार प्रदान गर्छ।
ठोस जीवनदेखि तरल जीवनतर्फ
बाउमनका अनुसार समकालीन समाज “तरल आधुनिकता” को युगमा प्रवेश गरिसकेको छ। विगतमा मानिसको जीवन अपेक्षाकृत स्थिर संस्थाहरूमा आधारित थियो: स्थायी रोजगारी, बलिया सामुदायिक सम्बन्ध, पूर्वानुमान गर्न सकिने पेशागत यात्रा र स्पष्ट सामाजिक भूमिका। तर आज ती आधारहरू क्रमशः कमजोर बन्दै गएका छन्।
जीवन तरल बनेको छ।
रोजगारी अस्थायी छन्।
सम्बन्धहरू कमजोर र अनिश्चित छन्।
सामाजिक सुरक्षाका संरचनाहरू अपर्याप्त छन्।
पहिले समाज र संस्थाहरूले सामूहिक रूपमा वहन गर्ने जोखिमहरू आज व्यक्तिमाथि नै थोपरिएका छन्। सफलतालाई व्यक्तिगत उपलब्धि बनाइएको छ र असफलतालाई व्यक्तिगत कमजोरी। मानिस सफल भयो भने उसको परिश्रमको प्रशंसा गरिन्छ; असफल भयो भने समाज प्रायः उसैलाई दोष दिन्छ। र बाउमनका अनुसार समाजमा नागरिकहरू क्रमशः “एक्ला जोखिम–वहनकर्ता”मा परिणत हुँदै जान्छन्। गणेश नेपालीको जीवनकथा यही यथार्थसँग पीडादायी रूपमा मेल खाएको देखिन्छ।
नेपालको शहरी अर्थतन्त्रमा काम गर्ने हजारौं राइड–सेयर चालकजस्तै उनको जीवन पनि प्लेटफर्म–आधारित श्रम बजारको अनिश्चितताभित्र सीमित थियो। उनीहरूको आम्दानी दैनिक यात्रु, इन्धनको मूल्य, बजारको माग र शहरभित्रको निरन्तर गतिशीलतामा निर्भर हुन्छ। परिवारको जिम्मेवारी बहन गर्दै वैदेशिक रोजगारीको तयारीसमेत गरिरहेको एक युवा व्यक्तिको जीवन, सुरक्षाभन्दा बढी अनिश्चितताले परिभाषित गरिरहेको थियो। उनको जीवनको केन्द्रमा सुरक्षा थिएन, अनिश्चितता थियो।
नयाँ “प्रेकारियट”को उदय
बाउमनको सिद्धान्तले हामीलाई राइड–सेयर चालकहरूलाई केवल “कामदार”का रूपमा मात्र नभई समकालीन समाजशास्त्रीहरूले भनेजस्तै “प्रेकारियट” (Precariat) भन्ने वर्गका सदस्यका रूपमा बुझ्न सहयोग गर्छ। प्रेकारियट भनेको त्यस्तो समूह हो जसको जीविका स्थायी रूपमा असुरक्षित हुन्छ।
प्रेकारियटको जीवन परम्परागत कामदारको जीवनभन्दा भिन्न हुन्छ।
भोलिको आम्दानीको कुनै ग्यारेन्टी हुँदैन। संस्थागत सुरक्षा अत्यन्त सीमित हुन्छ। प्रत्येक दिन नयाँ आर्थिक हिसाबकिताबबाट सुरु हुन्छ।
सरकारी वा शहरी प्रशासनका दृष्टिकोणबाट पार्किङ जरिवाना, साइकल वा मोटरसाइकलमा लगाइएको ह्विल लक, काम नै गर्न नपाएको एक दिन, वा अप्रत्याशित खर्च सामान्य प्रशासनिक प्रक्रिया जस्तो लाग्न सक्छ। तर दैनिक रोजीरोटीमा निर्भर व्यक्तिका लागि यस्ता घटनाहरूले असमान रूपमा गम्भीर प्रभाव पार्न सक्छन्।
यो केवल पैसाको प्रश्न होइन।
यो गरिमाको प्रश्न पनि हो।
बाउमनले चेतावनी दिँदै भन्छन्, तरल आधुनिकताले दीर्घकालीन चिन्ता र असुरक्षाको भावना उत्पन्न गर्छ, किनभने मानिसहरू आफूले नियन्त्रण गर्न नसक्ने जोखिमहरूसँग निरन्तर जुध्न बाध्य हुन्छन्। समाज र अर्थतन्त्रले सिर्जना गरेका समस्याहरूको जिम्मेवारी अन्ततः व्यक्तिमाथि नै आइपर्छ।
यस्तो प्रणालीमा असुरक्षा निजीकरण हुन्छ।
र पीडा एक्लो अनुभव बन्छ।
जब शहरले नियम उल्लंघन देख्छ, मानिस देख्दैन
समाजशास्त्रीय विश्लेषण गर्नु भनेको नियम र कानुनको विरोध गर्नु होइन।
शहरलाई ट्राफिक नियम चाहिन्छ। सार्वजनिक स्थानको व्यवस्थापन आवश्यक हुन्छ। कानुनी शासनको महत्व छ।
तर यहाँ प्रश्न अर्कै छ।
प्रश्न यो हो कि के संस्थाहरूले आफ्नो नियन्त्रणभित्र रहेका मानिसहरूको असमान जीवन–यथार्थलाई पहिचान गर्नुपर्छ, पर्दैन?
बाउमनका अनुसार जब आधुनिक प्रशासनिक संरचनाहरू क्रमशः नियमन, कार्यकुशलता र व्यवस्थापनतर्फ केन्द्रित हुँदै जान्छन् तब मानव संवेदनशीलता र सामाजिक असुरक्षालाई बेवास्ता गर्ने खतरा पनि बढ्दै जान्छ।
यही तरल आधुनिकताको एउटा विरोधाभास हो। प्रायः कोही व्यक्ति व्यक्तिगत रूपमा क्रूर हुँदैनन्। र प्रशासनले अपनाएका प्रक्रियाहरू पनि कानुनी र वैध नै हुन सक्छन्। तर त्यसको परिणाम मानवीय हिसाबले अमानवीय हुन सक्छ।
गणेश नेपालीको दुःखद घटनाले हामीलाई यही तनावबारे सोच्न बाध्य बनाउँछ। यदि उनका परिवारले घटनापछि व्यक्त गरेका धारणाहरूलाई आधार मान्ने हो भने, प्रशासनिक निकायहरूसँगको पटक–पटकको मुठभेड उनको जीवनमा सञ्चित तनावको एउटा हिस्सा बनिसकेको थियो।
त्यसैले समाजशास्त्रीय प्रश्न यो होइन कि मोटरसाइकलमा लगाइएको ह्विल लक विवादले घटना निम्त्याएको हो वा होइन?
वास्तविक प्रश्न त हाम्रो राज्य प्रशासन र समाज आर्थिक अस्तित्वको किनारमा जीवन निर्वाह गर्न विवश मानिसहरूको सञ्चित पीडाप्रति असंवेदनशील बन्दै गएको किन हो?
“प्रयोगपछि फाल्न मिल्ने जीवन”को राजनीति
बाउमनको सबैभन्दा असहज बनाउने निष्कर्षहरू मध्ये एक के हो भने तरल आधुनिकताले समाजमा क्रमशः त्यस्ता समूहहरूको निर्माण गर्छ, जो सामाजिक रूपमा अदृश्य महसुस गर्न थाल्छन्।
केही वर्गहरू शहर सञ्चालनका लागि अपरिहार्य हुन्छन्, तर राज्यको संरक्षण र सुरक्षाको दायराभन्दा बाहिर पारिन्छन् अर्थात् किनारीकृत गरिन्छन्।
राइड–सेयर चालकहरूले मानिस बोक्छन्, सामान पुर्याउँछन् र शहरी जीवनमा प्राण भर्छन्। उनीहरू केवल यात्रु र वस्तु ओसार्ने श्रमिक मात्र होइनन्, शहरको दैनन्दिन गतिशीलताका संवाहक पनि हुन्। प्रत्येक राइडमार्फत उनीहरूले इमानदारीपूर्वक राज्यलाई कर बुझाउँछन्, जसले देशको अर्थतन्त्रलाई चलायमान राख्न महत्त्वपूर्ण योगदान पुर्याउँछ। तिनै करहरूबाट राज्य सञ्चालन हुन्छ र राज्य सञ्चालकहरूको तलब–भत्ताको व्यवस्थासमेत गरिन्छ। तर विडम्बना के छ भने, अर्थतन्त्र र सार्वजनिक जीवनलाई निरन्तर गतिशील बनाइरहेका यी श्रमिकहरू नै प्रायः सामाजिक सुरक्षा, श्रम संरक्षण तथा आधारभूत श्रम अधिकारबाट वञ्चित हुन बाध्य छन्।
उनीहरू आवश्यक छन्, तर असुरक्षित।
शहरी जीवनका दृश्यमा छन्, तर उपेक्षित।
सबैतिर उपस्थित छन्, तर कहीं पनि सुरक्षित छैनन्।
यसैले गणेश नेपालीको घटनालाई केवल कुनै एक व्यक्ति, संस्था वा घटनाको दोषमा सीमित गर्नु पर्याप्त हुँदैन। त्यसो गर्दा यसका पछाडि रहेका गहिरा सामाजिक, आर्थिक र संरचनागत यथार्थहरू ओझेलमा पर्न सक्छन्।
समस्या यो एउटा “घटना”मात्र होइन।
समस्या असुरक्षाको सामान्यीकरणमा छ।
जब हजारौं मानिसहरू एक ऋण, एक जरिवाना, एक आकस्मिक खर्च वा एक दिनको आम्दानी गुम्नुको दूरीमा संकटपूर्ण जीवन बाँचेका हुन्छन् वा बाँच्न विवश छन्, यो नै समाज खतरनाक दिशातर्फ अनियन्त्रित रूपमा अघि बढिरहेको एउटा बलियो र स्पष्ट संकेत हो।
गणेश नेपालीको असामयिक निधनले उठाएका प्रश्नहरू ?
गणेश नेपालीको मृत्यु केवल व्यक्तिगत त्रासदी मात्र होइन।
यो वर्तमान नेपालको सामाजिक ऐना हो।
बाउमनको दृष्टिकोणबाट हेर्दा यसले तीव्र रूपमा शहरीकरण हुँदै गएको तर आफ्ना श्रमिकहरूलाई समान रूपमा सुरक्षा दिन नसकेको नेपालको तस्वीर देखाउँछ। यसले आर्थिक जोखिमहरू क्रमशः संस्थाबाट व्यक्तितर्फ सारिँदै गएको यथार्थ उजागर गर्छ। र यसले शहरलाई गतिशील बनाउने मानिसहरू नै सबैभन्दा धेरै अनिश्चितताको भार बोक्न बाध्य भएको अवस्था देखाउँछ।
तरल आधुनिकताको सबैभन्दा असहज पाठ के हो भने निराशा प्रायः एकैचोटि जन्मिँदैन।
यो असुरक्षा, अपमान, तनाव र कमजोर बन्दै गएको आशाका असंख्य क्षणहरूबाट विस्तारै निर्माण हुन्छ।
त्यसैले नेपालको सामुन्ने रहेको प्रश्न एक युवा राइड–सेयर चालकमाथि के भयो भन्ने मात्र होइन। प्रश्न हामीले गरिमा, सुरक्षा र आशामा आधारित समाज निर्माण गरिरहेका छौं, कि जीवन धान्ने सम्पूर्ण बोझ व्यक्तिमाथि मात्र थोपर्ने समाज ?
बाउमनले हामीलाई सम्झाउँदै भन्छन्: जब पीडालाई केवल व्यक्तिगत समस्या मान्न थालिन्छ तब राज्यसमाजले आफ्नै जिम्मेवारी देख्न छोड्छ, अरूको थाप्लोमा दोष थोपर्ने प्रयास गर्न थाल्छ र बिस्तारै असफलता र विग्रहको बाटोतर्फ लम्किन्छ।
गणेश नेपालीको मृत्युले एउटा असहज प्रश्न छाडेर गएको छ: हामी नागरिकलाई बाँच्ने आशा दिने समाज बनाइरहेका छौं कि संघर्षको सम्पूर्ण बोझ उनैका काँधमा थोपर्दै छौं ? आफ्नै संरक्षण र हेरचाहको जिम्मेवारीमा रहेका नागरिकहरू किन निराशा र आत्मविनाशतर्फ धकेलिँदै छन् भन्ने प्रश्नमा राज्यले अब इमानदारीपूर्वक जवाफ दिनैपर्छ। थप मानवीय, न्यायपूर्ण र जवाफदेही समाज निर्माण गर्नु नै गणेश नेपालीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। अन्यथा, गणेश नेपालीहरू फेरि पनि जन्मिरहनेछन्, र हाम्रो सामूहिक मौनता फेरि कुनै अर्को त्रासदीको साक्षी बन्नेछ।
डा. नबराज मुडवरी शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद् तथा लेखक हुन्। विद्यालय, कलेज र विश्वविद्यालय तहको शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढी अनुभव भएका उहाँ शिक्षा, समाज र अध्यात्मका विषयमा नियमित रूपमा कलम चलाउनुहुन्छ।

हजुर ले बिस्लेसन गार्नु भय को 100./साही छ सहि हो मज्दुर कसरी दैनिकी गुजारा गर्छ भन्ने सोच पनि हुनु पर्छ जरिवाना मात्रै ठुलो सोच भयो हामी सङ कर र जरिवना लिन्छ त्र जन्ता लाइ के दिन्छ गणेश नेपाली जस्ता कैउले जिबन गुमाए अब यस्तो अबस्था नदोहोर्याउन सरकार सङगा अनुरोध छा
Thank you Krishna Timalsina jyu for your observation. Regards, Nabaraj