सिड्नी । सत्तारुढ लिवरल पार्टीले आगामी महिना अष्ट्रेलियामा हुने संघीय निर्वाचनमा म्याकार्थर क्षेत्रबाट नेपाली मूलका अष्ट्रेलियन नागरिक विनोदलाई उम्मेदवार बनाएको विज्ञप्तीमा उल्लेख छ ।
स्थानीय नेतृत्व प्रशिक्षक तथा बहुसांस्कृतिक समुदायका नेता विनोदले सत्तारुढ दल लिवरलबाट म्याकार्थरका लागि टिकट पाएका हुन् ।
होटल व्यवसायीबाट प्रशिक्षण उद्यमी बनेका विनोद विगत ६ वर्षदेखि आफ्नी श्रीमति जिप्सौना तथा छोरा गिलोससंगै मिन्टोमा बस्दै आएका छन् ।
व्यवसायमा सफल हुन गर्नुपर्ने कुरा बुझेका विनोदले कोभिडको प्रभावबाट माथि उठ्दै गरेको स्थानीय व्यसायलाई सहयोग गर्न इच्छुक रहेका छन् ।
‘म्याकार्थर रोमाञ्चक भविष्य भएको तथा विकास हुदै गरेको क्षेत्र हो तथा हामीले सामुदायलाई चाहिने पूर्वाधार, सुविधा र सेवाहरु प्रदान गर्न सरकारमा बलियो आवाज उठाउन सक्ने स्थानीय सांसद चाहिन्छ । हामी हाम्रो स्थानीय उत्पादन र व्यावसायिक आधारले कोभिडपछिको तिव्र आर्थिक विकासको केन्द्र बन्न तयार छौ तथा अदभुत स्थानीय अवसरहरु प्रदान गर्न सक्षम छौ,’ विनोदले भने ।
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको नीति संस्थानको सदस्यका रुपमा नियुक्त भएका विनोदले आफ्नो जन्मस्थान नेपालको चितवनमा पहिलो स्थानीय रग्बी टिम सुरु गर्ने कामसहित सामुदायिक सद्भाव र बहुसांस्कृतिक सम्बन्धलाई समर्थन र प्रवद्र्धन गर्न कडा मेहनत गरेका छन् ।
‘यस समुदायका धेरै सदस्यझै म पनि अन्य देशमा जन्मेको हु र आफ्नो र आफ्नो परिवारको लागि राम्रो जीवन निर्माण गर्ने अनुभवलाई राम्ररी बुझेको छु । यदि निर्वाचित भएमा म मोरिसन सरकारमा यस विविधतापूर्ण समुदाय र यसका आवश्यकताहरुको प्रतिनिधित्व गर्न सक्षम हुनेछु । र हाम्रा परिवारहरुलाई आवश्यक पर्ने सेवा र हाम्रा बालबालिकाका लागि रोजगारीका अवसरहरु प्रदान गर्न सहयोग पुर्याउने आर्थिक सुधारका लागि लड्नेछु’ उनले थपे ।