नेपाली मूलककी यी पत्रकार कसरी पुगिन् अस्ट्रेलियाको युरेका पुरस्कारको फाइनलमा?

नेपाली मूलककी यी पत्रकार कसरी पुगिन् अस्ट्रेलियाको युरेका पुरस्कारको फाइनलमा?
नेपालआईज
१४ साउन २०८३ २१:५६

सिड्नी। नेपाली मूलकी विज्ञान पत्रकार स्मृति मल्लपाटी सन् २०२६ को अस्ट्रेलियन म्युजियम युरेका पुरस्कार (विज्ञान पत्रकारिता विधा) का फाइनलिस्टमा परेकी छन्। हाल Nature पत्रिकाका लागि सिड्नीबाट एसिया-प्रशान्त क्षेत्र, संक्रामक रोग र जैविक विज्ञान विषयमा रिपोर्टिङ गर्ने मल्लपाटी संस्थाकी वरिष्ठ संवाददाता हुन्।

फाइनलमा पुर्‍याउने रिपोर्ट जापानको स्टेम सेल उपचार प्रविधिसम्बन्धी थियो, जुन Nature.com मा १६ अप्रिल २०२५ मा प्रकाशित भएको थियो। सो फिचरमा उनले इन्ड्युस्ड प्लुरिपोटेन्ट स्टेम सेल (iPS cells) — शरीरका परिपक्व कोषलाई पुनःप्रोग्राम गरी विभिन्न प्रकारका कोषमा रूपान्तरण गर्न सकिने प्रविधि  प्रयोग गरिने पुनरुत्पादक उपचार पद्धतिको अध्ययन प्रस्तुत गरेकी थिइन्। जापानका प्रयोगशाला, स्टेम सेल उत्पादन केन्द्र र अस्पतालहरूमा गएर लिइएका अन्तर्वार्तामा आधारित उक्त रिपोर्टले यस्ता प्रविधिलाई मानव उपचारमा औपचारिक रूपमा स्वीकृति दिने विश्वकै पहिलो मुलुक बन्ने जापानको तयारीलाई केलाएको छ।

अस्ट्रेलियन म्युजियमले हालै सन् २०२६ का लागि जम्मा १९ विधामा ५८ जना/समूह फाइनलिस्ट घोषणा गरेको छ, जसमध्ये विज्ञान पत्रकारिता विधामा मल्लपाटीसहित थप प्रतिस्पर्धी सामेल छन्। यी प्रतिष्ठित पुरस्कारलाई अस्ट्रेलियाको विज्ञान क्षेत्रमा हुने उत्कृष्ट कार्यको सबैभन्दा व्यापक राष्ट्रिय सम्मानका रूपमा लिइन्छ। विजेताको घोषणा ३ सेप्टेम्बर २०२६ मा सिड्नी टाउन हलमा हुने समारोहमा गरिनेछ, जुन अनलाइन प्रसारण मार्फत पनि हेर्न सकिनेछ।

अस्ट्रेलियन म्युजियमका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत किम म्याकेले ३६ वर्षदेखि निरन्तर यी पुरस्कारले वैज्ञानिक सहकार्य, अनुसन्धान र नवप्रवर्तनलाई सम्मान गर्दै आएको बताइन्। उनका अनुसार यसले युवा अस्ट्रेलियालीहरूलाई विज्ञानमा आफ्नो भविष्य देख्न र संसारका बारेमा उनीहरूको जिज्ञासाले फरक पार्न सक्ने कुरामा प्रेरित गर्छ। यस वर्षका फाइनलिस्टहरूले स्वास्थ्य सेवा सुधार्ने, जलवायु परिवर्तनसँग सामना गर्ने, स्वच्छ ऊर्जा अगाडि बढाउने र उदीयमान प्रविधिमा विश्वास निर्माण गर्ने जस्ता विश्वव्यापी चुनौती समाधानमा अस्ट्रेलियाली विज्ञान अग्रस्थानमा रहेको देखाउने म्याकेको भनाइ छ।

यस वर्षका उल्लेखनीय फाइनलिस्टहरूमा अनलाइन लाखौं दर्शकलाई प्रेरित गर्ने एक आदिवासी (फर्स्ट नेसन्स) खगोल भौतिकशास्त्री, कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट डिमेन्सियाको प्रारम्भिक पहिचान, कार्बन उत्सर्जनलाई दिगो हवाई इन्धनमा रूपान्तरण गर्ने प्रविधि, विरलै निको हुन सकिने भनिएका छाला रोगका लागि नयाँ उपचार पद्धति, र स्ट्रोकको जोखिम पूर्वानुमान गर्न सहयोग गर्ने 3D-प्रिन्टेड धमनी सम्बन्धी अनुसन्धान पर्छन्।

यसबाहेक कृत्रिम बुद्धिमत्तामा पूर्वाग्रह कम गर्ने, क्वान्टम रसायनशास्त्रलाई नयाँ आकार दिने प्रविधि विकास गर्ने, प्रवाल भित्तालाई पुनर्स्थापना गर्ने र भावी विपत्तिसँग जुध्न अस्ट्रेलियालाई तयार पार्ने टोलीहरू पनि फाइनलमा समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर