सन्तानप्रतिको माया कि उनीहरूको गोपनीयतामाथिको हस्तक्षेप?

हरेक अभिभावक आफ्ना सन्तानप्रति गर्व गर्छन्। बच्चाले पहिलो पटक हिँडेको, बोलेको, विद्यालय गएको वा कुनै उपलब्धि हासिल गरेको क्षणलाई सम्झनास्वरूप सुरक्षित राख्न चाहनु स्वाभाविक हो। एक समय यस्ता सम्झनाहरू फोटो एल्बम, डायरी वा पारिवारिक जमघटमा सीमित हुन्थे।
तर आजको डिजिटल युगमा ती सम्झनाहरू फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमार्फत सयौँ वा हजारौँ मानिससम्म पुगिरहेका छन्। बच्चाको अल्ट्रासाउन्ड तस्वीरदेखि जन्मदिन, विद्यालय, स्वास्थ्य अवस्था र दैनिक गतिविधिसम्म सार्वजनिक गर्ने प्रवृत्तिलाई शेरेन्टिङ (Sharenting) भनिन्छ। आज धेरै बालबालिकाको डिजिटल पहिचान जन्मिनुअघि नै सुरु भइसकेको हुन्छ।
पहिलो दृष्टिमा यो सामान्य र निर्दोष लाग्न सक्छ।
आखिर आफ्नै बच्चाको तस्वीर राख्नुमा के गलत छ र?
तर प्रश्न त्यति सरल छैन।
बच्चा बोल्न नपाउँदै उसको डिजिटल परिचय
आजका धेरै बालबालिकाले आफ्नो पहिलो सामाजिक सञ्जाल खाता आफैँ खोल्दैनन्। त्यो काम उनीहरूका अभिभावकले गरिदिन्छन्।
कतिपय अवस्थामा बच्चा जन्मनुअघि नै उसका तस्वीरहरू अनलाइन पुगिसकेका हुन्छन्। जन्मिएपछि उसको नाम, जन्ममिति, विद्यालय, स्वास्थ्य अवस्था, रुचि, दैनिकी र व्यवहारसम्बन्धी विवरणहरू विस्तारै डिजिटल संसारमा थपिँदै जान्छन्। बच्चाले आफ्नो नाम राम्ररी लेख्न सिक्नुअघि नै उसको बारेमा सयौँ पोस्ट र हजारौँ डिजिटल अभिलेख तयार भइसकेका हुन्छन्।
यसरी हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ।
के बच्चाको डिजिटल पहिचान निर्माण गर्ने अधिकार अभिभावकलाई मात्र छ?अथवा, बच्चाले आफ्नो पहिचान आफैँ निर्माण गर्ने अवसर पाउनुपर्दैन?
हामी विद्यालय छानिदिन सक्छौँ, मूल्य र संस्कार सिकाउन सक्छौँ, तर उसको सम्पूर्ण डिजिटल इतिहास पनि हामीले नै लेखिदिने अधिकार कहाँसम्म उचित छ?
समस्या प्रेममा होइन, अनुमतिबिनाको खुलासामा छ
शेरेन्टिङको आलोचना गर्दा एउटा कुरा स्पष्ट बुझ्नुपर्छ। अधिकांश अभिभावकले आफ्ना सन्तानलाई हानि पुर्याउने उद्देश्यले सामग्री साझा गर्दैनन्। उनीहरू माया, गर्व, खुशी वा आफन्तसँग सम्बन्ध कायम राख्ने उद्देश्यले तस्वीर र जानकारी पोस्ट गर्छन्।
तर राम्रो उद्देश्यले मात्र सबै कुरा सही हुँदैन।
बच्चा आफैँले आफ्नो निजी जानकारी सार्वजनिक गर्ने वा नगर्ने निर्णय गर्न सक्ने अवस्थामा हुँदैन। उसको गोपनीयताको रक्षा गर्ने जिम्मेवारी जसको हो, त्यही व्यक्ति उसका निजी विवरण संसारसामु प्रस्तुत गरिरहेको हुन्छ।
यही कारण शेरेन्टिङलाई आज अभिभावकीय व्यवहारभन्दा पनि बालअधिकार, गोपनीयता र डिजिटल न्यायको प्रश्नका रूपमा हेरिन थालेको छ।
इन्टरनेटले बिर्सँदैन
हामीमध्ये धेरैले सामाजिक सञ्जाललाई आधुनिक पारिवारिक एल्बमका रूपमा हेर्छौँ।
तर इन्टरनेट पारिवारिक एल्बम होइन।
एल्बम घरमै रहन्थ्यो।
इन्टरनेट विश्वभर पुग्छ।
एक पटक सार्वजनिक भएको सामग्री डाउनलोड गर्न सकिन्छ, प्रतिलिपि बनाउन सकिन्छ, पुनः पोस्ट गर्न सकिन्छ र वर्षौँसम्म विभिन्न प्लेटफर्ममा जीवित रहन सक्छ। आज रमाइलो लागेर पोस्ट गरिएको सामग्री भोलि बच्चाका लागि असहज, लाजमर्दो वा हानिकारक बन्न सक्छ।
हामीले अहिले पोस्ट गरिरहेको सामग्रीको प्रभाव पाँच, दस वा बीस वर्षपछि कस्तो हुन्छ, कसैले निश्चित रूपमा भन्न सक्दैन।
तर एउटा कुरा निश्चित छ।
इन्टरनेटको स्मरणशक्ति मानिसको भन्दा धेरै लामो हुन्छ।
जब बच्चाको नाममा अरूले बोल्न थाल्छन्
शेरेन्टिङको अर्को पाटो अझ रोचक छ, र सायद अझ चिन्ताजनक पनि।
आजकल केही अभिभावकहरूले आफ्ना साना बालबालिकाको नाममा फेसबुक, टिकटक, युट्युब वा इन्स्टाग्राम खाता खोल्ने गरेका छन्। सुरुमा ती खातामा बच्चाका तस्वीर र भिडियोहरू देखिन्छन्। तर समयसँगै त्यही खाताबाट सामाजिक, धार्मिक वा राजनीतिक टिप्पणीहरू आउन थाल्छन्।
हेर्दा लाग्छ, देशका सबैभन्दा कम उमेरका विश्लेषकहरू जन्मिइसकेछन्।
तर वास्तविकता हामी सबैलाई थाहा छ।
बोलिरहेको बच्चा होइन।
बोलिरहेका अभिभावक हुन्।
प्रश्न खाता कसले चलाएको हो भन्ने मात्र होइन। प्रश्न त त्यो डिजिटल पहिचान कसको हो भन्ने हो।
बच्चाले आफ्नो दृष्टिकोण निर्माण गर्ने अवसर नै नपाउँदै उसको नाममा विचार, धारणा र वैचारिक इतिहास निर्माण गरिनु वास्तवमा उसको पहिचानको संरक्षण होइन, उसको पहिचानमाथिको नियन्त्रण हो।
हामी आफ्ना सन्तानलाई स्वतन्त्र सोच्न सिकाउन चाहन्छौँ। तर कहिलेकाहीँ उनीहरूले सोच्न सुरु गर्नुअघि नै उनीहरूको तर्फबाट सोचिदिन्छौँ। उनीहरूले बोल्न सिक्नुअघि नै उनीहरूको तर्फबाट बोलिदिन्छौँ।
बच्चाको नाममा खाता खोल्नु समस्या नहुन सक्छ। तर बच्चाको नाममा आफ्नै विचारहरूको माइक्रोफोन बनाउनु भने सोच्नुपर्ने विषय हो। गोपनीयताको मात्र होइन, सुरक्षाको पनि प्रश्न
धेरै अभिभावकहरू सोध्ने गर्छन्:
“मैले आफ्नो बच्चाको फोटो राखेर के बिग्रियो र?”
प्रश्न जायज छ।
तर जोखिमको वास्तविकता पनि त्यत्तिकै गम्भीर छ।
अनुसन्धानहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका बालबालिकाका तस्वीर र व्यक्तिगत जानकारी विभिन्न प्रकारका डिजिटल जोखिमसँग जोडिन सक्ने देखाएका छन्। बालबालिकाका तस्वीरहरू डाउनलोड गरी अरूले आफ्नो बच्चा भन्दै पुनः प्रयोग गरेका घटनाहरू भेटिएका छन्। यसलाई डिजिटल किडन्यापिङ पनि भनिएको छ।
अझ गम्भीर कुरा, बच्चाको नाम, उमेर, विद्यालय, बसोबास क्षेत्र, दैनिकी र रुचिसम्बन्धी विवरण सार्वजनिक हुँदा उनीहरू सम्भावित अनलाइन ग्रुमिङ को जोखिममा पर्न सक्छन्। ग्रुमिङ भन्नाले भविष्यमा शोषण गर्ने उद्देश्यले बालबालिकासँग विश्वासको सम्बन्ध स्थापना गर्ने प्रक्रियालाई बुझिन्छ।
धेरै अभिभावकले पोस्ट गर्ने सामग्री अलग–अलग हेर्दा सामान्य लाग्न सक्छ। तर ती सबै जानकारी एक ठाउँमा जोड्दा अपरिचित व्यक्तिले बच्चाको जीवनबारे आश्चर्यजनक रूपमा धेरै कुरा थाहा पाउन सक्छ।
जोखिम त्यतिमै सीमित छैन।
कृत्रिम बुद्धिमत्ता (AI) को युगमा निर्दोष रूपमा पोस्ट गरिएका बालबालिकाका तस्वीरहरूलाई परिमार्जन, पुनः प्रयोग वा यौन शोषणसम्बन्धी सामग्री निर्माणका लागि समेत दुरुपयोग गर्न सकिने चिन्ता बढेको छ।
त्यसैले प्रश्न केवल तस्वीरको होइन। तस्वीर कसको हातमा पुग्छ भन्ने पनि हो।
अझ विडम्बना के छ भने, त्यस्ता संवेदनशील विवरणहरू कसैले ह्याक गरेर पाएको होइन, अभिभावकहरूले नै सामाजिक सञ्जालमार्फत सहजै उपलब्ध गराइदिनुभएको हुन्छ।
आजको रमाइलो, भोलिको बुलिइङ
हामीमध्ये धेरैले आफ्ना बच्चाका रमाइला भिडियोहरू पोस्ट गरेका देख्छौँ।
कसैले रोइरहेको भिडियो।
कसैले उच्चारण नमिलेको बोली।
कसैले लडेर उठेको दृश्य।
कसैले शौचालय तालिम सिकिरहेका क्षणहरू।
कसैले अर्धनग्न तस्वीर।
अभिभावकलाई त्यो क्षण प्यारो लाग्न सक्छ। साथीभाइलाई रमाइलो लाग्न सक्छ।
तर एउटा प्रश्न छ।
आज हामी हाँसेर पोस्ट गरिरहेका ती सामग्रीहरू, के उसलाई १५ वर्षको उमेरमा पुग्दा पनि त्यत्तिकै रमाइला लाग्लान्?
अनुसन्धानहरूले देखाएका छन् कि धेरै अभिभावकहरूले आफ्ना सन्तानका लागि लाजमर्दा, निजी वा सम्भावित रूपमा अप्ठ्यारो हुन सक्ने सामग्रीसमेत सार्वजनिक गरिरहेका हुन्छन्। यिनै सामग्रीहरूले भविष्यमा साइबर बुलिइङ, जिस्क्याइ, सामाजिक अपमान वा मानसिक तनाव निम्त्याउन सक्छन्।
हामीले पोस्ट गरेको एउटा भिडियोले केही दिन लाइक पाउन सक्छ।
तर त्यसको असर बच्चाले वर्षौँसम्म बोक्नुपर्ने हुन सक्छ।
जब बालबालिका सामग्री र आम्दानीको स्रोत बन्छन्
आजकल सामाजिक सञ्जालमा परिवार–आधारित सामग्री बनाउने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। कतिपय अभिभावकहरूले आफ्ना बच्चाका भिडियो, गतिविधि र दैनिक जीवनलाई नियमित सामग्री बनाएर फलोअर, प्रसिद्धि र आर्थिक लाभ प्राप्त गरिरहेका छन्।
यसले अर्को नैतिक प्रश्न जन्माउँछ।
जब बालबालिकाको निजी जीवन नै कन्टेन्ट बन्छ, उनीहरूको हित कसरी सुनिश्चित गरिन्छ?
लाइक बढ्छ।
फलोअर बढ्छ।
भ्यु बढ्छ।
तर के बालबालिकाको स्वतन्त्रता पनि बढ्छ?
कहिलेकाहीँ लाग्छ, कतिपय अभिभावक बच्चा हुर्काइरहेका कम र व्यक्तिगत ब्रान्ड निर्माण गरिरहेका बढी देखिन्छन्।
बाल्यकाल एल्गोरिदम र लोकप्रियताको बजारमा बेच्न मिल्ने वस्तु होइन।
अझ गहिरो प्रश्न: हामी किन पोस्ट गरिरहेका छौँ?
शेरेन्टिङबारेको बहस प्रायः गोपनीयता, सुरक्षा र प्रविधिको वरिपरि केन्द्रित हुन्छ। तर यसको एउटा मनोवैज्ञानिक र आध्यात्मिक पक्ष पनि छ, जसबारे कमै चर्चा हुन्छ।
कतिपय अभिभावकहरूलाई आफ्ना सन्तानलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्न रुचि हुन्छ। त्यो स्वाभाविक पनि हुन सक्छ। तर कहिलेकाहीँ त्यसको पछाडि सन्तानप्रतिको प्रेम मात्र होइन, सामाजिक स्वीकृतिको चाहना, प्रशंसाको अपेक्षा वा अरूलाई प्रभावित पार्ने मनोवृत्ति पनि लुकेको हुन सक्छ।
अध्यात्मले मानिसलाई एउटा सरल तर शक्तिशाली प्रश्न सोध्न सिकाउँछ:
मैले यो काम किन गरिरहेको छु? के यो वास्तवमै मेरो बच्चाको हितका लागि हो? कि ध्यान, प्रशंसा र मान्यता प्राप्त गर्ने मेरो आफ्नै चाहनाका लागि?
सायद यहीँ अध्यात्मको प्रासङ्गिकता पनि देखिन्छ। अध्यात्मले नियन्त्रण होइन, सम्मान सिकाउँछ। आफ्ना सन्तानलाई समेत “मेरो विस्तार” होइन, आफ्नै चेतना, अधिकार र भविष्य भएको स्वतन्त्र व्यक्तिका रूपमा हेर्न सिकाउँछ।
हामी मार्गदर्शक हुन सक्छौँ।
संरक्षक हुन सक्छौँ।
तर मालिक बन्न सक्दैनौँ।
सायद यही कारण अध्यात्मले प्रदर्शनभन्दा प्रामाणिकतालाई, स्वामित्वभन्दा जिम्मेवारीलाई र नियन्त्रणभन्दा सम्मानलाई महत्त्व दिन्छ।
डिजिटल युगमा जिम्मेवार अभिभावकत्वको सुरुवात पनि सायद यहीँबाट हुन्छ, र हुनुपर्छ।
हामीलाई नयाँ डिजिटल संस्कृतिको आवश्यकता छ
हामी बालबालिकालाई सुरक्षित सडक, सुरक्षित विद्यालय र सुरक्षित घर दिन चाहन्छौँ। तर आजको युगमा डिजिटल संसार पनि उनीहरूको जीवनको उत्तिकै महत्वपूर्ण वातावरण बनिसकेको छ। त्यसैले सुरक्षित डिजिटल वातावरण निर्माण गर्नु पनि हाम्रो जिम्मेवारी हो।
हामीले “पोस्ट गर्न मिल्छ” र “पोस्ट गर्नुपर्छ” बीचको फरक बुझ्नुपर्ने समय आएको छ।
सबै सम्झना सार्वजनिक हुनुपर्दैन।
सबै क्षण कन्टेन्ट बन्नुपर्दैन।
सबै अनुभव लाइक र सेयरको विषय बन्नुपर्दैन।
कहिलेकाहीँ कुनै क्षण सुरक्षित राख्ने सबैभन्दा राम्रो ठाउँ सामाजिक सञ्जाल होइन, परिवारका मनहरू हुन्।
अन्तिम प्रश्न
सन्तानप्रतिको माया अभिभावकत्वको सुन्दर पक्ष हो। तर कहिलेकाहीँ माया र प्रदर्शनबीचको दूरी निकै सानो हुन सक्छ।
हामीले सामाजिक सञ्जालमा बच्चासम्बन्धी सामग्री पोस्ट गर्नुअघि एउटा प्रश्न आफैँसँग सोध्नु सान्दर्भिक हुन्छ:
“यो पोस्ट साँच्चै मेरो बच्चाको हितका लागि हो, कि मेरो सामाजिक सञ्जालका लागि?”
किनभने बच्चाले गरेका हरेक गल्ती सार्वजनिक गर्नुपर्ने हुँदैन।
उसले रोएको हरेक भिडियो पोस्ट गर्नुपर्ने हुँदैन।
उसको बाल्यकाललाई फलोअर र लाइकको मुद्रामा साट्नुपर्ने पनि हुँदैन।
सच्चा अभिभावकत्व भनेको सन्तानलाई आफूजस्तै बनाउनु होइन; उनीहरूलाई आफ्नै पहिचानसहित फुल्ने अवसर दिनु हो।
जब हाम्रा सन्तानहरू ठूला भएर सोध्नेछन्,
मेरो बाल्यकाल मेरो थियो कि तपाईंको फेसबुकको? के हामी आफ्ना बच्चाहरूले भविष्यमा गर्न सक्ने ,त्यो प्रश्नको सामना गर्न तयार छौँ?
डा. नबराज मुडवरी शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुन्। हाल अष्ट्रेलियाको विश्वविद्यालय क्षेत्रमा कार्यरत उहाँसँग शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढी अनुभव छ। शिक्षा, समाज र अध्यात्मका विषयमा उहाँ नियमित रूपमा कलम चलाउनुहुन्छ।
