क्यानबेरा,नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकको संख्या बढेर ४१ पुगेको अस्ट्रेलिया सरकारले जनाएको छ।
अस्ट्रेलियाका सहायक विदेशमन्त्री म्याट थिसल्थ्वेटले शनिबार एबीसी न्यूज ब्रेकफास्टसँग कुरा गर्दै रातारात सम्पर्कविहीन अस्ट्रेलियालीको संख्या ४१ पुगेको जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौँमा रहेका अस्ट्रेलियाली विदेश मामिला तथा व्यापार विभाग (DFAT) का कर्मचारीहरूले सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउन नेपाली अधिकारी तथा सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छन्।
सम्पर्कविहीन व्यक्तिका परिवार, आफन्त वा उनीहरूबारे जानकारी भएका व्यक्तिलाई अस्ट्रेलियाको २४ घण्टे कन्सुलर आपत्कालीन केन्द्रको 1300 555 135 नम्बरमा सम्पर्क गरी विवरण दर्ता गर्न आग्रह गरिएको छ।
नेपाली समुदायमा चिन्ता र पीडा
सहायकमन्त्री थिसल्थ्वेटले शुक्रबार नेपाली र तिब्बती समुदायसँग दुईवटा अनलाइन छलफल गरेको बताए। छलफलमा विपद्को पछिल्लो अवस्था, अस्ट्रेलियाले उपलब्ध गराएको सहयोग तथा सरकारी निकायसँग सम्पर्कमा रहने प्रक्रियाबारे जानकारी दिइएको थियो।
उनले शुक्रबार राति सिड्नीको स्ट्राथफिल्डमा नेपाली समुदायले आयोजना गरेको श्रद्धाञ्जली तथा प्रार्थना सभामा पनि सहभागिता जनाएका थिए।
“नेपाली समुदायमा ठूलो पीडा, निराशा र चिन्ता देखिएको छ। अस्ट्रेलियामा रहेका नेपाली तथा तिब्बती समुदायलाई सहयोग गर्न हामी सक्दो प्रयास गरिरहेका छौँ,” उनले भने।
प्रभावित क्षेत्रमा सञ्चार र सडक सम्पर्क अवरुद्ध
सहायकमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रतर्फ जाने सडकहरू अवरुद्ध भएका छन्। करिब १० हजार घर नष्ट भएको र विद्युत् तथा दूरसञ्चार सेवा पनि प्रभावित बनेको जानकारी उनले दिए।
यही कारणले खोज तथा उद्धार कार्य थप कठिन भएको बताउँदै उनले DFAT का अधिकारीहरू सम्भव भएसम्म प्रभावित क्षेत्र नजिक पुग्ने प्रयासमा रहेको उल्लेख गरे। आफ्ना परिवारका सदस्य खोज्न नेपाल पुगेका अस्ट्रेलियालीलाई पनि उपलब्ध स्रोतअनुसार सहयोग भइरहेको उनले बताए।
पाँच मिलियन डलर मानवीय सहायता
अस्ट्रेलिया सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको ५० लाख अस्ट्रेलियन डलर सहयोगमध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रममार्फत उपलब्ध गराइनेछ। उक्त रकम तत्काल आवश्यक खाद्यान्न, पानी तथा आपत्कालीन सामग्री वितरणमा प्रयोग गरिनेछ।
बाँकी रकम अक्सफामलगायत १५ वटा अस्ट्रेलियाली गैरसरकारी संस्थाको सञ्जाल इमर्जेन्सी एक्सन अलायन्समार्फत खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा खर्च गरिने जनाइएको छ।
सहायकमन्त्रीका अनुसार यो सहयोग नेपाल सरकारको प्रारम्भिक मागका आधारमा घोषणा गरिएको हो। नेपालबाट थप सहयोगको अनुरोध आएमा अस्ट्रेलियाले सहायता रकम बढाउन सक्ने उनले संकेत गरे।
उनले सन् २०१५ को विनाशकारी भूकम्पपछि अस्ट्रेलियाले नेपाललाई २० मिलियन डलरभन्दा बढी सहयोग उपलब्ध गराएको स्मरण पनि गरे।
आठ अस्ट्रेलियाली अधिकारी परिचालन
अस्ट्रेलियाले चार जना विपद् प्रतिकार्य विशेषज्ञ र चार जना कन्सुलर अधिकारी गरी आठ जनालाई प्रभावित क्षेत्रतर्फ परिचालन गरेको छ। उनीहरू खोज, उद्धार, संकट व्यवस्थापन तथा कन्सुलर सहायता प्रदान गर्न तालिमप्राप्त अधिकारी हुन्।
बेइजिङस्थित अस्ट्रेलियाली अधिकारीहरूले चीन सरकारसँग पनि सूचना आदानप्रदान तथा समन्वय गरिरहेका छन्। चीनले अहिलेसम्म औपचारिक रूपमा सहयोग मागेको छैन। माग आएमा अस्ट्रेलिया सहयोग गर्न तयार रहेको सहायकमन्त्रीले बताए।
विदेशमन्त्री वोङ र नेपाली समकक्षीबीच कुराकानी
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले शुक्रबार राति नेपालका परराष्ट्रमन्त्रीसँग टेलिफोन वार्ता गरेको पनि सहायकमन्त्रीले जानकारी दिए।
वार्तामा अस्ट्रेलियाका तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुका साथै मानवीय सहयोगबारे जानकारी दिइएको थियो। नेपालबाट थप अनुरोध आएमा आवश्यक सहयोग गर्न अस्ट्रेलिया तयार रहेको सन्देश पनि दिइएको थियो।
आधिकारिक संस्थामार्फत मात्र सहयोग गर्न आग्रह
अस्ट्रेलिया सरकारले नेपालका बाढीपीडितलाई सहयोग गर्न चाहने व्यक्तिलाई आधिकारिक तथा दर्ता भएका संस्थामार्फत मात्र रकम प्रदान गर्न आग्रह गरेको छ।
विपद्का समयमा नक्कली सहयोग अभियान र आर्थिक ठगी हुन सक्ने चेतावनी दिँदै सहायकमन्त्रीले रकम दिनुअघि संस्था आधिकारिक भए–नभएको पुष्टि गर्न अनुरोध गरे। उनले सुरक्षित सहयोगका लागि Emergency Action Alliance को वेबसाइट emergencyaction.org.au प्रयोग गर्न सकिने बताए।