शिक्षा र समाज

बाल्यकालदेखि किन आवश्यक छ आध्यात्मिक शिक्षा?

बाल्यकालदेखि किन आवश्यक छ आध्यात्मिक शिक्षा?
डा. नबराज मुडवरी
३२ असार २०८३ ११:३४

यदि आज तपाईंलाई एउटा मात्र विकल्प दिइयो भने, तपाईं आफ्ना सन्तानका लागि के रोज्नुहुन्छ: धेरै धनसम्पत्ति कि असल संस्कार?

हरेक अभिभावक आफ्ना सन्ततिले सफल जीवन जिऊन्, उन्नति गरून्, परिवारको नाम उज्यालो बनाऊन् र बुढेसकालमा आफूहरूको साथ, सम्मान तथा हेरचाह गरून् भन्ने अपेक्षा राख्छन्।

त्यसैले हामी उनीहरूका लागि राम्रो विद्यालय खोजेर भर्ना गराउँछौँ, आवश्यक परे ट्युसन तथा कोचिङ कक्षामा पठाउँछौँ, र प्रविधिसँग जोड्न घरमै कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्छौँ। अर्थात्, आफ्ना सन्तानले राम्रो शिक्षा हासिल गरून्, जीवनमा प्रगति गरून् र सफल भविष्य निर्माण गरून् भन्ने अपेक्षासहित हामी समय, श्रम र स्रोतको ठूलो लगानी गरिरहेका हुन्छौँ।

तर यी सबै प्रयासका बीच एउटा महत्त्वपूर्ण प्रश्न भने बारम्बार ओझेलमा पर्ने गरेको छ:

के हामी आफ्ना छोराछोरीलाई राम्रोसँग पढ्न, कमाउन र सफल हुन मात्र सिकाइरहेका छौँ, वा जीवनलाई सही ढङ्गले बुझ्न, जिम्मेवारीपूर्वक बाँच्न र असल मानव बन्न पनि सिकाइरहेका छौँ? यदि हामी बालबालिकालाई सानैदेखि गणित, विज्ञान, भाषा र प्रविधिको शिक्षा दिन आवश्यक ठान्छौँ भने नैतिकता, आत्मबोध, करुणा, क्षमाशीलता, आत्मअनुशासन र जिम्मेवारीबोध सिकाउनु पनि उत्तिकै आवश्यक होइन र?

यो लेखमा आजको भागदौडपूर्ण, अत्यधिक प्रतिस्पर्धात्मक र द्रुतगतिमा परिवर्तनशील समाजमा यिनै प्रश्नहरूको औचित्य, सान्दर्भिकता तथा प्रभावबारे समीक्षा र विश्लेषण प्रस्तुत गरिएको छ।

शिक्षाको विस्तार, तर जीवनबोधको संकुचन

आधुनिक समाजले शिक्षालाई मुख्यतः आर्थिक सफलतासँग जोडेर हेर्ने प्रवृत्ति विकास गरेको छ। विद्यालय विश्वविद्यालयहरू सीप, दक्षता प्रतिस्पर्धी क्षमता निर्माणमा केन्द्रित छन्। यो आवश्यक पनि छ। तर एउटा विरोधाभास पनि सँगै देखिन्छ।

भौतिक उपलब्धिहरू बढ्दै जाँदा मानसिक तनाव, चिन्ता, निराशा, आत्महत्या, सम्बन्ध विच्छेद, हिंसा, दुर्व्यसन तथा उद्देश्यहीनताको अनुभूति पनि बढिरहेको देखिन्छ। सूचना ज्ञानको अभाव नभए पनि आत्मचिन्तनको अभाव बढ्दो छ।

सञ्जालहरू विस्तार भएका छन्, तर भावनात्मक सम्बन्धहरू कमजोर बन्दै गएका छन्। त्यसैले एउटै घरमा सँगै बस्ने मानिसहरू पनि आपसमा गफिनुको सट्टा मोबाइलमा व्यस्त हुने गरेका छन्। सफल हुने दबाब बढेको , तर सन्तुष्ट भएर बाँच्न सक्ने क्षमता घट्दै गएको छ।

यस्तो परिस्थितिमा प्रश्न उठ्छ

के हामीले शिक्षाको कुनै अत्यन्त महत्वपूर्ण पक्षलाई उपेक्षा गरिरहेका त छैनौँ जसको अभावले समाजलाई जोड्न भन्दा पनि तोड्न बढी उद्यत छ?

आध्यात्मिकता भनेको धर्म होइन, आत्मचेतनाको विकास हो

नेपाली समाजमा आध्यात्मिकता शब्द सुन्नासाथ धेरैले धर्म, पूजापाठ वा कर्मकाण्ड वा धार्मिक अनुष्ठानलाई सम्झने गर्छन्। तर आध्यात्मिकताको अर्थ त्योभन्दा धेरै फराकिलो छ। आध्यात्मिकता भनेको आफूलाई चिन्ने प्रक्रिया हो।  आफ्ना भावना बुझ्ने क्षमता हो। सही गलतबीच विवेकपूर्ण निर्णय गर्न सक्ने शक्ति हो। अरूप्रति करुणा, सम्मान सहानुभूति राख्ने चेतना हो। जीवनलाई केवल उपलब्धिहरूको सूची नभई अर्थपूर्ण यात्राका रूपमा हेर्ने दृष्टिकोण हो।समग्रमा आफूतर्फ फर्कने चिन्तन हो । त्यसैले आध्यात्मिक शिक्षाको उद्देश्य कुनै विशेष धार्मिक आस्था निर्माण गर्नु होइन; बरु मानिसभित्र रहेको मानवता, नैतिकता, चेतना आत्मबोधलाई विकसित गर्नु हो।

बाल्यकालः चरित्र निर्माणको निर्णायक चरण

मनोविज्ञान र शिक्षाशास्त्रका अनेक अध्ययनहरूले देखाएका छन् कि बाल्यकाल व्यक्तित्व निर्माणको सबैभन्दा संवेदनशील र प्रभावकारी चरण हो। यही समयमा बालबालिकाले संसारलाई बुझ्न सिक्छन्। यही समयमा मूल्य, बानी, सोच्ने तरिका र व्यवहारका आधारहरू निर्माण हुन्छन्।मानिस जीवनभरि धेरै कुरा सिक्न सक्छ, तर प्रारम्भिक वर्षहरूमा स्थापित भएका दृष्टिकोणहरूले उसको सम्पूर्ण जीवनलाई गहिरो प्रभाव पार्छन्। यही कारणले आध्यात्मिकतालाई जीवनको उत्तरार्धका लागि सुरक्षित राख्नु बुद्धिमानी होइन।  यदि जीवनको कुनै चरणमा आध्यात्मिक शिक्षाको आवश्यकता सबैभन्दा बढी छ भने त्यो बाल्यकाल नै हो।

असुरक्षित युगमा आन्तरिक स्थिरताको आवश्यकता

आजका बालबालिका र किशोरकिशोरीहरू अभूतपूर्व अवसर र चुनौतीहरूको संगममा हुर्किरहेका छन्। सामाजिक सञ्जालको प्रभाव, बढ्दो शैक्षिक प्रतिस्पर्धा, पारिवारिक अपेक्षा, साथीसङ्गीको दबाब तथा निरन्तर तुलना गर्ने संस्कृतिले उनीहरूको मानसिक संसारलाई जटिल बनाइरहेको छ। यस परिस्थितिमा धेरै बालबालिका चिन्ता, तनाव, आत्मविश्वासको कमी तथा भविष्यप्रतिको अन्योलसँग जुधिरहेका छन्।

यस्ता समस्याहरूको समाधान केवल बाह्य नियन्त्रणबाट सम्भव छैन। आन्तरिक शक्ति आवश्यक छ। आन्तरिक शक्ति विकासका लागि ध्यान, आत्मचिन्तन, कृतज्ञता, आत्मनियन्त्रण र भावनात्मक सचेतनाजस्ता आध्यात्मिक अभ्यासहरू महत्वपूर्ण मानिन्छ। खुसीको कुरा के छ भने यस्ता अभ्यासहरूका लागि कुनै विशेष आर्थिक लगानी आवश्यक पर्दैन। हरेक अभिभावकले थोरै समय, सचेतता र दृढ इच्छाशक्तिका साथ घरमै आफ्ना बालबालिकामा यस्ता बानीहरूको विकास गराउन सक्छन्।

उदाहरणका लागि, 

दिनको अन्त्यमा परिवारका सदस्यहरू सँगै बसेर दिनभरिमा आफूले अनुभव गरेका तीनवटा राम्रो कुराप्रति कृतज्ञता व्यक्त गर्ने बानी बसाल्न सकिन्छ। 

त्यसैगरी, हरेक बिहान वा साँझ दुई–चार मिनेट शान्त बसेर गहिरो श्वास–प्रश्वास गर्ने र मनलाई एकाग्र बनाउने अभ्यास गराउन सकिन्छ। 

बालबालिकाले गल्ती गरेमा केवल सजाय दिने होइन, “तिमीबाट यो किन भयो?” भनेर आत्मचिन्तन गर्न प्रोत्साहन दिन सकिन्छ। 

घरका ज्येष्ठ सदस्यको सम्मान गर्ने, घरमा आएका पाहुनाप्रति आदरभाव देखाउने, आवश्यकतामा परेका व्यक्ति तथा समूहलाई सहयोग गर्ने तथा आफ्नो काम आफैं गर्ने जस्ता सामान्य व्यवहारहरू पनि आध्यात्मिक शिक्षाकै व्यावहारिक रूप हुन्।

यस्ता साना तर नियमित अभ्यासहरूले बालबालिकामा आत्मअनुशासन, करुणा, जिम्मेवारीबोध, सहिष्णुता र आत्मविश्वासजस्ता गुणहरूको विकास गर्न मद्दत गर्छन्।  वास्तवमा, आध्यात्मिक शिक्षाको सुरुआत कुनै जटिल सिद्धान्तबाट होइन, परिवारभित्रका यिनै सरल र जीवनोपयोगी अभ्यासहरूबाट हुन्छ।

किनकि हेर्दा सरल लाग्ने यी अभ्यासहरूले बालबालिकालाई आफ्ना भावनाहरू बुझ्न, कठिन परिस्थितिको सामना गर्न र विभिन्न दबाबका बीच पनि सन्तुलित निर्णय लिन सहयोग पुर्‍याउँछन्।

जब आर्थिक सफलता मात्र लक्ष्य बन्छ

समकालीन समाजले आर्थिक सफलतालाई अत्यधिक महत्त्व दिएको पाउँछौँ। जुन गलत पनि होइन। तर आर्थिक सफलता हासिल गर्ने क्रममा यदि चरित्र, नैतिकता र मानवतालाई बेवास्ता गरियो भने त्यसको मूल्य निकै महँगो पर्न सक्छ। 

यसैले हाम्रा पूर्वजहरूले पनि भनेका छन्: “पूतः सपूतः यदि, किं धनसञ्चयेन? पूतः कपूतः यदि, किं धनसञ्चयेन?” अर्थात् सन्तान सुपुत्र छ भने उसका लागि धन थुपारिरहन आवश्यक पर्दैन, किनकि उसले आफ्नै क्षमता, परिश्रम र सद्‌संस्कारका बलमा भविष्य निर्माण गर्न सक्छ। तर यदि सन्तान कुपुत्र छ भने सञ्चित धनसम्पत्तिसमेत दुरुपयोग गरेर क्षणिक विलासिता र फजुल खर्चमा नष्ट गर्न सक्छ। त्यसैले सन्तानलाई सम्पत्ति मात्र होइन, असल संस्कार, नैतिक मूल्य र चरित्रको उत्तराधिकार दिनु अझ महत्त्वपूर्ण हुन्छ।

समाजमा आर्थिक रूपमा सफल व्यक्तिहरूको कमी छैन, तर हरेक सफल व्यक्ति आदर्श सन्तान, जिम्मेवार नागरिक र उच्च नैतिक चरित्र भएको मानव भने नहुन पनि सक्छ। त्यसैले सफलतासँगै सन्तान संस्कारवान, कर्तव्यनिष्ठ र मानवीय मूल्यप्रति प्रतिबद्ध हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

आध्यात्मिक शिक्षाले बालबालिकामा नैतिकता, करुणा, आत्मअनुशासन, जिम्मेवारीबोध तथा संस्कारजस्ता जीवनोपयोगी मूल्यहरूको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले बालबालिकामा अधिकारसँगै कर्तव्यको चेतना विकास गर्छ। प्रतिस्पर्धासँगै सहकार्य सिकाउँछ। व्यक्तिगत सफलतासँगै परिवार र समाजप्रतिको आफ्नो दायित्व तथा जिम्मेवारी पनि सम्झाउँछ।

समस्या देखिएपछि होइन, त्यसअघि

हामी प्रायः तब मात्र सचेत हुन्छौँ जब समस्या देखिन थाल्छ। बालबालिका अध्ययनबाट विमुख भएपछि, गलत संगतमा लागेपछि, दुर्व्यसनतर्फ आकर्षित भएपछि वा नैतिक रूपमा विचलित भएपछि मात्र समाधान खोज्न थालिन्छ।

आजकल धेरै अभिभावकहरूको एउटा गुनासो बारम्बार सुनिन्छ: छोराछोरीलाई आफूले खाई–नखाई, दुःख–कष्ट सहेर हुर्कायौँ, पढायौँ र सक्षम बनायौँ। तर जब उनीहरू सक्षम र सफल भए, तब हाम्रो बुढेसकालमा उचित हेरचाह गरेनन्। कतिपय अवस्थामा त हामीलाई वृद्धाश्रममै पठाइदिए। उनीहरूले हामीप्रति अपेक्षित माया, सम्मान र आत्मीयता देखाउँदैनन्; बरु हेलाहोचो र उपेक्षाको व्यवहार गर्छन्।

त्यसैले अभिभावकहरूको वास्तविक बुद्धिमानी त त्यहाँ हुन्छ जहाँ समस्या देखिनुअघि नै आफ्नो सन्ततिमा उचित मूल्य र संस्कारहरूको बीजारोपण गरिन्छ। किनकि चरित्र एक दिनमा निर्माण हुँदैन। यो दीर्घकालीन अभ्यास, उपयुक्त शिक्षा र मार्गदर्शनको परिणाम हो।

भौतिक र आध्यात्मिक शिक्षा: प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्

कतिपयले आध्यात्मिक शिक्षालाई भौतिक शिक्षाको विकल्पका रूपमा बुझ्ने गल्ती गर्छन्। वास्तवमा यी दुई एकअर्काका प्रतिस्पर्धी होइनन्। भौतिक शिक्षाले व्यक्तिलाई सीप, ज्ञान र पेशागत क्षमता दिन्छ। आध्यात्मिक शिक्षाले विवेक, चरित्र र जीवनको दिशा दिन्छ। एउटाले जीवन निर्वाह गर्न सिकाउँछ। अर्कोले जीवनलाई अर्थपूर्ण बनाउन सिकाउँछ। दुवैको सन्तुलनले मात्र पूर्ण व्यक्तित्व निर्माण सम्भव हुन्छ।

हामी कहाँनेर चुकिरहेका छौँ?

आजको समाजले हामी सबैलाई एउटा असहज तर अत्यन्तै महत्त्वपूर्ण प्रश्न सोधिरहेको छ:

के हामी आफ्ना छोराछोरीलाई केवल राम्रो अंक, आकर्षक करियर र उच्च आम्दानीका लागि तयार गर्दैछौँ, वा उनीहरूलाई जीवनका उतारचढाव सामना गर्न सक्ने, आत्मअनुशासित, नैतिक, करुणाशील र संवेदनशील मानवका रूपमा पनि विकसित गरिरहेका छौँ?

वास्तविकता के हो भने आज हामीले शिक्षाको भौतिक पक्षलाई प्राथमिकता दिँदै जाँदा व्यक्तित्व निर्माणको आन्तरिक पक्षलाई क्रमशः ओझेलमा पारिरहेका छौँ।  हामी सफलताको सूत्र सिकाइरहेका छौँ, तर सफलतालाई जिम्मेवारीपूर्वक उपयोग गर्ने विवेक सिकाउन भने चुकिरहेका छौँ।  हामी प्रतिस्पर्धा सिकाइरहेका छौँ, तर सहानुभूति र सहअस्तित्वका मूल्यहरू हस्तान्तरण गर्न पर्याप्त ध्यान दिइरहेका छैनौँ। त्यसैले आध्यात्मिकता बुढेसकालको आवश्यकता मात्र होइन; यो त जीवनको प्रारम्भदेखि नै आवश्यक पर्ने चेतना हो। किनकि मानिसको चरित्र, मूल्य र जीवनदृष्टिको आधार बाल्यकालमै निर्माण हुन्छ।

यदि हामीले बालबालिकामा आत्मबोध, करुणा, अनुशासन, कृतज्ञता, सहिष्णुता र जिम्मेवारीबोधका बीउ समयमै रोप्न सक्यौँ भने, हामी केवल सफल व्यक्तिहरू मात्र होइन, आत्मविश्वासी, चरित्रवान, नैतिक, देशप्रेमी र जिम्मेवार नागरिक पनि निर्माण गर्न सक्छौँ जसले आफ्नो परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीहरू निष्ठापूर्वक निर्वाह गर्न सकोस्।

अन्ततः, कुनै पनि राष्ट्रको वास्तविक शक्ति केवल आर्थिक समृद्धिमा होइन, त्यसका नागरिकहरूको चरित्र, चेतना र मानवीय मूल्यमा निहित हुन्छ।  र सायद, आजको समाजलाई सबैभन्दा बढी आवश्यक पनि यही हो।

 

डा. नबराज मुडवरी शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद् तथा लेखक हुन्। विद्यालय, कलेज र विश्वविद्यालय तहको शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढी अनुभव भएका उहाँ शिक्षा, समाज र अध्यात्मका विषयमा नियमित रूपमा कलम चलाउनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर