शिक्षा र समाज

हाम्रा छोराछोरीलाई कसले हुर्काइरहेको छ?

हाम्रा छोराछोरीलाई कसले हुर्काइरहेको छ?
डा. नबराज मुडवरी
१९ भदौ २०८३ ११:५६

 

डा. नबराज मुडवरी

नेपालका समाचारहरू पढ्दा, सुन्दा र हेर्दा कहिलेकाहीँ लाग्छ, हामी केवल घटनाहरूको सूची पढिरहेका छैनौँ, बरु आफ्नै समाजको चरित्र पढिरहेका छौँ।

सिमरामा तीन वर्षीया बालिकामाथि भएको बलात्कार र हत्याको समाचार आउँछ। आरोपित व्यक्ति प्रहरी हिरासतमा समेत अपराधबोधविहीन मुद्रामा प्रस्तुत भएको दृश्य सामाजिक सञ्जालमा फैलिन्छ। विनाशकारी महाबाढीले बगाएर ल्याएको शवबाट सुनका गहना निकालिएको खबर आउँछ। उही बाढीले बगाएर ल्याएको ग्यास सिलिन्डर कब्जा गर्न मानिसहरू ज्यानकै जोखिम मोलेर नदीतर्फ दौडिएका दृश्यहरू देखिन्छन्। देश शोकमा डुबिरहेको बेला केही मानिसहरू सार्वजनिक रूपमा उत्सवका दृश्य प्रदर्शन गरिरहेका हुन्छन्। हजारौँ मानिसहरू बेपत्ता आफन्तको खोजीमा भौतारिरहेका बेला सामाजिक सञ्जालमा केही व्यक्तिहरू कृत्रिम, सम्पादित र भ्रामक सामग्री सिर्जना गरेर राजनीतिक प्रचारमा व्यस्त देखिन्छन्। दाइजो कम ल्याएको भन्दै नवविवाहित बुहारी घरभित्रै मारिन्छिन्। धार्मिक आस्थाको नाममा घृणा र दङ्गा फैलाइन्छ। भ्रष्टाचार, अनैतिकता वा छलकपटबाट कमाएको सम्पत्तिलाई समेत सफलताको प्रतीक बनाइन्छ।

यी घटनाहरू पहिलो दृष्टिमा फरक-फरक समाचारजस्ता देखिन सक्छन्। कतै हिंसा छ, कतै लोभ छ, कतै असंवेदनशीलता छ, कतै दुष्प्रचार छ। तर अलिकति गहिरिएर हेर्ने हो भने ती सबै समाचारका टुक्राहरूलाई जोडेर हेर्दा एउटा विरूप तस्बिर देखापर्छ, र त्यसले अन्ततः हामीलाई एउटा साझा प्रश्नतर्फ डोर्‍याउँछ:

हामी वास्तवमा कस्ता नागरिक उत्पादन गरिरहेका छौँ?

अझ महत्त्वपूर्ण प्रश्न,

हाम्रा छोराछोरीलाई वास्तवमा कसले हुर्काइरहेको छ?

परिवारले? विद्यालयले? पाठ्यपुस्तकले?

वा उनीहरूलाई दैनिक रूपमा घेरिरहेको ठूलो सामाजिक वातावरणले?

हामी प्रायः कुनै अपराध वा अमानवीय घटनापछि भन्छौँ, आजका युवाहरू बिग्रिए। तर सायद अब प्रश्नलाई उल्ट्याएर सोध्ने बेला आएको छ:

आजका युवाहरू बिग्रिएका हुन्, कि उनीहरू हुर्किरहेको सामाजिक वातावरण नै क्रमशः बिग्रँदै गएको हो?

पाठ्यपुस्तकभन्दा ठूलो पाठ्यक्रम

शिक्षाशास्त्रमा हामी प्रायः पाठ्यक्रम, शिक्षण पद्धति, पाठ्यपुस्तक सुधार र सिकाइ उपलब्धिबारे चर्चा गर्छौँ। तर एउटा असहज सत्य के हो भने बालबालिकाले विद्यालयमा पढाइने औपचारिक पाठ्यक्रमबाट मात्र सिकिरहेका हुँदैनन्।

क्यानाडेली मनोवैज्ञानिक अल्बर्ट बान्डुराको सोसल लर्निङ थ्योरीअनुसार मानिसहरूले केवल प्रत्यक्ष शिक्षणबाट मात्र होइन, अरूको व्यवहार अवलोकन गरेर पनि सिक्छन्। बालबालिका विशेष गरी आफू वरपरका महत्त्वपूर्ण वयस्कहरूको व्यवहारलाई नक्कल गर्न, त्यसलाई आन्तरिक बनाउन र जीवनको मार्गदर्शक बनाउने प्रवृत्ति राख्छन्।

यस अर्थमा समाज स्वयं एउटा कक्षाकोठा हो।

घर एउटा विद्यालय हो।

र हामी सबै शिक्षक हौँ।

त्यसैले आजको सर्वाधिक महत्त्वपूर्ण शैक्षिक प्रश्न सायद यो होइन कि विद्यालयको पाठ्यपुस्तकमा के लेखिएको छ।

बरु यो हो कि बालबालिकाले आफ्नो वरिपरि के देखिरहेका छन्।

किनभने उनीहरूले पाठ्यपुस्तक मात्र पढिरहेका हुँदैनन्। उनीहरूले बाबुआमा, शिक्षक, राजनीतिज्ञ, पत्रकार र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूको व्यवहार पनि पढिरहेका हुन्छन्। र दुर्भाग्यवश, धेरै अवस्थामा उनीहरूले हाम्रो व्यवहारबाट पाएको पाठ, पाठ्यपुस्तकबाट पाएको पाठभन्दा शक्तिशाली भइरहेको हुन्छ।

संवेदनशीलताको क्षय कि नागरिक चरित्रको संकट?

कुनै शवबाट गहना निकाल्नु केवल चोरी होइन।

त्यो एउटा समाज कति संवेदनशील छ भन्ने परीक्षण पनि हो।

कुनै व्यक्तिको पीडा, मृत्यु वा विपत्तिलाई समेत अवसरका रूपमा हेर्न थाल्नु सामाजिक संवेदनशीलता कमजोर हुँदै गएको संकेत हो।

हालैको विनाशकारी महाबाढी र पहिरोले नेपाललाई गहिरो शोकमा डुबायो। सयौँ मानिसले ज्यान गुमाए। हजारौँ परिवार विस्थापित भए। अझै धेरै परिवार आफ्ना आफन्तको अवस्था थाहा पाउने प्रतीक्षामा छन्।

तर यही समयमा केही फरक दृश्यहरू पनि देखिए।

कतिपय मानिसहरू सार्वजनिक रूपमा रमाइलो र उत्सवका तस्बिरहरू प्रदर्शन गरिरहेका थिए। केही व्यक्तिहरू सामाजिक सञ्जालमा भ्रामक तस्बिर र भिडियोहरू सिर्जना गरेर राजनीतिक प्रचारमा व्यस्त थिए। मानौँ मानवीय पीडाभन्दा आफ्नै राजनीतिक पक्षको प्रचार अधिक महत्त्वपूर्ण थियो।

यसमा कुनै निश्चित समूहको आलोचना गर्नु उद्देश्य होइन। प्रश्न निकै सरल छ।

आफ्नो राष्ट्र सामूहिक पीडामा रहेका बेला, हामी त्यस पीडाप्रति कति संवेदनशील छौँ, र त्यो पीडालाई कति आफ्नो ठान्छौँ?

अझ महत्त्वपूर्ण प्रश्न,

हाम्रा छोराछोरीले यी दृश्यहरूबाट के सिकिरहेका छन्?

जब बालबालिकाले राष्ट्रिय शोकको समयमा पनि उदासीन हुन सकिन्छ भन्ने देख्छन्, विपत्तिको समयमा पनि मिथ्या सूचना फैलाउन सकिन्छ भन्ने देख्छन्, अरूको दुःखलाई व्यक्तिगत वा राजनीतिक अवसरमा बदल्न सकिन्छ भन्ने देख्छन्, उनीहरूले केवल घटना हेर्दैनन्।

उनीहरूले एउटा सामाजिक पाठ सिकिरहेका हुन्छन्। दुर्भाग्यवश, त्यो पाठ करुणा र सहानुभूतिको होइन, वयस्कहरूको असंवेदनशील व्यवहारबाट लेखिएको हुन्छ।

हामी जे गर्छौँ, उनीहरूले त्यही सिक्छन्

हामी छोराछोरीलाई इमानदार बन्न सिकाउँछौँ।

तर यदि उनीहरूले बेइमानीबाट सफल भएका मानिसहरूलाई समाजले सम्मान गरिरहेको देखे भने, उनीहरूले आखिर के सिक्लान्?

हामी संवेदनशील बन्न सिकाउँछौँ।

तर यदि उनीहरूले अरूको पीडाभन्दा व्यक्तिगत स्वार्थलाई नै ठूलो ठानिन्छ भन्ने देखे भने, उनीहरूले आखिर के सिक्लान्?

हामी सत्य बोल्न सिकाउँछौँ।

तर यदि उनीहरूले दैनिक रूपमा झुटो सूचना फैलाउनेहरूलाई लोकप्रिय बन्दै गएको देखे भने, के सिक्लान्?

समस्या यहीँनेर छ।

बालबालिकाले हामीले दिएका उपदेश मात्र होइन, हाम्रो व्यवहारले पाएका सामाजिक पुरस्कार र प्रतिक्रिया पनि नियालिरहेका हुन्छन्। अरूले के गर्‍यो, त्यसलाई समाजले कसरी स्विकार्‍यो, कसरी पुरस्कृत गर्‍यो वा बेवास्ता गर्‍यो भन्ने हेरेर उनीहरू नजानिँदो रूपमा सिकिरहेका हुन्छन्। मनोविज्ञानमा यसलाई भिकारियस लर्निङ भनिन्छ।

त्यसैले हामी शब्दद्वारा छोराछोरीलाई एउटा मूल्य सिकाइरहेका हुन्छौँ, तर व्यवहारद्वारा अर्को मूल्य प्रदर्शन गरिरहेका हुन्छौँ। र बालबालिकाले प्रायः शब्दभन्दा हाम्रा व्यवहारबाट बढी सिकिरहेका हुन्छन्। विडम्बना त के छ भने, हामी शिक्षक बनिसकेका हुन्छौँ, तर आफूले हरेक दिन कस्तो पाठ पढाइरहेका छौँ भन्ने सुइँको पनि पाएका हुँदैनौँ।

कुनै पनि समाजको वास्तविक पाठ्यक्रम पाठ्यपुस्तकमा मात्र लेखिएको हुँदैन। त्यो पाठ शब्दहरूले भन्दा बढी समाजको दैनिक व्यवहारको अदृश्य पाटीमा लेखिएको हुन्छ, जसलाई बालबालिकाले हरेक दिन पढिरहेका हुन्छन्। उनीहरू केवल हाम्रो कुरा होइन, हाम्रो प्राथमिकता, हाम्रो प्रतिक्रिया र हाम्रो चरित्र पनि पढिरहेका हुन्छन्।

बाबुआमा, शिक्षक, नेता र इन्फ्लुएन्सरहरू: वास्तविक शिक्षक को हुन्?

हामी अक्सर विद्यालयलाई बालबालिकाको शिक्षाको केन्द्र मान्छौँ। निःसन्देह विद्यालय महत्त्वपूर्ण छ। तर विद्यालय एक्लो शिक्षक होइन।

जब बाबुआमाले अरूको सफलतामाथि निरन्तर नकारात्मक टिप्पणी गर्छन्, बालबालिकाले सम्मानभन्दा आलोचना सिक्छन्।

जब शिक्षकले नैतिकताको कुरा गर्छन् तर व्यवहारमा त्यसको उदाहरण दिन सक्दैनन्, बालबालिकाले शब्द र व्यवहारबीचको दूरी सिक्छन्।

जब नेताहरूले जिम्मेवारीभन्दा आरोप-प्रत्यारोप गर्छन्, बालबालिकाले संवादभन्दा ध्रुवीकरण सिक्छन्।

जब पत्रकारिताले तथ्यभन्दा उत्तेजना बेच्न थाल्छन, बालबालिकाले सत्यभन्दा सनसनीको मूल्य सिक्छन्।

जब सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूले गम्भीर मुद्दाभन्दा भाइरल सामग्रीलाई प्राथमिकता दिन्छन्, बालबालिकाले योगदानभन्दा दृश्यता महत्त्वपूर्ण हो भन्ने पाठ सिक्छन्।

यसैले प्रश्न केवल विद्यालयको होइन।

प्रश्न सम्पूर्ण समाजको हो।

यहीँनेर हामीले बुझ्नुपर्ने कुरा के हो भने, बालबालिकाको सिकाइ विद्यालयको घण्टीसँग सुरु र अन्त्य हुँदैन। दिनको केही घण्टा उनीहरू विद्यालयमा हुन्छन्, तर चौबीसै घण्टा समाजभित्र बाँचिरहेका हुन्छन्।

जब गलत कुरा सामान्य बन्न थाल्छ

बान्डुराले मोरल डिसइन्गेजमेन्टको अवधारणामार्फत मानिसहरूले कसरी आफ्नै गलत व्यवहारलाई उचित ठान्न थाल्छन् भन्ने व्याख्या गरेका छन्।

जब कुनै समाजमा गलत व्यवहार बारम्बार दोहोरिन्छ र त्यसप्रति सामूहिक प्रतिरोध कमजोर बन्छ, तब मानिसहरूले त्यो व्यवहारलाई नै सामान्य मान्न थाल्छन्।

शवबाट गहना निकाल्ने व्यक्ति आफूलाई चोर ठान्दैन।

दुष्प्रचार गर्ने व्यक्ति आफूलाई झुटो सूचनाको व्यापारी ठान्दैन।

घृणा फैलाउने व्यक्ति आफूलाई घृणा फैलाउने व्यक्ति ठान्दैन।

किनकि समाज नै बिस्तारै त्यस्ता व्यवहारप्रति उदासीन हुँदै गएको हुन्छ।

नैतिक पतन (मोरल डिके) प्रायः अचानक हुँदैन।

यो बिस्तारै सामान्यीकृत हुन्छ।

र सबैभन्दा पहिले त्यसलाई सामान्य ठान्न सिक्नेहरूमा नयाँ पुस्ता पनि पर्छ।

हामी वास्तवमा के सिकाइरहेका छौँ?

सायद नेपालको शिक्षा प्रणालीसम्बन्धी सबैभन्दा ठूलो प्रश्न पाठ्यपुस्तकमा के छ भन्ने होइन।

प्रश्न यो हो कि बालबालिकाले आफ्नो वास्तविक जीवनमा के देखिरहेका छन्।

के उनीहरूले समानुभूति (एम्पाथी) देखिरहेका छन्?

के उनीहरूले सत्यनिष्ठा देखिरहेका छन्?

के उनीहरूले जिम्मेवारी देखिरहेका छन्?

के उनीहरूले नागरिक उत्तरदायित्व देखिरहेका छन्?

वा उनीहरूले स्वार्थ, अवसरवाद, उदासीनता, दुष्प्रचार र असहिष्णुता देखिरहेका छन्?

किनभने अन्ततः बालबालिकाले हामीले बनाएको औपचारिक पाठ्यक्रमभन्दा हामीले बाँचेको जीवनबाट बढी सिकिरहेका हुन्छन्।

अन्तिम प्रश्न

आज नेपालको सामुन्ने रहेको प्रश्न केही युवाहरू बिग्रिए भन्ने मात्र होइन।

प्रश्न हामी आफैँ कस्तो समाज निर्माण गरिरहेका छौँ भन्ने हो।

किनकि कुनै पनि समाजले आफूले चाहेको नागरिक उत्पादन गर्दैन।

उसले आफूले अभ्यास गरेको संस्कृति अनुसारका नागरिक उत्पादन गर्छ।

यदि हामी दयालु नागरिक चाहन्छौँ भने हामी स्वयं दयालु हुनुपर्छ।

यदि हामी जिम्मेवार नागरिक चाहन्छौँ भने हामी स्वयं जिम्मेवार हुनुपर्छ।

यदि हामी सत्यनिष्ठ नागरिक चाहन्छौँ भने हामी स्वयं सत्यनिष्ठ हुनुपर्छ।

त्यसैले आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्न युवा किन बिग्रिँदैछन् भन्ने होइन।

प्रश्न त यो हो कि उनीहरू हामीबाट के सिकिरहेका छन्?

र सायद त्यसको उत्तर खोज्न हामीले पाठ्यपुस्तक होइन, पहिले ऐनामा आफूलाई हेर्नुपर्नेछ।

किनभने भोलिको नेपाल आजका बालबालिकाले पढिरहेको किताबमा मात्र छैन।

त्यो उनीहरूले आज हामीमा पढिरहेको चरित्रभित्र पनि लुकेको छ।

………………

सूचना:

आजका बालबालिका भोलिको समाज हुन्। त्यसैले उनीहरूको हुर्काइ केवल पारिवारिक विषय होइन, सामाजिक जिम्मेवारी पनि हो।
यही विषयलाई केन्द्रमा राखेर असल अभिभावकत्व र सकारात्मक बाल हुर्काइबारे मेरो नयाँ लेख श्रृङ्खला नेपालआइजमा आगामी चार शनिबार क्रमशः प्रकाशित हुँदैछ। उपयुक्त लागेमा पढ्न र साझा गर्न नबिर्सनुहोला।

……….

डा. नबराज मुडवरी विकास अध्ययनमा एमफिल शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुन्। हाल अष्ट्रेलियाको विश्वविद्यालय क्षेत्रमा कार्यरत उहाँसँग शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढीको अनुभव छ। उहाँ शिक्षा, समाज अध्यात्मका विषयमा नियमित रूपमा कलम चलाउनुहुन्छ।

 

2 thoughts on “हाम्रा छोराछोरीलाई कसले हुर्काइरहेको छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर