२०२६ को जनगणनामा नेपाली समुदायको सहभागिता किन आवश्यक छ?

२०२६ को जनगणनामा नेपाली समुदायको सहभागिता किन आवश्यक छ?
नेपालआईज
१९ साउन २०८३ ३:१५

मेलबर्न –  कुनै पनि समुदायले समाजमा आफ्नो अपनत्व महसुस गर्न, योगदान दिन वा सफलता हासिल गर्नका लागि सबैभन्दा पहिले त्यो समुदायको उपस्थिति देखिनु र गनिनु आवश्यक हुन्छ। आगामी अस्ट्रेलियाली जनगणना (Census 2026) को मुख्य उद्देश्य पनि यही हो।

आजभन्दा ३० वर्षअघि मलेसियाबाट दुई साना छोरीहरूसहित एकल आमाका रूपमा अस्ट्रेलिया आएकी क्रिस्टिना चिया ले समाजमा आफ्नो पहिचान हुनु, समावेशी बन्नु र उचित प्रतिनिधित्व पाउनुको महत्त्व नजिकबाट महसुस गरेकी छिन्। हाल व्यावसायिक तथा सामुदायिक क्षेत्रकी अग्रणी नेतृत्वकर्ताका रूपमा कार्यरत उनले जनगणनाको व्यावहारिक फाइदा दैनिक जीवनमा देख्दै आएकी छिन्।

जनगणनाको तथ्याङ्कले सही निर्णय लिन मद्दत गर्छ

गुणस्तरीय र भरपर्दो तथ्याङ्कले नै रणनीति, योजना र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउँछ।

क्रिस्टिना चिया आफ्नो अनुभव साट्दै भन्छिन्, “राष्ट्रिय शिक्षा संस्थानमा मुख्य सञ्चालन अधिकृत  को रूपमा काम गर्दा जनगणनाको तथ्याङ्कले मेलबर्नको पश्चिमी र उत्तरी क्षेत्रहरूमा बहुसांस्कृतिक परिवारको जनसङ्ख्या तीव्र रूपमा बढेको देखायो। अनुमानका भरमा नभई यसै प्रमाणका आधारमा हामीले ती क्षेत्रहरूमा नयाँ क्याम्पसहरू स्थापना गर्यौँ, जसले गर्दा विद्यार्थीहरूले आफ्नो घर नजिकै गुणस्तरीय शिक्षा पाए।”

अस्ट्रेलियामा नेपाली लगायत बहुसांस्कृतिक समुदायहरूको जनसङ्ख्या र उपस्थिति कति छ भन्ने कुरा सही जनगणनाले मात्र देखाउँछ। जब समुदायको सही तथ्याङ्क सरकार र संस्थाहरूका अगाडि आउँछ, तब मात्र योजनाकारहरूलाई निम्न क्षेत्रमा लगानी र सहयोग गर्न सजिलो हुन्छ:

  • विद्यालय, बालस्याहार केन्द्र (Childcare) र अस्पताल निर्माण

  • मानसिक स्वास्थ्य र परामर्श सेवा

  • रोजगार तथा तालिम कार्यक्रमहरू

  • भाषा तथा अनुवाद सेवाहरू (Language Services)

सङ्ख्या मात्र होइन, मानिस र तिनका कथा

बहुसांस्कृतिक समुदायहरूले अस्ट्रेलियाको आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा ठूलो योगदान पुर्‍याएका छन्। जनगणनाले त्यही योगदान र इतिहासको अभिलेख राख्छ। यसले भावी पुस्तालाई अस्ट्रेलिया कसरी विश्वकै एक उत्कृष्ट बहुसांस्कृतिक राष्ट्र बन्यो भन्ने कथा भन्नेछ।

सन् २०२१ को जनगणनायता अस्ट्रेलियामा धेरै परिवर्तन भइसकेका छन्। बसाइँसराइको ढाँचा, आवास, शिक्षा, रोजगार र सामुदायिक आवश्यकताहरू फेरिएका छन्। त्यसैले, आफ्नो वृद्धि र उपस्थितिलाई सही रूपमा दर्ता गराउनु हरेक नेपाली र अन्य बहुसांस्कृतिक परिवारको अधिकार र कर्तव्य दुवै हो।

आगामी अगस्ट ११, मङ्गलबार जनगणना फारम भरौँ

जनगणनाको फारम भर्नु भनेको केवल एउटा कागज वा अनलाइन फारम पूरा गर्नु मात्र होइन। यो त हरेक व्यक्ति, परिवार र समुदायले गणना हुने र देखिने अवसर प्राप्त गर्नु हो। जब मानिसहरू देखिन्छन्, उनीहरूले अपनत्व महसुस गर्छन्; जब अपनत्व हुन्छ, उनीहरूले योगदान पुर्‍याउँछन्; र जब सबैको सही गणना हुन्छ, तब मात्र देशको भविष्यको सही योजना बन्छ।

जनगणनाको हुलाक सूचना वा निर्देशन प्राप्त हुनासाथ र यदि तपाईं अगस्ट ११ को रात कहाँ हुनुहुन्छ भन्ने निश्चित छ भने, तुरुन्तै फारम भर्न सकिन्छ।

थप जानकारीका लागि: २०२६ को जनगणनासम्बन्धी विवरण आफ्नो भाषामा हेर्न तथा फारम भर्नका लागि census.abs.gov.au/language मा जानुहोस्।

लेखकको बारेमा

क्रिस्टिना चिया बक्स हिल इन्स्टिच्युट (Box Hill Institute) की नन-एग्जिक्युटिभ डाइरेक्टर, रणनीतिक सल्लाहकार र ‘Leading Beyond the Bamboo Ceiling’ पुस्तककी लेखिका हुन्। उनी चाइनिज एसोसिएसन अफ भिक्टोरियाकी उपाध्यक्ष तथा युफोरिया फाउन्डेसनकी अध्यक्षसमेत हुन्। २५ वर्षभन्दा बढी समयदेखि शिक्षा, रोजगार, जेष्ठ नागरिक स्याहार र सामुदायिक सेवा क्षेत्रमा उनी नेतृत्वदायी भूमिकामा सक्रिय छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर