नेपालको विनाशकारी बाढीप्रति अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजीद्वारा गहिरो दुःख व्यक्त

नेपालको विनाशकारी बाढीप्रति अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजीद्वारा गहिरो दुःख व्यक्त
नेपालआईज
११ भदौ २०८३ ०:३२
क्यानबेरा –  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नेपाल तथा चीनको तिब्बत क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित व्यक्तिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको प्रेस कार्यालयले नेपाल आइजलाई उपलब्ध गराएको वक्तव्यमा अल्बानिजीले भनेका छन्, “नेपाल र चीनको तिब्बतमा आएको भीषण बाढीबाट प्रभावित सबैप्रति हामी गहिरो सहानुभूति व्यक्त गर्दछौँ।”
उनले प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकलाई स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेका छन्।
“प्रभावित क्षेत्रमा केही अस्ट्रेलियाली रहेको जानकारी हामीलाई प्राप्त भएको छ। उनीहरूको अवस्था पुष्टि गर्न अस्ट्रेलियाली अधिकारीहरूले तत्काल काम गरिरहेका छन्,” वक्तव्यमा भनिएको छ, “हामी स्थानीय अधिकारी तथा टुर अपरेटरहरूसँग समन्वय गरिरहेका छौँ।”
अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ३४ जना अस्ट्रेलियालीको अवस्था पुष्टि हुन बाँकी छ। अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) ले उनीहरूको अवस्था पत्ता लगाउन स्थानीय निकाय र पर्यटन व्यवसायीसँग समन्वय गरिरहेको छ। ABC News
प्रधानमन्त्री अल्बानिजीले आवश्यक परेका अस्ट्रेलियालीलाई कन्सुलर सहायता उपलब्ध गराउन सरकार तयार रहेको पनि स्पष्ट पारेका छन्।
आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियालीले डीएफएटीको Consular Emergency Centre मा सम्पर्क गर्न सक्नेछन्:
अस्ट्रेलियाभित्रबाट: 1300 555 135
विदेशबाट: +61 2 6261 3305
प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा रहेका सबैलाई स्थानीय प्रशासनका निर्देशन, आधिकारिक सुरक्षा सूचना तथा यात्रा सुझाव पालना गर्न आग्रह गरेका छन्। उनले आफ्नो आधिकारिक X खातामार्फत पनि वक्तव्य सार्वजनिक गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर